Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नेप्सेम्याक : स्वच्छ उपत्यकाको सारथी

नेप्सेम्याक : स्वच्छ उपत्यकाको सारथी

सोमबार, असार १ २०८३
सोमबार, असार १ २०८३
  •  

    काठमाडौं । बिहानको उज्यालो शहरभरि फैलिनुअघि नै केही मानिसहरू आफ्नो दिन सुरु गरिसकेका हुन्छन्। अधिकांश घरका ढोका अझै बन्द हुन्छन्, सडकहरू सुनसान हुन्छन्। तर त्यही समयमा केही हातहरू गल्ली गल्ली पुगेर हामीले हिजो फालेको फोहोर संकलन गरिरहेका हुन्छन्।

    images

    विडम्बना के छ भने, शहरलाई सफा राख्ने यिनै मानिसहरूलाई धेरैले चिन्दैनन्। कतिपयले त उनीहरूलाई सम्मानको नजरले हेर्ने त परको कुरा, ‘फोहोरका मान्छे’ भनेर सम्बोधन गर्ने गरेका छन्।

    काठमाडौं उपत्यकामा हरेक दिन हजारौं घरबाट निस्किने फोहोर व्यवस्थापन अहिले पनि ठूलो चुनौती बनेको छ। सडक किनारमा छरिएका प्लास्टिक, चुरोटका ठुटा, खैनीका खोल, खोल्सामा बगिरहेका फोहोर र जथाभावी जलाइने प्लास्टिकले वातावरण मात्र होइन, मानव स्वास्थ्यलाई समेत गम्भीर जोखिममा पारेको छ।

    तर समस्या फोहोर मात्रै होइन। समस्या हाम्रो व्यवहार हो।

    हामीमध्ये धेरैलाई फोहोरको असर थाहा छ। प्लास्टिक जलाउँदा विषालु धुवाँ निस्कन्छ भन्ने जानकारी छ। जथाभावी फोहोर फाल्दा पानी प्रदूषित हुन्छ, रोग फैलिन्छ भन्ने पनि थाहा छ। तर व्यवहार भने उस्तै छ। फलफूल खाएपछि बोक्रा सडकमा फाल्ने, सार्वजनिक सवारीको झ्यालबाट खोल फ्याँक्ने, चुरोटको ठुटो बाटोमै झार्ने बानी अझै हटेको छैन।

    अंग्रेजीमा एउटा भनाइ छ ‘Waste is not waste until it is wasted.’ अर्थात्, सही व्यवस्थापन गर्न सकिए फोहोर पनि स्रोत बन्न सक्छ।

    यही सोचका साथ वि.सं. २०५३ मा स्थापना भएको थियो नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)। संस्थापकहरूको उद्देश्य फोहोर उठाउने मात्र थिएन, मानिसको सोच र बानी परिवर्तन गर्नु पनि थियो।

    ‘फोहोरबाट फैलिने रोग, वातावरणीय प्रदूषण र हाम्रो सभ्यतासँग जोडिएको सरसफाइको प्रश्नलाई सम्बोधन गर्नुपर्छ भन्ने सोचबाट यो अभियान सुरु भएको हो,’ नेप्सेम्याकका एक पदाधिकारी भन्छन्। ‘फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ र यसबाट रोजगारी पनि सिर्जना हुन्छ भन्ने विश्वास पनि हामिसँग थियो।’

    सुरुआती दिनमा एउटा सानो अभियानका रूपमा सुरु भएको काम आज झण्डै तीन दशकको यात्रापछि ठूलो संस्थागत रूप लिइसकेको छ। काठमाडौं, ललितपुर, भक्तपुर हुँदै काभ्रेपलाञ्चोकसम्म फैलिएको नेप्सेम्याकले हाल ७० हजारभन्दा बढी घरधुरी र करिब १२ लाख नागरिकलाई सेवा दिइरहेको जनाएको छ।

    बिहानै सुरु हुने सफाइको यात्रा

    शहर ब्युँझिनुअघि नै फोहोर संकलन गर्ने टोली आफ्नो काममा निस्किसकेको हुन्छ।

    गाडी अघि बढ्दै जाँदा एक कर्मचारीले सिटी बजाएर स्थानीयलाई संकेत गर्छन्। त्यसपछि घरबाट निकालिएको फोहोर गाडीमा संकलन गरिन्छ। कतिपय स्थानमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिइन्छ भने धेरै ठाउँमा अझै मिश्रित फोहोर नै आउने गरेको कर्मचारीहरू बताउँछन्।

    फोहोर उठाउने काम मात्र होइन, त्यसको वर्गीकरण, ढुवानी र प्रशोधनसम्मको सम्पूर्ण प्रक्रिया समयसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छ। ल्यान्डफिल साइटसम्म पुर्‍याउने समय मिलाउनुपर्ने भएकाले बिहानको प्रत्येक घण्टा महत्वपूर्ण हुन्छ।

    फोहोरबाट मल, प्लास्टिकबाट पाइप

    नेप्सेम्याकले पछिल्ला वर्षहरूमा ‘स्रोतमै वर्गीकरण’ अभियानलाई प्राथमिकता दिएको छ। भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने अभियानमा ६२ हजारभन्दा बढी परिवार जोडिएका छन्।

    संकलित जैविक फोहोर प्रशोधन केन्द्रमा ल्याएर कम्पोस्ट मल बनाइन्छ। कुनै रासायनिक पदार्थ प्रयोग नगरी सूक्ष्मजीवको सहायताले उत्पादन गरिएको मल घरायसी बगैंचा, कौसी खेती र नर्सरीमा प्रयोग हुने गरेको छ।

    उता प्लास्टिकजन्य फोहोरलाई छुट्याएर पुनःप्रशोधन गरिन्छ। प्लास्टिक चिप्स बनाएर दाना उत्पादन गरिन्छ र त्यसैबाट पाइप लगायतका सामग्री तयार गरिन्छ।

    संस्थाका अनुसार अन्तिम लक्ष्य ‘जिरो वेस्ट’ अर्थात् फोहोरलाई सकेसम्म पुनःप्रयोग र पुनर्चक्रणमार्फत स्रोतमा रूपान्तरण गर्नु हो। संस्थाका लागि सबैभन्दा चुनौतीपूर्ण काम फोहोर उठाउनु होइन, मानिसको सोच र व्यवहार बदल्नु हो।

    त्यसैले घर घर, विद्यालय र समुदायसम्म पुगेर जनचेतना अभियान सञ्चालन गरिएको छ। फोहोरलाई डस्टबिनमा राख्ने, स्रोतमै छुट्याउने र संकलकलाई जिम्मेवार ढंगले हस्तान्तरण गर्ने संस्कार विकास गर्न निरन्तर प्रयास भइरहेको छ।

    संस्थाका एक प्रतिनिधि भन्छन्, ‘पहिलेको तुलनामा शहर धेरै सफा भएको छ। तर अझै चकलेटका खोल, चुरोटका ठुटा, खैनीका प्याकेटजस्ता साना फोहोरले शहर कुरूप बनाइरहेका छन्। यदि प्रत्येक व्यक्तिले आफ्नो हातमा परेको फोहोर सही ठाउँमा राखिदिने हो भने शहर अझ सफा हुन सक्छ।’

    अपमानदेखि सम्मानसम्मको यात्रा

    नेप्सेम्याकका पुराना कर्मचारीहरूलाई सुरुआती दिन अझै सम्झना छ।

    ‘हामीलाई फोहोरका केटा भनेर बोलाइन्थ्यो,’ एक कर्मचारी भन्छन्। ‘घर–घरमा शुल्क उठाउन जाँदा कतिपयले पैसा हातमै दिन हिच्किचाउँथे। फोहोरसँग काम गर्ने मान्छे भनेर हेप्ने प्रवृत्ति थियो।’

    तर तीन दशकमा धेरै कुरा बदलिएको छ। अहिले फोहोर व्यवस्थापनलाई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र सहरी व्यवस्थापनको महत्वपूर्ण अंगका रूपमा हेरिन थालेको छ। नीति निर्माणका क्रममा समेत संस्थाका सुझाव मागिने अवस्था बनेको छ।

    अझै बाँकी चुनौती

    नेप्सेम्याकमा कार्यरत चार सयभन्दा बढी कर्मचारी वर्षा, हिलो, धुलो वा महामारीको समयमा पनि नियमित रूपमा काम गरिरहेका छन्। संस्थाले ६० भन्दा बढी सवारी साधनमार्फत दैनिक फोहोर संकलन गर्दै आएको छ।

    यद्यपि फोहोर व्यवस्थापन क्षेत्रमा निजी क्षेत्रले ठूलो जिम्मेवारी बहन गरिरहँदा कानुनी र नीतिगत समर्थन भने पर्याप्त नभएको संस्थाको गुनासो छ। स्पष्ट नीति र सहकार्य भए केही वर्षमै फोहोरलाई न्यूनतम स्तरमा झार्न सकिने उनीहरूको विश्वास छ।

    विशेषज्ञहरूका अनुसार आज हामीले जथाभावी फालेको फोहोर भोलि प्रदूषित हावा, दूषित पानी र विभिन्न रोगका रूपमा फेरि हामीकहाँ नै फर्किन्छ। त्यसैले सफा शहरको आधार अत्याधुनिक प्रविधि मात्र होइन, नागरिकको दैनिक व्यवहार पनि हो।

    शहर सफा राख्ने जिम्मेवारी कुनै एउटा संस्था, कर्मचारी वा नगरपालिकाको मात्र होइन। हामी प्रत्येकले आफ्नो बानी परिवर्तन गर्न सके मात्रै स्वस्थ र स्वच्छ शहर निर्माण सम्भव छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij