संगठनको पसिनाबाट उठेको जनविश्वास
कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो महाधिवेशनअन्तर्गत खुला प्रतिस्पर्धामा विजय जैरूले उत्कृष्ट मत प्राप्त गरेका छन्। प्रारम्भिक निर्वाचनमा देशकै सबैभन्दा बढी मत ल्याएर चर्चामा आएका जैरूले महाधिवेशनमा पनि उल्लेखनीय मत प्राप्त गर्दै आफ्नो सांगठनिक प्रभाव कायम रहेको संकेत दिएका छन्।
महाधिवेशनमा सांसद भइसकेका तथा बन्द सूचीमा रहेका केही नेताभन्दा बढी मत प्राप्त गरेका जैरू पार्टी स्थापनाकालदेखि नै संगठन विस्तारमा सक्रिय नेताका रूपमा परिचित छन्।
उनी लामो समयदेखि पार्टीको संगठन निर्माण र कार्यकर्ता परिचालनमा सक्रिय रहँदै आएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनअघि जैरूलाई संसद् पुग्ने सम्भावना भएका नेतामध्ये एकका रूपमा हेरिएको भए पनि अन्तिम परिणामअनुसार उनी संसद् प्रवेश गर्न सकेनन्।
जैरूले संगठनभित्र उल्लेखनीय समर्थन प्राप्त गरे पनि संसदीय प्रतिनिधित्वमा भने स्थान बनाउन नसकेको विषयले पार्टीभित्र नेतृत्व छनोट बन्द सूची र आन्तरिक प्राथमिकताबारे चर्चा सुरु भएको छ।
राजनीतिक वृत्तमा संगठनभित्रको लोकप्रियता र संसदीय प्रतिनिधित्वबीचको सम्बन्धबारे पनि बहस भइरहेको छ। जैरू भने हाल पनि पार्टी संगठन र कार्यकर्तामाझ सक्रिय रहेका छन्।


