Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

हिजो कमैयाको सास्ती, आज गाउँमै कृषिमन्त्री

हिजो कमैयाको सास्ती, आज गाउँमै कृषिमन्त्री

मंगलबार, असार १६ २०८३
मंगलबार, असार १६ २०८३
  • कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा, विशाल घाँसे मैदान र जंगलको बीचमा छ  जोनापुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा पर्ने यो गाउँ बाहिरबाट हेर्दा शान्त र सुन्दर देखिन्छ। तर गाउँभित्र पस्दै जाँदा यहाँको वास्तविकता फरक भेटिन्छ। यहाँका मानिससँग संघर्षका थुप्रै कथा छन्— कमैया प्रथाको पीडा, भूमिहीन जीवन, जंगलको त्रास र अभावसँगको लामो लडाइँ।

    images
    8bbabaab-1ea3-4d89-96b0-8c26edacdacc.jpg
    आकाशको आँखाबाट देखिएको प्रकृतिको अनुपम दृश्य।

     

    जोनापुर र सँगै जोडिएको पिपलाडी थारु समुदायको पुरानो बस्ती मानिन्छ। यहाँका धेरै परिवार कुनै समय कमैया थिए। अरूको खेतबारीमा काम गरेर, हलो जोतेर र श्रम बेचेर जीवन चलाउनुपर्थ्यो। कमैया प्रथा अन्त्य भयो, समय बदलियो, तर धेरैको जीवन धेरै बदलिन सकेन। अहिले पनि गाउँका धेरै परिवारसँग लालपुर्जा छैन। घर छ, तर जमिन आफ्नै होइन। त्यसैले धेरै स्थानीय अझै आफूलाई ‘सुकुम्बासी जस्तै’ अवस्थामै रहेको बताउँछन्।

    04faa153-7b4b-4bc8-8518-b090a229799e.jpg
    आकाशको आँखाबाट देखिएको प्रकृतिको अनुपम दृश्य।

    गाउँ निकुञ्जसँग जोडिएको छ। जंगल नजिक भएकाले दैनिकी पनि जंगलसँगै गाँसिएको छ। खाना पकाउन दाउरा चाहिन्छ, तर वन क्षेत्रमा सहज पहुँच छैन। कतिपय स्थानीय चोरीछिपी दाउरा ल्याउन बाध्य छन्। भन्छन्— ‘चोर्न मन भएर होइन, बाध्य भएर ल्याउनुपरेको हो।‘

    13f6caa7-4d99-44a9-a900-8065400161d8.jpg
    गाउँ बदल्ने सपना कुराकानीबाटै सुरु हुन्छ।

    जंगली जनावरको समस्या पनि उत्तिकै छ। बँदेल, नीलगाई, हात्ती लगायतका जनावर राति खेतबारी पस्छन्। एकै रातमा वर्षभरको मेहनत सकिने अवस्था यहाँका किसानले धेरैपटक भोगेका छन्। खेत जोगाउन रातभर जाग्राम बस्नुपर्छ। कतिपयले घर वरिपरि आगो बालेर जनावर धपाउने गर्छन्। जंगलको छेउमा बस्नु यहाँका लागि प्रकृतिसँगको निकटता मात्र होइन, निरन्तरको चुनौती पनि हो।

    83e92e1f-1ec4-4a5f-9bad-e85a9cc1ecb0.jpg
    गाउँ बदल्ने सपना कुराकानीबाटै सुरु हुन्छ।

    तर यही संघर्षको बीचमा जोनापुरले अहिले अर्को पहिचान बनाउन थालेको छ— पर्यटन र संस्कृति।

     

    गाउँमा अहिले ‘खैरकन्द्रा सामुदायिक होमस्टे’ सञ्चालनमा छ। थारु संस्कृति, परम्परागत जीवनशैली र शुक्लाफाँटाको प्राकृतिक सौन्दर्यलाई जोडेर सुरु गरिएको यो होमस्टे २०७६ सालदेखि सञ्चालनमा आएको हो। सुरुमा आठ घरधुरीबाट सुरु भएको यो अभियान अहिले गाउँको पहिचान बनेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज व्यवस्थापनको सहयोगमा सुरु भएको होमस्टेले अहिले गाउँमा नयाँ सम्भावना देखाएको छ।

    6bca9898-1f0b-4344-8c80-df94c4eda314.jpg
    खेतको हरियालीमा जीवनको सुन्दरता लुकेको छ ।

    यहाँ पुग्ने पर्यटकले थारु समुदायको जीवनशैली नजिकबाट देख्न पाउँछन्। माटोले पोतेका घर, परम्परागत परिकार, गाउँको शान्त वातावरण र स्थानीयको आत्मीय व्यवहारले यहाँ आउनेलाई फरक अनुभव दिन्छ। आन्तरिक पर्यटकसँगै विदेशी पाहुना पनि आउन थालेका छन्। होमस्टेमा स्थानीय महिलाको भूमिका निकै सक्रिय छ। पाहुनाको स्वागतदेखि खाना पकाउने र व्यवस्थापनसम्म उनीहरू नै अगाडि छन्। गाउँमै बसेर आम्दानी गर्न सकिने भएपछि महिलामा आत्मविश्वास पनि बढेको छ।

    8b0314a4-38d2-4a83-b38e-9fa6c800cbe6.jpg
    जति पुरानो बस्ती उति धेरै कथा ।

    ‘खैरकन्द्रा’ नामसँग एउटा पुरानो कथा जोडिएको छ। 

    यस गाउँको दक्षिणी भेगमा खैरकन्द्रा नाम गरेको एउटा ठूलो प्राकृतिक ताल रहेको छ। स्थानीयका अनुसार कुनै समय यहाँ ठूलो तलाउ थियो। तलाउको बीचमा खैरको रुख थियो र त्यही रुखमुनि एक जोगी बस्ने गर्थे। त्यो तलाउमुनि सहर अवस्थित छ भन्ने कथन छ। पुर्खाहरूले सुनाउँदै आएको त्यही कथाबाट ‘खैरकन्द्रा’ नाम राखिएको हो। 

    स्थानीय थारू समुदाय र पर्यावरण संरक्षणमा आधारित यस होमस्टेको नाम सोही तालको सम्मान र पहिचानका रूपमा राखिएको हो।

    342cdfce-8543-49e3-8a73-29c14377aa1c.jpg
    पुराना घरहरूमा इतिहास बोलिरहेको हुन्छ ।



    जोनापुरको अर्को बलियो पक्ष यसको संस्कृति हो। यहाँ अझै पनि थारु समुदायका परम्परा जीवित छन्। बडघर प्रणाली, गुरुवा परम्परा, असारी पूजा, लवांगगी पूजा जस्ता चलन अझै अभ्यासमा छन्। गाउँका सामान्य विवाद समुदायमै मिलाउने चलन छ। बडघरलाई स्थानीयले आफ्नै ‘स्थानीय सरकार’ जस्तै मान्छन्। विवाह, खेतीपाती र सामूहिक जीवनसँग जोडिएका धेरै संस्कार अहिले पनि जोगाइएका छन्।

     

    यद्यपि समयसँगै केही चलन हराउँदै पनि गएका छन्। खर्चिलो परम्परा छोडिँदै छन्, तर संस्कृति जोगाउने प्रयास भने जारी छ। स्थानीय भन्छन्— ‘राम्रो कुरा बचाउनुपर्छ, नराम्रो बानी परिवर्तन गर्नुपर्छ।‘

     

    यसैबीच, गाउँमा अर्को कारणले पनि उत्साह थपिएको छ। यसै क्षेत्रकी छोरी गीता चौधरी देशको कृषि, पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेपछि स्थानीयले अब आफ्नो आवाज राज्यसम्म पुग्ने आशा गरेका छन्। गाउँमा संग्रहालय निर्माण, कृषि सुधार, पर्यटन प्रवर्द्धन र होमस्टे विस्तारका विषयमा अहिले धेरै चर्चा हुन थालेको छ।

     

    स्थानीय किसानको गुनासो भने अझै उस्तै छ। उनीहरूका अनुसार किसानले सहज रूपमा कृषि कर्जा पाउँदैनन्। जग्गा हुँदाहुँदै पनि ऋण लिन कठिन हुन्छ। आधुनिक कृषि औजार किन्न र खेती विस्तार गर्न समस्या छ। त्यसैले स्थानीय अहिले किसानमैत्री नीति र अर्गानिक कृषि प्रवर्द्धनको माग गरिरहेका छन्।

     

    जोनापुर अहिले दुई वास्तविकताबीच उभिएको गाउँ हो। एकातिर गरिबी, भूमिहीनता र संघर्ष छ। अर्कोतिर संस्कृति, पर्यटन र सम्भावनाको नयाँ बाटो खुलेको छ। यही गाउँले अहिले आफ्नै पहिचान जोगाउँदै नयाँ भविष्य खोजिरहेको छ।

    d32a2a91-8ef2-4fb0-aa35-f2cf33821032.jpg
    पुराना घरहरूमा इतिहास बोलिरहेको हुन्छ ।

    हिजो कमैयाको पीडा बोकेको जोनापुर आज परिवर्तनको कथा लेख्न खोज्दै छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij