काठमाडौं । सोलुखुम्बुको एउटा गाउँमा हुर्किएकी कल्पना( नाम परिवर्तन )को बाल्यकाल अरू बालबालिकाजस्तो निश्चिन्त थिएन। पाँच दाजुभाइ–दिदीबहिनीमध्ये जेठी भएकाले उनले सानैदेखि घरको जिम्मेवारी बोक्नुपर्यो। भाइबहिनीको हेरचाह, घरधन्दा र अभावबीच उनको बाल्यकाल बित्यो।
राम्रोसँग पढाउने उद्देश्यले बुबा र हजुरबुवाले उनलाई काठमाडौं ल्याए। तर यहाँ पनि उनको जीवन सहज भएन। आफन्तको घरमा बसेर बिहान र बेलुका सरसफाइ गर्ने, खाना पकाउने र त्यसपछि विद्यालय जाने उनको दैनिकी बन्यो। जिम्मेवारीसँगै पढाइ अघि बढिरहे पनि मनभित्र कतै अपनत्वको खोजी भने बाँकी नै थियो।
यसरि विद्यालय आउनेजाने क्रममा सार्वजनिक बसमा काम गर्ने एक युवकसँग उनको चिनजान भयो। सुरुमा विद्यार्थी भएकाले भाडा नलिने बहानाबाट सुरु भएको संवाद विस्तारै नियमित कुराकानीमा बदलियो। युवकले आफू पनि आमाविहीन भएको भन्दै उनीसँग भावनात्मक निकटता बढायो। विवाह गर्ने, कहिल्यै नछोड्ने र सँगै भविष्य बनाउने वाचा गर्यो। सानैदेखि माया खोजिरहेकी कल्पनाले ती शब्दहरूमा विश्वास गरिन्।
एक दिन साथीको जन्मदिनमा जान्छु भनेर घरबाट निस्किएकी उनी युवकलाई भेट्न पुगिन्। युवकले आफ्नो कोठा देखाउने भन्दै उनलाई त्यहाँ लग्यो। त्यही दिन उनीहरूबीच शारीरिक सम्बन्ध भयो। कल्पनाले त्यो सम्बन्धलाई भविष्यको वैवाहिक जीवनको सुरुवातका रूपमा बुझेकी थिइन्।
समय बित्दै जाँदा उनको शरीरमा परिवर्तन आउन थाल्यो। वाकवाकी लाग्ने, असहज महसुस हुने र पेट बढ्दै जानेजस्ता परिवर्तन देखिए पनि उनले त्यसलाई गर्भावस्थासँग जोडेर सोचिनन्। विद्यालयमा साथीहरूले पेट ठूलो भएको भन्दै जिस्क्याउँथे। उनी आफैँ पनि त्यसलाई सामान्य परिवर्तन ठान्थिन्।
कक्षा १० को शैक्षिक भ्रमणका क्रममा भने एउटा प्रश्नले उनको जीवनको सबैभन्दा ठूलो सत्य उजागर गरिदियो। उनलाई पढाउने शिक्षिकाले पेट अस्वाभाविक रूपमा ठूलो देखिएको भन्दै स्वास्थ्य परीक्षण गर्न सुझाव दिइन्। परीक्षणपछि थाहा भयो, उनी आठ महिनाकी गर्भवती रहिछिन्।
यो खबरले उनको संसार नै बदलियो। उनले सबैभन्दा पहिले आफूलाई विवाहको वाचा गर्ने युवकलाई खोजिन्। उनी बस्ने ठाउँ पुगिन्, चिनेजानेकाहरूसँग सोधिन्। तर उनी धेरैअघि नै त्यहाँबाट गइसकेको जानकारी मात्र पाइन्। त्यसपछि उनीसँग बाँकी रह्यो त केवल आफ्नो गर्भमा हुर्किरहेको बच्चा, भविष्यप्रतिको अन्योल र समाजको डर।
परिवारलाई कसरी भन्ने? गाउँलेले के भन्लान्? पढाइको भविष्य के होला? यी प्रश्नहरूले उनलाई निरन्तर पछ्याइरहे। गर्भवती भएको कुरा थाहा पाएपछि उनलाई सहयोग गर्न चाहने शिक्षिकाले बच्चालाई आफैंले हुर्काउने इच्छा व्यक्त गरेकी थिइन्। तर कानुनी प्रक्रिया नमिलेपछि उनलाई 'भोइस अफ फेटस' मा आश्रयको व्यवस्था गरियो।
कल्पनाका लागि त्यो आश्रय बस्ने ठाउँ मात्र बनेन, फेरि जीवन सुरु गर्ने आधार पनि बन्यो। उनी भन्छिन्, आफ्ना आफन्तले गर्न नसकेको साथ त्यहाँका मानिसहरूले दिए। तर मनको एउटा पीडा भने अझै बाँकी छ । यदि परिवारले साथ दिएको भए आफ्नी छोरीलाई आफूसँगै राखेर हुर्काउन सक्थेँ भन्ने।
आज पनि गाउँ फर्किने कुरा गर्दा उनी हच्किन्छिन्। गर्भवती भएको कुरा गाउँमा थाहा नभएको र समाजले गर्ने टिप्पणीको डर अझै उनको मनमा जीवित छ। यही डरले नेपालका धेरै किशोरीहरू आफ्ना अनुभव लुकाउन बाध्य हुन्छन्। कतिपयले पढाइ बीचमै छोड्छन्, कतिपय परिवारबाट टाढिन्छन् र कतिपयले आफ्नै अस्तित्वमाथि प्रश्न गर्न थाल्छन्।
तर कल्पनाले आफ्नो बच्चालाई जन्म दिने निर्णय गरिन्। उनी भन्छिन्, कठिन परिस्थितिमा पनि बच्चालाई संसारमा ल्याउन सकेकोमा आफूलाई गर्व लाग्छ। अहिले उनी आफ्नो विगतमा अड्किन चाहन्नन्। बरु पार्लरसम्बन्धी सीप सिकेर आफ्नै खुट्टामा उभिने र छोरीको भविष्य सुरक्षित बनाउने सपना देखिरहेकी छन्।
आफ्नो अनुभवबाट उनले अर्को सन्देश पनि दिन्छिन्। बुबाआमाको माया नपाएको खालीपन पूरा गर्न गलत ठाउँमा भरोसा खोज्नु हुँदैन। सानो उमेरमा गल्ती हुन सक्छ, तर त्यसले जीवनको अन्त्य भने गर्दैन।
कल्पनाको कथा उनको मात्र कथा होइन। यो मायाको नाममा विश्वास गरेर पछि एक्लै छोडिएका, अनपेक्षित गर्भधारणको जिम्मेवारी एक्लै बोक्न बाध्य भएका र समाजको कठोर दृष्टिको सामना गरिरहेका धेरै किशोरी तथा युवतीहरूको प्रतिनिधि कथा हो। पात्रको नाम फरक हुन सक्छ, ठाउँ फरक हुन सक्छ, तर पीडा र संघर्षका स्वर धेरै हदसम्म उस्तै छन् ।
कल्पनाको जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ । प्रेमको नाममा सम्बन्ध बनाउने तर जिम्मेवारीबाट भाग्ने प्रवृत्तिको सबैभन्दा ठूलो मूल्य किन महिलाले मात्रै चुकाउनुपर्छ? किन अनपेक्षित गर्भधारण पछि समाजको औँला पहिले किशोरीतर्फ उठ्छ? र किन यस्ता घटनामा दोषभन्दा बढी साथ र अवसर दिनुपर्ने कुरा अझै कमजोर छ?
उनको कथा एउटी किशोरीको कथा मात्र होइन। यो विश्वास टुटेपछि पनि बाँच्ने निर्णय गरेका धेरै किशोरीहरूको कथा हो। उनीहरूको जीवनलाई एउटा घटनाले मात्रै परिभाषित गर्न सकिँदैन। सही साथ, सुरक्षित वातावरण र अवसर पाए उनीहरू पनि आफ्ना सपना फेरि बुन्न सक्छन्। कहिलेकाहीँ दोस्रो अवसर नै जीवनको सबैभन्दा ठूलो आशा बन्न सक्छ।


