Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘संस्कृति जोगियो भने मात्रै थिमि बाँच्छ’- गणेशराम लाछी

‘संस्कृति जोगियो भने मात्रै थिमि बाँच्छ’- गणेशराम लाछी

बुधबार, असार १७ २०८३
बुधबार, असार १७ २०८३
  • भक्तपुर,थिमि। गणेशराम लाछीलाई भेट्दा लाग्छ—ठिमीको इतिहास कुनै पुस्तकमा मात्रै छैन, केही मानिसहरूको स्मृतिमा पनि बाँचेको छ। ७७ वर्षको उमेरमा पनि उनी पुराना लिपि, जात्रा, माटोका भाँडा र हराउँदै गएका संस्कृतिका कथा सुनाइरहेका हुन्छन्। आफ्नै घरलाई संग्रहालय बनाएका लाछी अहिले पनि पुराना काठका झ्याल, माटोका भाँडा, लोकबाजा र सांस्कृतिक सामग्री जोगाउन व्यस्त देखिन्छन्। विगत पाँच दशकदेखी उनी थिमीको कला-संस्कृति संरक्षण, प्रचार र प्रवर्धनमा लागेका छन्।

    images

    मध्यपुर थिमीको साँघुरो गल्ली, पुराना घर र जात्राको चर्चा सुरु हुँदा उनी एकछिन रोकिन्छन् अनि भन्छन्, ‘ठिमीको इतिहास अझै पूरै पढिसकिएको छैन।’

    उनका अनुसार ‘थिमी’ नाम कसरी रह्यो भन्ने विषयमै स्पष्ट अध्ययन हुन सकेको छैन। कसैले एउटा कुरा भन्छ, अर्कोले अर्कै।

    प्राचीन समयमा काठमाडौँ उपत्यकाका तीन मल्ल राज्यहरू (काठमाडौँ, पाटन र भक्तपुर) बीच बारम्बार युद्ध भइरहन्थ्यो। त्यसबेला भक्तपुरको पश्चिमी सिमानामा अवस्थित यस क्षेत्रका बासिन्दाहरूले भक्तपुर राज्यको रक्षाका लागि शत्रु सेनासँग असाधारण बहादुरी र वफादारीका साथ लडेका थिए। थिमिवासीहरूको यही अद्वितीय साहस र बलियो सहयोगबाट अत्यन्तै प्रभावित भएर भक्तपुरका मल्ल राजाले उनीहरूलाई नेपाल भाषा (नेवारी) मा ‘छिमी’ को उपाधि दिएका थिए, जसको शाब्दिक अर्थ ‘सक्षम, वीर वा योग्य मानिस’ (Capable People) भन्ने हुन्छ। कालान्तरमा यही गौरवशाली ‘छिमी’ शब्द जनजिब्रोमा झुण्डिँदै जाँदा अपभ्रंश भएर ‘थिमी’ वा ‘ठिमी’ का रूपमा रूपान्तरित हुन पुग्यो र यो नै यस सहरको नामकरणको सबैभन्दा लोकप्रीय र सर्वमान्य आधार बन्न पुग्यो।

    भौगोलिक अवस्थितिको आधारमा यसलाई ‘मध्यपुर’ भनी चिनिने प्रचलन पनि उत्तिकै बलियो र आधिकारिक छ। काठमाडौँ उपत्यकाका तीन प्रमुख सहरहरू काठमाडौँ, पाटन र भक्तपुरको ठीक बीच भागमा अवस्थित भएकाले यस प्राचीन सहरलाई ‘मध्यपुर’ भनिएको अर्को मान्यता छ।

    लाछीले ठिमीलाई आँखैअगाडि फेरिएको देखेका छन्। उनी सानो हुँदा काठमाडौं पुग्न पैदल हिँड्नुपर्थ्यो। सडक थिएन, गाडी थिएन, स्कुल पनि थोरै थिए। पढ्न भक्तपुर वा काठमाडौं जानुपर्थ्यो। अहिले भने ठिमी शिक्षा र संस्कृतिको केन्द्रजस्तै बनेको छ। शिक्षा विभागदेखि धेरै सरकारी कार्यालय यहीँ छन्।

    तर कुनै ठाउँ सुगम हुँदैमा इतिहास आफैं जोगिँदैन। ‘सत्य इतिहासको खोजी गर्नुपर्छ, अध्ययन गर्नुपर्छ,’ उनी भन्छन्।

    थिमिको इतिहासबारे बोल्दा उनी एउटा पुरानो शिलापत्र सम्झिन्छन्। लिच्छविकालीन भनिएको त्यो शिलापत्र अहिले पनि छ, तर अक्षर मेटिइसकेका छन्। कसैले पूर्ण रूपमा पढ्न सकेको छैन। ‘पहिलेको लिपि अहिलेको जस्तो होइन,’ उनी भन्छन्, ‘एउटा–एउटा अक्षर छुट्टाछुट्टै हुन्छ। त्यसलाई जोडेर मात्रै शब्द बनाउन सकिन्छ।’

    उनले इतिहासविद् श्यामसुन्दर राजवंशीलाई समेत शिलापत्रको फोटो देखाएका रहेछन्। तर त्यसमा वास्तवमा के लेखिएको छ भन्ने कुरा अझै रहस्यकै विषय छ।

    ठिमी भनेको जात्रा र संस्कृतिको सहर पनि हो। बिस्केट जात्रा, सिन्दूर जात्रा, पुलुकिसी, गाईजात्रा, जिब्रो छेड्ने जात्रा—हरेकको आफ्नै कथा छ। लाछीका अनुसार उपत्यकाभर जिब्रो छेड्ने जात्रा हुने भए पनि ठिमी र बोडेको जात्रा विशेष मानिन्छ।

    उनी पुरानो किंवदन्ती सुनाउँछन्—कुनै समय गाउँमा दुष्ट शक्तिले दुःख दिन थालेपछि तान्त्रिक विधिबाट त्यसलाई नियन्त्रण गर्न जिब्रो छेड्ने चलन सुरु गरिएको भन्ने विश्वास छ।

    बिस्केट जात्राबारे पनि उनी स्पष्ट इतिहासभन्दा लोकविश्वास बलियो रहेको बताउँछन्। ‘राजा–महाराजाले जनतालाई मनोरञ्जन र विश्राम दिन पनि यस्ता जात्रा चलाएका होलान्,’ उनको अनुमान छ।

    थिमीका केही संस्कतिमा फेरबदल आएको महसुस गर्छन् लाछि। पहिले रथ तान्दा नखाईकन काम गर्नुपर्ने चलन थियो। अहिले त्यो सम्भव छैन। पहिले रोकिन थालेका जात्रा अहिले फेरि ब्युँतिन थालेका छन्, तर पुरानै शैलीमा होइन। नयाँ पुस्ताले पनि अपनाउन सक्नेगरी केही परिवर्तन हुनुपर्ने कुरामा उनको जोड छ।

    ठिमीको ठूलो पहिचान हो—माटोका भाँडा। प्रजापति समुदायले पुस्तौँदेखि यही पेशाबाट जीवन चलायो। तर अहिले त्यो पेशा संकटमा छ।

    लाछी आफैं पनि प्रजापति परिवारका हुन्। उनका बुबा–बाजे माटोका भाँडा बेचेरै परिवार पाल्थे। अहिले भने नयाँ पुस्ता पढेर डाक्टर, इन्जिनियर, प्रोफेसर बनेको छ। माटोमा हात हालेर भाँडा बनाउन चाहने कम छन्। ‘माटोको भाँडा बनाउन श्रम चाहिन्छ, बजार छैन, प्लास्टिक सस्तो र टिकाउ छ,’ उनी भन्छन्।

    तर उनी माटोका भाँडाको महत्व अझै ठूलो रहेको बताउँछन्। ‘स्वास्थ्यका हिसाबले माटोको भाँडा राम्रो हो,’ उनी जोड दिन्छन्, ‘तर हामीले त्यसको महत्व बुझाउन सकेनौँ।’

    सायद यही कारण उनले आफ्नै घरलाई संग्रहालय बनाएका छन्। लाछिलाई पुराना सामानमा खुब लगाव छ। त्यहाँ तीन सय वर्ष पुराना माटोका भाँडा, लोकबाजा, मुकुण्डो, पुराना काठका सामग्री र सांस्कृतिक वस्तुहरू छन्।

    उनी जहाँ पुरानो वस्तु देख्छन्, सम्भव भएसम्म किनेर ल्याउँछन्। ‘अरूले फाल्ने चीजमा पनि म इतिहास देख्छु,’ उनी हाँस्दै भन्छन्।

    उनको संग्रहालयमा चार लाइनको सानो माटोको भाँडादेखि पाँच फिट अग्लासम्मका भाँडा छन्। पुराना सन्दुकदेखि लोकबाजासम्म सबै राखिएको छ।

    पर्यटकहरू आउँदा उनीहरूलाई परम्परागत शैलीमा स्वागत गरिन्छ। सुकुलमा बसेर तेलको बत्तीको उज्यालोमा खाना खुवाइन्छ। पुरानो जीवनशैली देखाइन्छ।

    ‘विदेशीहरू छक्क पर्छन्,' उनी भन्छन्, ‘नेपालमा यस्तो पनि रहेछ भनेर।’

    ‘तर यस्ता कुरामा नयाँ पुस्ताको चाँसो नै देखिँदैन,’ उनी दुखेसो पोख्छन्, ‘पढाइ, जागिर, विदेश—सबैको दौड छ ।’ उनका आफ्नै छोरा अमेरिकामा छन्। तर उनी खुशी छन्—छोराले त्यहाँ पनि नेपाली संस्कृति जोगाउने काम गरिरहेको छ।

    लाछीले अहिलेसम्म १८ वटा पुस्तक प्रकाशित गरिसकेका छन्। थप पुस्तक आउने तयारीमा छन्। पुरस्कार र सम्मान पनि पाएका छन्। तर उनी भन्छन्, ‘म पैसा कमाउनभन्दा संस्कृति जोगाउन चाहन्छु। एकदिन सबैले जानैपर्छ। जानु अघि समाजले सम्झिने केही काम गर्न पाए, त्यही नै असली कमाइ हो।’

    लाछीसँगको कुराकानी हेर्नुहोस्ः

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij