काठमाडौं। बिहानको मिरमिरे उज्यालोसँगै काठमाडौंका गल्लीहरू बिस्तारै ब्युँझिन थाल्छन्। सडक किनारमा चिया उम्लिन थाल्छ, पसलका सटरहरू आधा खुल्छन्, र त्यही भीडको बीचमा केही मानिसहरू आफ्नो दिनको पहिलो संघर्ष सुरु गरिसकेका हुन्छन्, ठेलागाडा धकेल्दै।

मानिसहरू व्यस्त छन्। कसैको कुरा कसैलाई सुन्ने फुर्सद छैन। मुख्यतः ठेलागाडा गुडिरहेका गल्लीहरूतिर। यहाँ अधिकांश मानिसहरू आफ्नो लागि भन्दा पनि अरूका लागि बाँचिरहेका हुन्छन्। कसैले छोराछोरीको पढाइ धान्नुपरेको छ, कसैले गाउँमा रहेका बुढाबुढीको औषधि जुटाउनुपरेको छ, त कसैले भाडा र हातमुख जोड्ने चिन्तामै दिन कटाइरहेको छ।


सबैले सटर किनेर व्यापार गर्न सक्दैनन्। धेरैका लागि ठेलागाडा नै जीवन धान्ने आधार बनेको छ। यिनै ठेलागाडाहरू बिहानीको मिरमिरेदेखि साँझको झिसमिसेसम्म सहरका गल्ली र सडकमा कुदिरहन्छन्। घाम, पानी, धुलो र ट्राफिकको हर्नबीच उनीहरूको दैनिकी चलिरहेको हुन्छ।


काठमाडौंका यी ठेलागाडाहरूले सहरलाई एउटा छुट्टै रङ र स्वाद दिएका छन्। कतै लसुन, प्याज र हरिया तरकारीका पोकाहरू बोकेर गल्ली–गल्ली रैथाने आवश्यकताहरू पूरा गरिरहेका हुन्छन्। कतै अमिलो–पिरो चटपटेको स्वादले सहरको तनावपूर्ण जिन्दगीलाई केहीबेर भए पनि भुलाइदिन्छ। कसैको गाडामा राताम्य स्याउ र सुन्तला चम्किरहेका हुन्छन्, त कसैको गाडामा फूलहरू फुलिरहेका हुन्छन्।
ठेलागाडा केवल व्यापारको माध्यम मात्र होइन, संघर्ष बोकेको एउटा सानो संसार पनि हो। एउटा गाडासँग कसैको सपना जोडिएको हुन्छ, कसैको परिवारको भविष्य, कसैको जीवन धान्ने अन्तिम आशा। दिनभर सडकमा कुद्दा उनीहरूले केवल सामान बेचिरहेका हुँदैनन्, आफ्नो श्रम, समय र जीवन नै बेचिरहेका हुन्छन्।


तर शहरले उनीहरूलाई सधैं सजिलै स्वीकारेको भने छैन। कहिले नगरपालिकाको डर, कहिले सडकको भीड, कहिले झरी, त कहिले ग्राहक नपाउने चिन्ता। यति हुँदाहुँदै पनि भोलिपल्ट बिहान उनीहरू फेरि त्यही गाडा धकेल्दै सडकमा निस्कन्छन्। किनकि जीवन रोकिँदैन।

सायद काठमाडौंलाई जीवन्त बनाइराख्ने शक्ति यिनै साधारण मानिसहरूमा लुकेको छ। संघर्ष र सुन्दरताको यही संगमले सहरलाई भित्रैदेखि गतिशील बनाइराखेको छ। ठेला व्यापारीहरू केवल सामान बेच्ने मानिस होइनन्, उनीहरू काठमाडौंको धड्कन हुन्, जसले सहरलाई हरेक दिन चलाइरहेका छन्।








