काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म वितरण गरिएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन्।
मन्त्रालयका सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठन गरिएको कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदलले विगतमा तयार भएका प्रतिवेदनहरूको पुनरावलोकन गर्ने, अनुदान वितरण प्रणालीको अध्ययन गर्ने तथा दुरुपयोग भएको अनुदान भुक्तानीको पहिचान गर्ने कार्य गर्नेछ। साथै अनुदान प्रणालीमा रहेका कमजोरीको विश्लेषण गरी सुधारका लागि आवश्यक सुझाव पनि प्रतिवेदनमार्फत प्रस्तुत गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान रहेको कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादन वृद्धि र व्यावसायिक कृषि प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तर विगतका वर्षहरूमा अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको, वितरण प्रक्रियामा पारदर्शिता अभाव रहेको तथा अनुगमन कमजोर भएको भन्दै अनुदान कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्दै आएका छन्।
कार्यदललाई कम्तीमा महिनामा दुई पटक वा आवश्यकता अनुसार सोभन्दा बढी पटक मन्त्रालयका सचिवसमक्ष प्रगति विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।


