काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले देशभरिका किसानबाट संकलित दूधलाई आधुनिक प्रविधिमार्फत प्रशोधन गरी गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्याउँदै आएको जनाएको छ। संस्थानले हाल देशका १८ वटा दूध संकलन तथा चिस्यान केन्द्रमार्फत दूध संकलन गरी प्रशोधन केन्द्रमा ल्याउने व्यवस्था गरेको छ।
संस्थानका अनुसार चिस्यान केन्द्रबाट ट्यांकरमार्फत ल्याइएको दूध प्रशोधन प्रक्रियामा लैजानुअघि अनिवार्य रूपमा गुणस्तर परीक्षण गरिन्छ। दूधको नमुना संकलन गरी एसिडिटी, क्लट अन बोइलिङ (COB), फ्याट, एसएनएफ (Solid-Not-Fat) तथा सम्भावित मिसावट परीक्षण गरिन्छ। परीक्षणबाट गुणस्तर उपयुक्त पुष्टि भएपछि मात्र दूध प्रशोधन प्रक्रियामा पठाइन्छ।
किसानलाई गरिने भुक्तानी दूधमा रहेको फ्याट र एसएनएफको प्रतिशतका आधारमा निर्धारण गरिने संस्थानले जनाएको छ। फ्याट परीक्षणका लागि गर्बर विधि प्रयोग गरिने र त्यसका आधारमा दूधको गुणस्तर मूल्याङ्कन गरिने बताइएको छ।
डिडीसीले दूध तथा दुग्धजन्य उत्पादनको प्याकेजिङमा समेत विशेष ध्यान दिएको जनाएको छ। प्याकेटमा उत्पादन मिति, ब्याच नम्बर र मूल्यजस्ता विवरण आधुनिक प्रिन्टिङ प्रणालीमार्फत उल्लेख गरिन्छ। प्याकेजिङ सामग्रीलाई अल्ट्राभायोलेट (UV) प्रविधिबाट निर्मलीकरण गरी उपभोक्तासम्म सुरक्षित उत्पादन पुर्याइने गरिएको छ।
संस्थानले दूधबाट छुट्याइएको क्रिम प्रयोग गरी बटर तथा घिउ उत्पादन गर्दै आएको छ। उत्पादित बटरलाई माइनस १८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ। त्यस्तै, दही उत्पादनका लागि विशेष इन्क्युबेसन कक्षको व्यवस्था गरिएको छ, जहाँ दही तयार भएपछि चिस्यान कक्षमा सुरक्षित राखिन्छ।
डिडीसीले ग्रामीण तथा दुर्गम क्षेत्रका किसानबाट दूध संकलन गरी प्रशोधनपश्चात् गुणस्तरीय दूध बजारमा उपलब्ध गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको जनाएको छ। संस्थानका अनुसार लाखौँ किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यससँग आबद्ध छन् र किसान तथा उपभोक्ताबीच विश्वासको पुलका रूपमा संस्थानले भूमिका निर्वाह गरिरहेको छ।
संस्थानले दूध उत्पादन वृद्धि तथा गुणस्तर सुधारका लागि विभिन्न सरकारी निकाय र प्राविधिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। पशुपालनका लागि आवश्यक गुणस्तरीय दाना उत्पादन तथा वितरणको कार्यसमेत संस्थानले गरिरहेको छ।
किसानलाई दूधको भुक्तानीबारे बेला–बेलामा उठ्ने प्रश्नप्रति प्रतिक्रिया दिँदै संस्थानले सरकारले तोकेको मूल्यअनुसार नै दूध खरिद गर्दै आएको दाबी गरेको छ। ठूलो आर्थिक कारोबारका कारण कहिलेकाहीँ भुक्तानी व्यवस्थापनमा चुनौती देखिए पनि किसानलाई नियमित भुक्तानी गर्ने कार्य निरन्तर जारी रहेको संस्थानको भनाइ छ।
संस्थानले मिसावटयुक्त दूध तथा गुणस्तरहीन उत्पादनप्रति शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। उपभोक्ताले कुनै पनि प्रकारको अनियमितता वा मिसावटबारे जानकारी पाए तत्काल सूचित गर्न आग्रह गर्दै संस्थानले आवश्यक कारबाही र नियन्त्रणका उपाय अवलम्बन गरिने जनाएको छ।
(डीडीसी) ले आगामी दिनमा संस्थानलाई अझ प्रभावकारी, प्रतिस्पर्धी र आर्थिक रूपमा सबल बनाउने लक्ष्य राखेको छ। किसानको उत्पादनको सुनिश्चित बजार, उचित मूल्य तथा गुणस्तरीय नेपाली दुग्धजन्य उत्पादनलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यका साथ संस्थान अघि बढिरहेको जनाएको छ।


