Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'एक पटक काठमाडौं जान मन छ'

'एक पटक काठमाडौं जान मन छ'

मंगलबार, जेठ १९ २०८३
मंगलबार, जेठ १९ २०८३
  • ललितपुर। राजधानी पुग्ने हरेकको सपना हुन्छ। तर सबैको परिस्थिति एउटै हुँदैन। ललितपुरको दक्षिण भेगमा महाङ्काल गाउँपालिका अवस्थित छ। सायद यो ठाउँ धेरैलाई थाहा नहुन सक्छ। यहाँ हरेक वर्ष बर्खायाममा बाढी र पहिरोले सताइरहन्छ। तर पनि मानिसहरू यहाँ बस्न बाध्य छन्। यहीँ भेटिन्छिन्, कल्पना बजगाईँ।

    images

    उनको संसार अझै पनि दक्षिण ललितपुरका तिनै भिराला र हरिया डाँडाहरूमै सीमित छन्। उनले कहिल्यै चापागाउँ भन्दा परको संसार देखेकी छैनन्। केही किलोमिटर मात्र टाढा रहेको राजधानी काठमाडौँ कस्तो होला? उनी केवल कल्पना गर्छिन्। उनको काठमाडौं पुग्ने सपना कल्पनामै सीमित छ। उनी भन्छिन्, 'एक पटक काठमाडौँ जान पाइदिए हुन्थ्यो।'

    कल्पनाको जीवनमा पहिलो ठुलो मोड द्वन्द्वकालमा आयो। वि.सं. २०६० सालतिर गाउँमा माओवादी विद्रोह थियो। विद्रोहीहरूले सर्वसाधारणलाई लिएर जाने धम्की दिने गरेको उनी सम्झिन्छिन्। माओवादीले लैजान्छन् भन्ने डर उनीमा थियो। त्यही डरकै कारण उनले १० कक्षामा पढ्दापढ्दै हतारमा विवाह गर्नुपर्‍यो। त्यो त्रासमय समयमा धेरैका लागि विवाह नै सुरक्षाको कवच बन्ने गर्थ्यो।

    उनका विवाहपछिका वर्षहरू पहाडको भेगमा बिते। त्यहाँको भौगोलिक विकटताका कारण जीवन निकै कष्टकर थियो। आफ्ना तीन सन्तानलाई हुर्काउँदै गर्दा साना बालबच्चालाई विद्यालय पुर्‍याउन मात्रै दैनिक दुई घण्टाभन्दा बढी समय खर्चनुपर्थ्यो। त्यसले गर्दा अन्य काम गर्ने समय नै मिल्दैनथ्यो। उनी त्यो पीडा अझै सम्झिन्छिन्। अझ बर्खायाममा बाढी आएको बेला बच्चाहरूलाई विद्यालयबाट फर्काएर ल्याउनै नसकिने अवस्था हुने गरेको उनी बताउँछिन्।

    त्यो भौगोलिक विकटतामा सबैभन्दा ठुलो बज्रपात वि.सं. २०८१ सालको असोजमा आइलाग्यो। गाउँमा कहिल्यै नआएको ठुलो बाढी र पहिरो आयो। त्यसले उनको परिवारको उठिबास लगाइदियो। कल्पना भन्छिन्, बाढीले ' हाम्रो खाने भाँडो नै बगाएर लग्यो।  खेती गरेर खाने जग्गा नै बगर बन्यो।' त्यसपछि उनीहरू थातथलो छोड्न बाध्य भए। उनीहरू तल गुटिखेलको एउटा भाडाको घरमा सरे।

    यो विस्थापनले एकातिर सर्वस्व गुमाएको पीडा दियो। अर्कोतिर केही सहजता पनि थपिदियो। गुटिखेल सरेपछि अहिले बच्चाहरूको विद्यालय नजिकै छ। बजार छेउ सरेकाले उनलाई पहिलेभन्दा अलि सजिलो महसुस भएको छ। तर अझै पनि माथि पहाडमै रहेका अरूहरूलाई भने उस्तै गाह्रो छ।

    बाढीले निम्त्याएको आर्थिक खाडल भने अझै पुरिएको छैन। उनी आर्थिक अभावका कारण थिचिएको पीडा सुनाउँछिन्। 'बारी बनाउन धेरै पैसा पनि छैन।'

    अहिले जीवन चलाउनका लागि कल्पनाले ऋण गरेकी छिन्। उनले ऋण गरेर चारवटा भैँसी किनेकी छिन्। अहिले भैँसी पालन उनको परिवारको आर्थिक आम्दानीको मुख्य स्रोत बनेको छ। जेठी छोरी मामाघरमा बस्छिन्। माइलीले भर्खरै एसईई दिएकी छिन्। कान्छो छोरो ६ वर्षको भयो। बच्चाहरूको स्याहार र भैँसीकै हेरचाहमा उनको दिन बित्ने गर्छ।

    विपत्तिपछि स्थानीय तहबाट चामल र केही राहत त मिल्यो। तर त्यो पर्याप्त थिएन। कल्पना सरकारलाई भन्छिन्, 'बाढी पीडितहरूलाई आर्थिक सहयोग र रोड दिए धेरै राम्रो हुन्थ्यो।' गाउँमा शिक्षा, स्वास्थ्य र बाटोघाटोलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनी बताउँछिन्।

    गाउँमा औषधिको पनि अभाव छ। उनी भन्छिन्, 'गम्भीर बिरामी भएकाहरूलाई कहाँ लैजाने? कति जना त बाटोमै मर्छन्।'

    आज पनि काठमाडौँ घुम्ने कल्पनाको चाहना दबिएकै छ। कहिले बच्चा त कहिले बस्तुभाउले गर्दा समय मिल्दैन। आर्थिक अभावले पनि उनी रोकिन्छिन्। गुटिखेलको नयाँ डेरामा बसेर उनी आफ्नो जीवनलाई फेरि शून्यबाट उठाउने प्रयासमा छिन्।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij