Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आधुनिकतालाई पछि पार्दै टोखा

आधुनिकतालाई पछि पार्दै टोखा

सोमबार, जेठ १८ २०८३
सोमबार, जेठ १८ २०८३
  • काठमाडौं। उपत्यकाको उत्तरी भेगमा अवस्थित ऐतिहासिक क्षेत्र हो टोखा। प्राचीन कला, संस्कृति र मौलिक सम्पदाको बलियो जगमा उभिएको टोखाले आफ्नै विशिष्ट इतिहास बोकेको छ। आधुनिकताको तीव्र लहरका बीच पनि यहाँ रैथाने कला-संस्कृतिको जगेर्न र पुर्ख्यौली पहिचानलाई जीवित राख्ने प्रयास भइरहेका छन्। सामान्यतया धेरैका लागि 'टोखा' नाम सुन्नासाथ जिब्रोमा चाकुको मिठास र सुगन्ध झुल्किन्छ। टोखासंग चाकुको इतिहास गहिरोसँग जोडिन्छ।

    images

    राजधानीको उत्तरमा अवस्थित यस क्षेत्रमा धेरै पहिले उखु खेती प्रचुर मात्रामा हुने गर्दथ्यो। उखु खेतीको यही ऐतिहासिक पृष्ठभूमिले टोखामा एउटा मौलिक परम्पराको जग बसाल्यो। इतिहासकार र जानकारहरूका अनुसार नेवारी भाषामा उखु फल्ने ठाउँलाई ‘टुख्या’ भनिन्थ्यो। समयको अन्तरालमा त्यही 'टुख्या' शब्द अपभ्रंश हुँदै आजको ‘टोखा’ बन्न पुगेको हो।

    आज यही ऐतिहासिक बस्तीमा चाकु उत्पादन केवल एक पेसा वा व्यवसाय मात्र रहेन, बल्कि यो यहाँका बासिन्दाको जीवनशैली नै बनिसकेको छ। पुस्तान्तरण हुँदै आएको चाकु बनाउने यो अनुपम कला टोखाको पर्याय र स्थानीयको जीवनको आधार बनेको छ।

    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेको यो बस्तीको प्रकृतिसँग पनि उत्तिकै प्रगाढ सम्बन्ध छ। यहाँको परम्परागत पेसा कृषि र पशुपालन भए पनि समयक्रमसँगै उखु खेती घट्दै गएको छ, तर माटोसँग जोडिएको रैथाने जीवनशैली अझै मरेको छैन।

    यहाँका बासिन्दा ऐतिहासिक कालदेखि नै व्यापारमा निकै सक्रिय थिए। यसको सुरुआत लिच्छवि कालमै भइसकेको थियो, जस्ताका नुवाकोट र रसुवा हुँदै तिब्बतको केरुङ जाने मुख्य व्यापारिक मार्ग यही टोखा बस्ती भएर सञ्चालन हुने गर्दथ्यो।

    ऐतिहासिक तथ्यहरूलाई केलाउँदा टोखा प्राचीन कालदेखि नै एक विकसित नगरसभ्यताको रूपमा व्यवस्थित रहेको देखिन्छ। किराँत कालदेखि नै मानव बसोबासको प्रमाण भेटिएको यस क्षेत्रले कुनै समय 'चार सय गाउँ हेर्ने' प्रशासनिक जिम्मेवारी समेत सम्हालेको जनविश्वास छ। प्राचीन समयमै यहाँ निर्मित व्यवस्थित कुलो-नहरको व्यवस्था, तलेजु भवानीको स्थापना र मूल नाइके प्रणालीले तत्कालीन प्रशासनिक सुदृढतालाई प्रस्ट पार्छ।

    सांस्कृतिक रूपमा धनी यस बस्तीमा मुख्यतः नेवार समुदायको सघन बसोबास छ। श्रेष्ठ, डंगोल, महर्जन, मानन्धर, नापित, कर्माचार्य, खड्गी, पोडे, जोशी लगायतका विभिन्न थरका मानिसहरू यहाँ आपसी सद्भावका साथ बस्छन्। नेवारी भाषा दैनिक जीवनको मुख्य माध्यम हो भने धार्मिक रूपमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू फराकिलो सहअस्तित्वका साथ रहँदै आएका छन्।

