Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

एउटा खुट्टा गुम्यो तर हिम्मत गुमेन

एउटा खुट्टा गुम्यो तर हिम्मत गुमेन

सोमबार, असार २९ २०८३
सोमबार, असार २९ २०८३
  • काठमाडौं । जीवन कहिल्यै एकनास रहँदैन। कहिलेकाहीँ एउटा दिनले मानिसको पूरा जीवनको दिशा बदलिदिन्छ। काभ्रेपलाञ्चोकका ४७ वर्षीय पुष्कर अधिकारीको जीवनमा पनि त्यस्तै एउटा दिन आयो, जसले उनको एउटा खुट्टा मात्र खोसेन, जीवनलाई फेरि शून्यबाट सुरु गर्न बाध्य बनायो।

    images

    सानैदेखि दुःख गरेर खानुपर्छ भन्ने संस्कारमा हुर्किएका पुष्करले लेकको गाउँमा बाल्यकाल बिताए। पढाइसँगै खेतीपाती, भारी बोक्ने र परिवारको काममा सघाउने उनको दैनिकी थियो। मेहनतकै बलमा उनले स्नातकसम्मको अध्ययन पूरा गरे र २१ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरे। झण्डै १८ वर्ष सरकारी जागिर गरे पनि उनको मन त्यहाँ कहिल्यै अडिएन। प्रशासनभित्रको असन्तुष्टि र आन्तरिक द्वन्द्वले उनलाई आफ्नै गाउँ फर्कायो।

    त्यसपछि उनले सानो होटल सञ्चालन गरे, किराना पसल खोले र टमाटर खेतीसहित कृषि कर्ममा जुटे। आफ्नै पसिनाले जोडेको ट्र्याक्टर, आफ्नै खेत र आफ्नै सपना। जीवन बिस्तारै लयमा फर्किँदै थियो।

    तर, जेठ २८ गतेको एउटा बिहानले सबै बदलिदियो।

    खेत जोत्न ट्र्याक्टर चलाइरहेका बेला कान्लाबाट ट्र्याक्टर पल्टियो। क्षणभरमै उनको एउटा खुट्टा ट्र्याक्टरमुनि पर्‍यो। अस्पताल पुग्दा चिकित्सकसँग अर्को विकल्प थिएन। उनको एउटा खुट्टा काट्नुपर्‍यो।

    'होस खुलेपछि आफ्नो खुट्टा नभएको देख्दा आँखा रसाए,' उनी सम्झिन्छन्। त्यो क्षण उनका लागि पीडाको सबैभन्दा ठूलो परीक्षा थियो। तर, त्यही पीडाले उनलाई हार मान्न भने दिएन।

    उनको साथमा परिवार थियो, आफन्त थिए, साथीहरू थिए। अस्पतालदेखि उपचारसम्म धेरैले साथ दिए। उनी भन्छन्, 'बाध्यता आएपछि मानिस आफैँलाई सम्हाल्न सिक्दोरहेछ।'

    कृत्रिम खुट्टा लगाएपछि उनी फेरि घर फर्किए। होटल चलाउने अवस्था थिएन। लामो समय उभिन सकिँदैनथ्यो। तर उनी फेरि खाली बस्न चाहँदैनथे। गाउँमै एउटा सानो किराना पसल खोले। त्यो पसल उनको आम्दानीको मुख्य स्रोतभन्दा बढी मनलाई व्यस्त राख्ने सहारा बन्यो।

    'खाली दिमाग सैतानको डेरा हो,' उनी मुस्कुराउँदै भन्छन्। 'डाक्टरले पनि डिप्रेसनबाट बच्न आफूलाई व्यस्त राख्नुपर्छ भन्नुभएको थियो।'

    आज पनि बिहान पसल खोल्नु, ग्राहकसँग गफ गर्नु र सामान्य दैनिकी चलाउनु नै उनको दिनचर्या हो। उनले दुर्घटनाले शरीर कमजोर बनाउन सक्ला  तर इच्छाशक्ति कमजोर बनाउन सक्दैन भन्ने प्रमाण दिएका छन्।

    उनीजस्तै दुर्घटनापछि अपाङ्गता भएका व्यक्तिहरूलाई उनको एउटा मात्र सन्देश छ । 'आफूलाई सकेसम्म व्यस्त राख्नुस्। काम गर्न सक्नुहुन्छ भने काम गर्नुस्, नसके आफ्नो क्षमताअनुसार केही न केही गरिरहनुस्।'

    तर पुष्करको पीडा व्यक्तिगत संघर्षमा मात्रै सीमित छैन। उनी राज्यतर्फ पनि प्रश्न गर्छन्। अपाङ्गता अधिकारसम्बन्धी कानुन कागजमा राम्रो देखिए पनि कार्यान्वयन कमजोर रहेको उनको अनुभव छ। 'कानुनमा लेखिएका अधिकार व्यवहारमा लागू हुन सकेका छैनन्,' उनी भन्छन्। 'राज्यले आफ्नो दायित्व कागजमा होइन, नागरिकको जीवनमा देखाउनुपर्छ।'

    एउटा खुट्टा गुमेपछि धेरैको यात्रा रोकिएको हुन सक्छ। तर पुष्कर अधिकारीको यात्रा भने त्यहीँबाट फेरि सुरु भयो। उनको कथा एउटा दुर्घटनाको कथा होइन, जीवनले बारम्बार लडाए पनि फेरि उठ्ने साहसको कथा हो। कहिलेकाहीँ मानिसलाई अघि बढाउने शक्ति दुईवटा खुट्टामा होइन, हार नमान्ने मनमा लुकेको हुन्छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij