काठमाडौं। वि.सं. २०६० सालतिर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजको जस्तो बहस र राजनीतिको केन्द्रमा थिएन। बागमती र विष्णुमतीका किनारहरू 'डम्पिङ साइट' बन्ने तरखरमा थिए। त्यही समयमा चोभारका नीर कुमार पुरी (मिलन) ले काठमाडौंका गल्लीहरूमा तीन पाङ्ग्रे रिक्सा गुडाएर फोहोर संकलनको काम सुरु गरे।
त्यसबेला घर-घरबाट निस्कने फोहोर उठाउनेहरूलाई समाजले हेर्ने दृष्टिकोणमा एउटा गहिरो सामाजिक संकुचन थियो। कामको प्रकृतिभन्दा पनि काम गर्ने मान्छेको पहिचान नै फोहोरसँग जोडिदिने सामाजिक मनोविज्ञानका कारण मिलनले सुरुवाती दिनमा निकै असहज परिस्थितिको सामना गर्नुपर्यो।
आज लगभग २३ वर्षपछि, काठमाडौंको फोहोर व्यवस्थापनको अवस्था र विमर्श दुवै बदलिएको छ। नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण व्यवस्थापन केन्द्र (नेप्सेम्याक) मा दुई दशकभन्दा बढी समय बिताइसकेका पुरी आज मजदुर मात्र होइनन्, उनी फोहोरलाई प्राविधिक र वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने एक अनुभवी 'वेस्ट स्पेसलिस्ट' हुन्। तीन पाङ्ग्रे रिक्साबाट सुरु भएको उनको यो यात्राले काठमाडौँको सहरीकरण, श्रमको बदलिँदो सामाजिक मनोविज्ञान र निजी-सरकारी साझेदारीको एउटा महत्त्वपूर्ण कालखण्डलाई उजागर गर्छ।
गाउँको कृषि पृष्ठभूमिबाट आएका पुरीलाई माटोसँग खेल्न लाज नभए झैँ सहर सफा राख्ने काममा पनि कुनै हीनताबोध थिएन। तर, उनको व्यावसायिक जीवनको सबैभन्दा ठूलो परीक्षा वि.सं. २०७२ सालको महाभूकम्पपछि भयो। नेप्सेम्याकले चोभार क्षेत्रमा फोहोरबाट कम्पोस्ट मल बनाउने नवीन संरचना सुरु गर्दा पुरीले त्यसको अग्रपंक्तिमा रहेर काम गरे।
त्यसबेला प्रविधि सीमित र चुनौतीहरू असीमित थिए। फोहोरको गन्ध र व्यवस्थापनको प्रारम्भिक कमजोरीलाई लिएर स्थानीय स्तरबाट तीव्र आक्रोश र उजुरीहरू आउन थाले। टोल र समाजबाट असहयोग हुँदा काम छोडौँ जस्तो परिस्थितिसमेत निर्माण भयो। तर, त्यस्तो अवस्थामा उनको घरपरिवार उनको बलियो ढाल बन्यो। छिमेकी र असन्तुष्ट स्थानीयलाई उनका परिवारका सदस्यहरूले आफैं अघि सरेर सम्झाए। परिवारको त्यही जिम्मेवारीपूर्ण बुझाइले उनलाई कार्यक्षेत्रमा टिकिरहन मद्दत गर्यो।
पुरीको अनुभवमा सहरी समाजमा अहिले पनि एउटा द्वैध चरित्र देखिन्छ। समाजका पुराना र रैथाने कतिपय मानिसहरूमा अझै पनि संस्थागत सरसफाइ प्रणालीप्रति अविश्वास छ। उनीहरूलाई लाग्छ कि यस्ता निजी संस्थाहरू बिना नै परम्परागत रूपमा फोहोर व्यवस्थापनको काम चल्छ। तर, बदलिँदो काठमाडौँको नयाँ पुस्ता, शिक्षित युवा र स्थानीय क्लब तथा समूहहरू भने आज सरसफाइलाई सभ्यता र जनस्वास्थ्यसँग जोडेर हेर्छन् र प्राविधिकहरूलाई साथ-सहयोग दिन पछि पर्दैनन्।
उपत्यकामा उत्पादित फोहोरको ठूलो हिस्सा अर्थात् करिब ६० देखि ७० प्रतिशत जैविक हुन्छ। जसलाई शुल्क तिरेर बञ्चरेडाँडा वा सिसडोल लैजानुको साटो सुरुदेखि नै वर्गीकरण गरेर कम्पोस्ट मलमा रूपान्तरण गर्ने रणनीति नेप्सेम्याकले लिएको छ।
यहीँनेर पुरीको भूमिका साधारण श्रमबाट माथि उठेर प्राविधिक मोडमा रूपान्तरण भयो। फोहोरलाई स्रोतैमा वर्गीकरण गराउने, जैविक फोहोरलाई वैज्ञानिक विधिबाट कुहाएर दुर्गन्धरहित मल बनाउने र भ्यालीको वेस्ट लोड घटाउने काममा पुरीले दक्षता हासिल गरे। यही प्राविधिक इमानदारिताकै कारण आज संस्थाको माथिल्लो व्यवस्थापनले उनलाई ठूला र संवेदनशील जिम्मेवारीहरू सुम्पिने गरेको छ।
अहिले उनी विभिन्न घरेलु संघसंस्था, आमा समूह, र दिदीबहिनी समूहहरूसँग सहकार्य गर्दै समुदायस्तरमै फोहोर व्यवस्थापनको चेतना फैलाउने काममा पनि सक्रिय छन्। दिनभरि काम गर्दा आफूलाई कहिल्यै थकान महसुस नहुने र साँझ काम सफलतापूर्वक सम्पन्न हुँदा एउटा गहिरो आत्मसन्तुष्टि मिल्ने उनी बताउँछन्।
आफ्नो आधा जिन्दगी यही क्षेत्रमा होमिसकेका पुरीले यो कामबाहेक अर्को कुनै विकल्प सोचेका छैनन्। तर, निजी क्षेत्र र राज्यबीचको फोहोर व्यवस्थापन नीतिलाई लिएर भने उनीभित्र एउटा गम्भीर चिन्ता छ। सरकारले ठोस नीति नबनाउने र स्थानीय तहले निजी क्षेत्रलाई साझेदारको रूपमा नहेर्ने हो भने यो क्षेत्र धराशायी हुन सक्ने उनको विश्लेषण छ। राज्यको प्रतिकूल नीतिकै कारण निजी क्षेत्रले काम गर्नै नसक्ने अवस्था आएमा वा कम्पनी बन्द भएमा मात्र आफूले यो काम छोड्ने उनी बताउँछन्।
यो क्षेत्रको दीर्घकालीन सुधारका लागि पुरीले दुईवटा नीतिगत सुझावहरू अघि सारेका छन्:
१. स्थानीय सरकारले निजी सरसफाइ प्रदायकहरूलाई अवरोध होइन, दीर्घकालीन सहयात्रीको रूपमा स्विकार्नुपर्छ र सार्वजनिक-निजी साझेदारीलाई मजबुट बनाउनुपर्छ।
२. अग्रपंक्तिमा काम गर्ने तल्लो तहका सरसफाइ कर्मचारीहरूलाई पनि सरकारी कर्मचारी सरह स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र सेवा-सुविधा उपलब्ध गराइनुपर्छ।
यदि राज्यले सरसफाइ मजदुरको सामाजिक र वित्तीय सुरक्षाको ग्यारेन्टी गर्ने हो भने, यो क्षेत्रमा श्रमको सम्मान बढ्ने, हजारौँ युवाले सम्मानजनक रोजगारी पाउने र कर्मचारीहरू लामो समय टिकेर काम गर्न सक्ने पुरीको भनाइ छ।
२३ वर्षको यो अनवरत यात्रापछि पुरी आजको नयाँ पुस्ता र शैक्षिक प्रणालीलाई एउटा महत्त्वपूर्ण व्यावहारिक सन्देश दिन चाहन्छन्। उनी भन्छन्, ‘कुनै पनि काम गर्दा केवल किताब पढेर वा सिद्धान्त घोकेर मात्र पुग्दैन। त्यसलाई व्यावहारिक रूपमा, भुइँमा ओर्लेर, वास्तविक तरिका बुझेर सिक्नुपर्छ। जसले यसरी व्यावहारिक रूपमा काम सिकेको हुन्छ, ऊ संसारको जुनसुकै कुनामा पुगोस्, कहिल्यै भोकै बस्नु पर्दैन, उसले सजिलै बाँच्न र समाजलाई केही योगदान दिन सक्छ।‘
काठमाडौंको सरसफाइको इतिहास नेप्सेम्याक जस्ता संस्था र मिलन जस्ता सारथिहरूको पसिनाबिना अपुरो हुन्छ। तीन पाङ्ग्रे रिक्साको ह्यान्डल समातेर सुरु भएको उनको यो यात्रा केवल फोहोर व्यवस्थापनको कथा होइन, यो श्रमको गरिमा, सामाजिक रूपान्तरण र भुइँ तहको यथार्थ बोल्ने एउटा जीवित दस्तावेज हो।