    आज पनि टोखाका गल्लीहरूमा चियाउँदा इतिहास जिउँदो भेटिन्छ। इँटा र काठले बनेका पुराना शैलीका घरहरू, झ्याल-ढोकामा कुँदिएका कलात्मक बुट्टाहरू, एकापसमा जोडिएका लिच्छविकालीन संरचनाहरू र खुला चोक-आँगनले पुराना कथाहरू सुनाइरहेका लाग्छन्। बस्तीका चारैतिर रहेका प्रवेशद्वार र सांस्कृतिक डबलीहरू आज पनि नाचगान, कचहरी, जमघट र सामाजिक जीवनका जीवन्त केन्द्र हुन्। छिमेकीबीचको गहिरो आत्मीयता, दुःख-सुखमा हातेमालो गर्ने संस्कार र धर्मप्रतिको अगाध आस्था नै यहाँको जीवनका बलिया खम्बाहरू हुन्।

    टोखा मौलिक नेवारी संस्कृतिले ओतप्रोत भएको बस्ती हो। यहाँको धर्म, संस्कृति र दैनिकी एकअर्कामा अन्तरसम्बन्धित छन्। प्रसिद्ध सपनतीर्थको मेला, चण्डेश्वरी मन्दिरको धार्मिक महत्व, खड्ग जात्रा र कुमारी परम्परा जस्ता अभ्यासहरू यहाँका मानिसका धरोहर हुन्। प्रत्येक महिनाजसो आउने चाडपर्वले समुदायलाई एकजुट बनाउने र सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने काम गर्छ।

    यस्ता अमूल्य परम्पराहरूलाई अक्षुण्ण राख्ने मुख्य आधार भनेकै यहाँको गुठी प्रणाली हो। चाडपर्वको व्यवस्थापन, मन्दिरको संरक्षण, नयाँ पुस्तालाई परम्परागत बाजागाजा सिकाउनेदेखि देवी नाच र लाखे नाच सञ्चालन गर्नेसम्मका सम्पूर्ण कार्यहरू गुठीमार्फत नै व्यवस्थित रूपमा सञ्चालन हुँदै आएका छन्।

    स्वाद र खानपानको हिसाबले पनि टोखा निकै प्रख्यात छ। यहाँका रैथाने नेवारी परिकारहरूले सांस्कृतिक पहिचानलाई थप उचाइ दिएका छन्। यिनै मौलिक खानपान र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय सरकारले प्रत्येक शनिबार “सडक खाजा महोत्सव” समेत सञ्चालन गर्दै आएको छ। संस्कृति जोगाउने यो अभियानमा स्थानीय तहसँगै समुदाय पनि उत्तिकै सक्रिय छ। 'टोखा नेवाः गुठी' जस्ता संस्थाहरूले हराउँदै गएका संस्कार र परम्परालाई जोगाउन र नयाँ पुस्ता (युवाहरू) लाई यसमा आकर्षित गर्न निरन्तर प्रयास गरिरहेका छन्।

    सहरीकरण र आधुनिकताको तीव्र लहरबाट टोखा पनि अछूतो रहन सकेको छैन। यसको बढ्दो प्रभावले स्थानीय जीवनशैलीमा बिस्तारै परिवर्तन ल्याइरहेको छ। रैथाने पेसाहरू संकटमा पर्दै जानु र नयाँ पुस्ता आधुनिक रोजगारीतर्फ आकर्षित हुनुले चुनौती थपेको छ। बाहिरी क्षेत्रका मानिसहरूको आगमन र बसोबास बढेसँगै पुरानो बस्तीको भौतिक स्वरूप र साख पनि बदलिँदो क्रममा छ।

    आजको युवा पुस्ता दुईवटा दुनियाँको दोसाँधमा उभिएको छ एकातिर गौरवमय परम्परा जोगाउने चुनौती, अर्कोतिर आधुनिकतासँगै अघि बढ्ने चाहना। आफ्ना जराहरू नगुमाई कसरी अगाडि बढ्ने भन्ने द्वन्द्व र यसलाई सन्तुलनमा राख्ने प्रयासहरू अहिले जारी छन्।

    टोखा केवल एउटा भूगोल मात्र होइन, यो त एउटा जीवन्त जीवनशैली हो। चाकुको सुगन्धित मिठास, मौलिक बस्तीको बनावट, जात्रा र पर्वहरूको रंग, अनि समुदायको आत्मिक एकताले टोखालाई अद्वितीय बनाएको छ। बदलिँदो समयमा टोखाको यो जीवन्त परम्परा, अमूर्त कला र मौलिक संस्कृतिलाई भावी पुस्ताका लागिसमेत जोगाइराख्न स्थानीय सरकार, नागरिक समाज र सिंगो समुदायको निरन्तर हातेमालो र साझा प्रतिबद्धता आवश्यक देखिन्छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij