Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नेपालमै ह्विलचेयर बन्दै

नेपालमै ह्विलचेयर बन्दै

आइतबार, जेठ १० २०८३
आइतबार, जेठ १० २०८३
  • काठमाडौं। नेपालमा अझै पनि धेरै अपाङ्गता भएका व्यक्तिहरू आवश्यक सहायक सामग्रीको पहुँचबाट टाढा छन्। यही गम्भीर विषयलाई केन्द्रमा राख्दै बाल अपाङ्गता टेवा संस्थामा एक बृहत् विश्वव्यापी छलफल सम्पन्न भएकाे छ। (जुम मिटिङ)मार्फत भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, विशेषज्ञ, प्राध्यापक, विद्यार्थी र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता थियो।

    images

    कार्यक्रममा इन्जिनियर रामचन्द्र थापाले स्थानीय स्रोत साधनको प्रयोग गरी कम लागतमा गुणस्तरीय ह्विलचियर र कृत्रिम अङ्ग (Prosthetics) उत्पादन गर्ने सम्भावनाबारे विस्तृत जानकारी दिए। युनिभर्सिटी कलेज लन्डन (UCL) मा इन्जिनियरिङ र इन्टरनेसनल डेभलपमेन्ट अध्ययन गरेका थापा हाल 'ग्लोबल डिसेबिलिटी इनोभेसन हब'सँग आबद्ध छन्।

    उनका अनुसार यो हबले विगत ५–६ वर्षदेखि नेपालमा हात–खुट्टा गुमाएका व्यक्तिहरूका लागि ३ डी  प्रिन्टिङ जस्ता आधुनिक प्रविधि प्रयोग गरी स्थानीय स्तरमै सहायक सामग्री उत्पादन गर्ने 'एक्सन रिसर्च' गरिरहेको छ। समुदायबाट प्राप्त हुने प्रतिक्रियालाई आधार मानी यस्ता प्रविधिहरूलाई परिमार्जन गर्ने र प्राज्ञिक क्षेत्रमा समेत समावेश गर्ने कार्य भइरहेको छ। हाल काठमाडौँ विश्वविद्यालय, त्रिवि र सिडीसीए, बाल अपाङ्गता टेवा संस्था तथा सुन्दर ढोका जस्ता संस्थाहरू यस अभियानमा सहकार्य गरिरहेका छन्।

    अन्तर्राष्ट्रिय र स्थानीय निकायहरू मिलेर सहायक सामग्रीको दिगो विकास गर्न फ्रन्टियर सिम्पोजियममार्फत छानिएका झन्डै १० वटा स्टार्टअपहरूलाई फन्डिङ समेत गरिएको छ। जसमध्ये नेपालका ६ वटा स्टार्टअपहरूले सहायक सामग्रीसँग सम्बन्धित सफ्टवेयर र भौतिक उत्पादनहरूमा काम गरिरहेका छन्।

    छलफलमा ह्विलचियर मर्मतका लागि 'मेकरको' नामको डिजिटल प्लेटफर्मको विकासबारे पनि प्रस्तुति भयो। युसीएलका दुई विद्यार्थीले तयार पारेको यो प्लेटफर्मले प्रयोगकर्ताहरूलाई आफ्नो नजिकको मर्मत केन्द्र र सेवा प्रदायक सजिलै खोज्न मद्दत गर्नेछ। यसलाई नेपाली वातावरण र प्रयोगकर्ताको आवश्यकता सुहाउँदो बनाउन विशेष ध्यान दिइएको छ।

    ह्विलचियर उत्पादन मात्र नभई यसको मर्मतका लागि चाहिने पार्टपुर्जाहरू स्थानीय स्तरमै उत्पादन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । विश्वकै उत्कृष्ट ह्विलचियर उत्पादन गर्ने 'मोटिभेसन इन्डिया' र 'मोटिभेसन युके'का विशेषज्ञहरूले पनि नेपालमा दिगो ह्विलचियर प्रणाली विकास गर्न आफ्नो अनुभव साटेका थिए।

    हाल नेपालका सातै वटा प्रदेशमा ह्विलचियर मर्मत र सम्भार गर्ने हबहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ, जसलाई अपाङ्गता भएका व्यक्तिहरू स्वयंले सञ्चालन गर्नेछन्। इन्जिनियर थापाका अनुसार सहायक सामग्री उपलब्ध गराउनु र मर्मत सेवा दिनु राज्यको दायित्व मात्र नभई अन्तर्राष्ट्रिय महासन्धिप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्व पनि हो।

    छलफलमा सहायक सामग्रीले व्यक्तिको जीवनमा ल्याउने परिवर्तनका उदाहरणहरू पनि प्रस्तुत गरिएका थिए। हात र खुट्टाको पूर्ण विकास नभएकी एक बालिका, जसलाई पहिले उनकी आमाले पिठ्युँमा बोकेर विद्यालय पुर्‍याउनुपर्थ्यो, सहायक सामग्रीको प्रयोगपछि अहिले उनी आफैँ विद्यालय जान्छिन्। उनी आफ्नो परिवारको व्यवसायमा सघाउनुका साथै भाइलाई समेत डोर्‍याएर विद्यालय लैजान सक्ने भएकी छिन्।

    तथ्याङ्क अनुसार सन् २०५० सम्ममा विश्वका साढे २ अर्ब मानिसले सहायक सामग्री प्रयोग गर्ने अनुमान छ। तर, अझै पनि ९० प्रतिशत मानिस यस्ता सामग्रीको पहुँच बाहिर छन्। नेपालमा सडक दुर्घटना, आगलागी र अन्य कारणले अङ्गभङ्ग हुनेको संख्या बढिरहेको सन्दर्भमा सस्तो र गुणस्तरीय सामग्रीको माग अत्यधिक छ।

    कार्यक्रममा युनिसेफ, गोर्खा वेल्फेयर ट्रस्ट, करुणा फाउन्डेसन, स्वास्थ्य मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, पोखराका सीआइएल र आइएनएफ जस्ता संस्थाहरूको सहभागिता थियो। सबै सहभागीहरूले सहायक सामग्रीको पहुँच बढाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij