काठमाडौं। हाम्रो समाजमा एउटा चल्तीको उखान छ, 'सहनु जति धर्तीले सहन्छिन्।' ९३ वर्षकी भगवती पाण्डेको जीवन हेर्ने हो भने यो उखान ठ्याक्कै उनको जीवनसँग मिल्छ। मानिसको जीवनमा कतिसम्म दुःख आउन सक्छ र ती दुःखहरूलाई कसरी धर्तीले जस्तै सहन सक्नुपर्छ भन्ने कुराको उदाहरण उनी आफै हुन्। आफ्नो काखको सन्तान गुमाउनुको पीडा कति हुन्छ र आफ्नो विवाह झुक्याएर गराइँदा कस्तो महसुस हुन्छ भन्ने कुरा उनले भोगेकी छन्।
त्रिशूलीमा जन्मिएकी भगवतीको बाल्यकाल सुखद् हुन पाएन। सानै उमेरमा आमा बितिन्। आमा बितेको दुःख बिर्सिन नपाउँदै १४ वर्षको उमेरमा उनको विवाह भयो। विवाह मागेरै भएको थियो, तर उनलाई एउटा कुरा लुकाइएको थियो। उनी सौता भएको घरमा बेहुली बनेर जाँदै थिइन्।
विवाह पछि मात्र उनले आफू सौताको माथि आएको कुरा थाहा पाइन्। उनी भन्छिन्, 'सौता छ भनेर ढाँटेर बिहे गर्या। १३–१४ वर्षको उमेरमा मान्छे बुझ्ने त भइहाल्छ, तर के गर्नु, चुपचाप सहनुबाहेक उपाय थिएन।' सौता भएर गए पनि उनको सौता दिदीसँग कहिल्यै झगडा भएन। उनीहरू दिदीबहिनी जस्तै मिलेर बसे। विवाह पछि उनको जीवन मेलम्चीमा बित्यो। भगवती ६ जना सन्तानकी आमा बनिन्। तर, उनको भाग्यमा सुख धेरै समय टिकेन। एकपछि अर्को गर्दै उनका चार जना सन्तान बिते।
उनको पहिलो छोरा दुई महिनाको हुँदा बिरामी परेर बिते। त्यतिबेला नजिक अस्पताल थिएन र गाडी चल्ने बाटो पनि थिएन। डोकोमा बोकेर अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चाको ज्यान गयो। पछि उनकी ४५ वर्षकी छोरी पनि बितिन्। ६ जना सन्तान जन्माएकी भगवतीका आज दुई जना छोरीहरू मात्र जीवित छन्। सन्तानको कुरा गर्दा आज पनि उनका आँखा रसाउँछन् । दुःख यतिमा मात्र सकिएन। २०५८ सालमा ४५ वर्षकै उमेरमा उनका श्रीमानको पनि अचानक निधन भयो। रातभरि साना छोराछोरीलाई काखमा लिएर रुँदै उनले रातहरू काटिन्।
विगत सम्झिँदै उनी भन्छिन्, 'कोही थिएन साथी। छोराछोरी रोए। आफैले रोएर आफैलाई चित्त बुझाएँ। त्यति गाह्रो हुँदा पनि म बसिराखे। म त पृथ्वी जस्तै भएर बस्या छु। पृथ्वीले सहेको जस्तै मैले पनि सहेँ।' समय बित्दै गयो। मेलम्चीमा भूकम्प र बाढी आएपछि उनीहरू काठमाडौँ सरे। आज भगवती पाण्डे काठमाडौँको चाबहिल, माहाङ्कालमा आफ्नो परिवारसँग बस्छिन्।
सरकारले दिने वृद्धभत्ताबाट उनी आफै धूप, बत्ती र तेल किन्छिन्। बचेको पैसा नाति-पनातिहरूलाई बाँड्छिन्। उनी भन्छिन्, 'अहिले सुख छ।' उनले आफ्नो जीवनमा देशको धेरै उतारचढाव देखिन्। राणाशासन, प्रजातन्त्र र राजाको शासन सबै भोगिन्। उनी भन्छिन्, 'राजाको जस्तो व्यवस्था कसैको छैन। राजा भनेपछि डर हुन्थ्यो, अनुशासन हुन्थ्यो। अहिले त कसैलाई कसैको डर छैन।'


