ललितपुर । काठमाडौँको व्यस्त सडक, धुलो, धुवाँ र हतारोबाट केही घण्टा टाढा पुग्नेबित्तिकै वातावरण बदलिन थाल्छ। शहरको कोलाहल बिस्तारै हराउँदै जान्छ, अनि पहाडका घुम्ती सडकहरूले नयाँ संसारतर्फ डोर्याउन थाल्छन्। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाङ्काल गाउँपालिका त्यस्तै एउटा ठाउँ हो, जहाँ पुग्दा लाग्छ प्रकृतिले यहाँ समयलाई अलिकति रोकिदिएको छ।
बादलले डाँडाकाँडा छोइरहेका हुन्छन्, टाढा हिमालहरू मुस्कुराइरहेका देखिन्छन्, अनि कहिले मन्दिरका घण्टी त कहिले गुम्बाका मन्त्रोच्चारणले वातावरणलाई अझ शान्त बनाइरहेका हुन्छन्। यही शान्ति, यही सौन्दर्य र यही आध्यात्मिक अनुभूतिको संगम हो महाङ्काल।
वि.सं. २०७३ सालमा भुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठुला दुर्लुङ गाविसहरू मिलेर बनेको महाङ्काल गाउँपालिका विभिन्न समुदाय र संस्कृतिको साझा थलो हो। यहाँ हिन्दु र बौद्ध धर्म एकअर्काको सम्मान गर्दै सँगसँगै बाँचिरहेका छन्। यही सहअस्तित्वले महाङ्काललाई केवल एउटा भौगोलिक क्षेत्र नभई सांस्कृतिक पहिचान बोकेको जीवन्त गन्तव्य बनाएको छ।
महाङ्कालको परिचय कालेश्वर महादेवबिना अधुरो हुन्छ। समुद्री सतहबाट करिब २,९०० मिटर उचाइमा रहेको यो मन्दिर पुग्नु आफैंमा एउटा अनुभव हो। माथि उक्लिँदै जाँदा चिसो हावा अनुहारमा ठोक्किन्छ, जंगलका बाटाहरूले यात्रालाई रमाइलो बनाउँछन् र अन्ततः मन्दिर परिसरमा पुग्दा थकानभन्दा बढी आनन्दको अनुभूति हुन्छ।
धार्मिक विश्वास अनुसार, सतीदेवीको कण्ठ पतन भएको स्थान यही हो। अर्को जनश्रुतिअनुसार काल पुरुषको तपस्यापछि भगवान शिवले दर्शन दिएर यो शिवलिङ्ग कालेश्वरका नामले प्रसिद्ध हुने वरदान दिएका थिए। धार्मिक कथाहरू जे भए पनि यहाँ पुग्ने अधिकांश मानिसको अनुभव भने एउटै हुन्छ । एक प्रकारको अद्भुत शान्ति।
मौसम खुलेको दिन कालेश्वरबाट देखिने दृश्य झन् लोभलाग्दो छ। उत्तरतर्फ लाङटाङ, गणेश, अन्नपूर्ण र सगरमाथा हिमशृङ्खलाका शृङ्गहरू टल्किरहेका देखिन्छन् भने दक्षिणतर्फ तराईका फाँटहरू फैलिएका देखिन्छन्। एउटै स्थानबाट हिमालदेखि समथर भूभागसम्मको दृश्य हेर्न पाउनु आफैंमा दुर्लभ अनुभव हो।
पहिले कालेश्वर पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। साँघुरा गोरेटो बाटाहरू पार गरेर मात्रै दर्शन सम्भव हुन्थ्यो। अहिले सडक पुगेपछि यात्रा सहज भएको छ। स्थानीय समुदायको सक्रियतामा सिँढी, प्रवेशद्वार, प्रतिक्षालयलगायतका संरचना निर्माण भइरहेका छन्। कालेश्वरलाई अझ आकर्षक बनाउने उद्देश्यले पार्किङ क्षेत्र र मन्दिरको डाँडालाई जोड्ने झोलुङ्गे पुलको योजना पनि तयार भइसकेको छ। योजना पूरा भएमा धार्मिक यात्रासँगै साहसिक पर्यटनको नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ।
महाङ्कालको अर्को परिचय भनेको यहाँको बौद्ध सम्पदा हो। वडा नम्बर ४ मा रहेको लुङ्तोङ थेगछेन छ्योइखोरलिङ गुम्बा, जसलाई स्थानीय रूपमा लुङदुङ गुम्बा पनि भनिन्छ । आज त्यहि स्थान शान्ति र ज्ञानको केन्द्र बनेको छ।
कुइरो र बादलले घेरिरहने यो गुम्बा वरिपरिको वातावरणमा एउटा छुट्टै आकर्षण छ। यहाँ पुगेपछि मानिसहरू केवल दृश्य हेर्न मात्र होइन, केही समय आफूभित्र हराउन पनि खोज्छन्। करिब दुई दशकअघि स्थापित यो गुम्बामा अहिले विभिन्न जिल्लाबाट आएका भिक्षु तथा विद्यार्थीहरूले बौद्ध दर्शन अध्ययन गरिरहेका छन्।
गुम्बाभित्र रहेका धार्मिक सामग्री, बौद्ध ग्रन्थ आदिले आध्यात्मिक वातावरण सिर्जना गर्छन्। लोसार र बुद्ध जयन्तीजस्ता पर्वमा यहाँको रौनक झन् रोचक हुन्छ । त्यस बेला गुम्बा केवल धार्मिक स्थल मात्र नभइ सांस्कृतिक उत्सवको केन्द्र पनि बन्छ।
तर महाङ्कालको कथा केवल सौन्दर्य र आस्थाको मात्र होइन। यो संघर्ष र पुनःउत्थानको कथा पनि हो।
कालेश्वरको फेदीमा रहेको बैतरणी धाम कुनै समय धार्मिक पर्यटकको आकर्षण बनेको थियो। यहाँ स्नान गरेर कालेश्वर महादेवको दर्शन गर्दा विशेष पुण्य प्राप्त हुने विश्वासले सयौँ भक्तजनहरू आउने गर्थे। गुरुकुल भवन, विभिन्न शाला र अन्य संरचनाहरू निर्माण भइरहेका थिए। धार्मिक पर्यटनले स्थानीय क्षेत्रमा उत्साह थपेको थियो।
तर वि.सं. २०८१ सालको असोजमा आएको विनाशकारी बाढीले त्यो उत्साहलाई एकाएक रोकिदियो। बाढीले निर्माणाधीन संरचना र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्यायो। केही वर्षको मेहनत र लगानी क्षणभरमै बगेर गयो।
आज पनि बैतरणी धाममा बाढीका घाउ देख्न सकिन्छ। तर त्यहीँसँगै पुनर्निर्माणको आशा पनि देखिन्छ। स्थानीय तह, विभिन्न संस्था र सरोकारवालाहरू पुनःस्थापनाको प्रयासमा जुटिरहेका छन्। चुनौती ठूलो छ, तर स्थानीयहरूको आशा अझै बाँकी छ।
महाङ्कालको सम्भावना धार्मिक स्थलहरूमा मात्रै सीमित छैन। यहाँका वन, झरना, जडीबुटी, शान्त वातावरण र प्राकृतिक संरचनाहरूले इको टुरिजमको उत्कृष्ट सम्भावना बोकेका छन्। अनौठो चनढुङ्गोदेखि हरियालीले ढाकिएका डाँडासम्म, यहाँ प्रकृतिले आफ्ना अनेक रूप देखाएको छ।
यद्यपि सम्भावनासँगै केही अप्ठ्यारा पनि छन्। सडकको स्तरोन्नति, भरपर्दो मोबाइल नेटवर्क, खानेपानी तथा विद्युत् व्यवस्थापन जस्ता आधारभूत आवश्यकता अझै चुनौतीकै रूपमा छन्। प्रचारप्रसारको अभावले पनि महाङ्कालको वास्तविक पहिचान धेरै मानिससम्म पुग्न सकेको छैन।
तर यी चुनौतीहरूका बीच पनि महाङ्कालले आफ्नो आकर्षण गुमाएको छैन। यहाँ आउने जोकोहीले हिमाल, जंगल, मन्दिर, गुम्बा र स्थानीय संस्कृतिको अनौठो संगम अनुभव गर्न सक्छ। सायद यही कारण हो, एकपटक महाङ्काल पुगेका मानिसहरू फेरि फर्केर आउने इच्छा बोकेर फर्किन्छन्।
काठमाडौँबाट धेरै टाढा नभए पनि फरक संसारको अनुभूति गराउने महाङ्काल अझै धेरैको नजरबाट ओझेलमा छ। तर प्रकृतिको काखमा बसेर आस्था, संस्कृति र शान्तिको अनुभव खोज्नेहरूका लागि यो ठाउँ कुनै लुकेको खजाना भन्दा कम छैन। महाङ्काल आज पनि बादलसँग खेल्दै, हिमाललाई हेर्दै, आफ्ना कथाहरू सुनाउन नयाँ यात्रुहरूको प्रतीक्षामा त्यहीँ नै छ ।


