काभ्रेपलाञ्चोक। सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा भएको बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताएका हुन् ।
उनी भन्छन्, 'सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।'
उनले लोकतन्त्र निर्वाचनबाट मात्रै सुदृढ नहुने भएकाले प्रेरणामुखी सेवा आवश्यक रहेको बताए। उनी भन्छन्, 'यसले लोकतन्त्रको जिवन्तता र नागरिक चेतनाको उचाइलाइ समेत प्रतिबिम्बित गरेको छ।'
सभामुख अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारबाट मात्र नहुने हुँदा स्थानीय तहको सेवाको मापनमा निर्भर हुने बताए। उनले ‘सरकार मेरो लागि छ’ भन्ने नागरिकको चाहनाअनुरुप सरकारले काम गर्ने बताए।
कार्यापालिका, न्यायपालिका, व्यवस्थापिकाको ‘स्प्रीड’ले आमनागरिक तथा कर्मचारीवर्गले आत्मसम्मानपूर्वक महसुस गर्ने उनले स्पष्ट पारे। सभामुख अर्यालले संविधानको अक्षरस पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संशोधन गर्नुपर्ने धारणा राखे।


