भक्तपुर। हामी यही देशको माटोमा जन्मियौँ, यहीँ हुर्कियौँ। तर, म नेपाली हुँ भनेर प्रमाणित गर्न एउटा कागजको टुक्रा चाहिने? अनि त्यही कागज नहुँदा आफ्नै देशमा अनागरिक भएर बाँच्नुको पीडा कस्तो हुन्छ होला?
सोलुखुम्बु घर भए पनि सानैदेखि बल्खुको सुकुम्बासी बस्तीमा हुर्किएकी गितालाई आफ्नो गाउँको केही थाहा छैन। बाल्यकालमै आमालाई बस दुर्घटनामा गुमाइन्। त्यसपछि बुबाको काखमा हुर्किँदै गर्दा सधैँ एउटै बिन्ती गर्थिन् 'बुबा, मेरो नागरिकता बनाइदिनु न!' तर 'भोलि-पर्सी' भन्दाभन्दै बुबाले पनि संसार छाडेर गए। त्यही नागरिकता नभएर आजसम्म उनले बैंकमा एउटा खातासमेत खोल्न पाएकी छैनन्।
बिहान ४ बजेदेखि राती १२ बजेसम्म बल्खुको एउटा होटलमा एक छाक खाएर र एक छाक भोकै बसेर उनले घर चलाइरहेकी थिइन्। सरकारले बस्ती हटायो। दिनभरिको कामको थकानले गर्दा उनले आफ्नो सरसामान सार्ने मौकासम्म पाइनन्। आकाशबाट पानी परिरह्यो, डोजर चलिरह्यो र आँसुका थाेपामा डुब्दै गीताका सामानहरू त्यहीँ बगे। बुवाले छोडेर गएको त्यही एउटा ओत लाग्ने ठाउँ पनि अहिले राज्यले खोसिदिएपछि उनी पूर्ण रूपमा निरुपाय बनेकी छन्।
नागरिकता नभए पनि रंगशालामा उनले नाम टिपाइन र उनलाई बोडेको होल्डिङ सेन्टरमा पठाइयो। होल्डिङ सेन्टरमा बस्न-खान त ठीकै छ, तर बिरामी पर्दा औषधिमूलोको अभावले迫 उनको मन कता कता अमिलो हुन्छ।
अहिले बोडेको होल्डिङ सेन्टरमा गाउँकै एकजना चिनजानका दाई संयोगले भेटिएका छन्, जसले उनलाई गाउँ लगेर सनाखत गराई नागरिकता बनाउन सहयोग गर्न सक्ने एउटा अन्तिम आशाको त्यान्द्रो जीवितै छ। तर, काठमाडौँबाट संखुवासभा पुग्न दुईवटा गाडी फेर्नुपर्छ र त्यहाँसम्म पुग्नका लागि कम्तीमा २० हजार रुपैयाँ खर्च लाग्छ, जुन रकम अहिले दुई जोर कपडाको भरमा बाँचिरहेकी गीतासँग कतैबाट उपलब्ध छैन।
राज्य वा कुनै निकायले आफ्नो यो समस्या बुझेर गाउँसम्म जाने खर्च जुटाइदिए आफ्नो नागरिकता बन्ने विश्वास व्यक्त गर्दै उनी भन्छिन्, ‘मलाई संखुवासभा पुग्नलाई २० हजार जति लाग्छ हेर्नु। त्यहाँ गएपछि एकजना हाम्रो गाउँकै मान्छे छ त्यहाँनेरी, उसलाई भन्यो भने उसले चिनाइदिन्छ। यहाँबाट मलाई जाने खर्च मात्रै चाहिएको हो। यहाँबाट खर्च दियो भने त म सोझिखोज भए पनि म पुग्छु, पुग्नको लागि त सानो हुँदाखेरि यता आएको। मलाई अरू केहीमा आश पनि छैन।’
आज उनलाई ठूला महल चाहिएको छैन। सरकारसँग उनको एउटै माग छ बस्ने एउटा सानो ओत र पेट भर्न एउटा काम पाए उनी सन्तुष्ट हुने थिइन्। यो कथा गीताको मात्र होइन, आफ्नै देशमा आफ्नो अस्तित्व खोजिरहेका हजारौँ अनागरिकहरूको प्रतिनिधि आवाज हो।
होल्डिङ सेन्टरको बन्द बसाई, निश्चित समयमा दिइने अर्काको हातको खानपान उनलाई कत्ति पनि मन परेको छैन र उनी पुनः आफ्नै श्रममा फर्कन चाहन्छिन्। उनी भन्छिन्, ‘मलाई यहाँ त राम्रो लागेन। किनभने एक्लै भएर हो कि मनै अडिँदैन मलाई यहाँ। काम गरेर खान मन लाग्छ। आफूले काम गर्यो भने जे खान मन लाग्यो त्यही खान पाइन्छ। यहाँ उनीहरूले जस्तो दियो त्यस्तै खानुपर्छ। तरुनी बरुनी होइन क्यारे, यसो केही बनाएर खाउँ भन्नु भने अब यहाँ बसेर हामीले के खान सकिन्छ, अर्काको हातको कुरो हो।’


