काठमाडौं। 'बालिका दुलही होइनन्' राष्ट्रिय सञ्जाल नेपाल, 'हौसला नेपाल' तथा बाल अधिकारको क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता एवं सरोकारवालाहरूले राष्ट्रिय बाल अधिकार परिषद्को भविष्य र वर्तमान अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। हालै आयोजित एक विशेष छलफल कार्यक्रममार्फत उनीहरूले परिषद्को संरचनालाई थप बलियो बनाउनुपर्ने माग गरेका हुन्।
विज्ञप्तिमा नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हक र अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएता पनि व्यवहारमा अझै पनि धेरै बालबालिकाहरू हिंसा, शोषण, बालविवाह र सडक जीवनको भोग्न बाध्य भएको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा बाल अधिकारको संरक्षण, समन्वय र सहजिकरणका लागि राष्ट्रिय बाल अधिकार परिषद्ले एक विशिष्टीकृत निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूको ठहर छ।
परिषद्ले देशैभरि बाल हेल्पलाइन (१०९८) सञ्चालन, हराएका तथा बेवारिसे बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलन जस्ता मानवीय कार्यहरू गर्दै आएको छ। यसका साथै बालगृहहरूको नियमित अनुगमन, हिंसामा परेका बालबालिकाको संरक्षण, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना जस्ता संवेदनशील कार्यमा परिषद्को भूमिका उल्लेखनीय रहेको विज्ञप्तिमा उल्लेख छ। 'बालविवाह मुक्त नेपाल, बालश्रम मुक्त नेपाल र सडक बालबालिका मुक्त नेपाल जस्ता राष्ट्रिय अभियानहरूलाई सफल बनाउन परिषद्ले सङ्घ, प्रदेश र स्थानीय तहबीच पुलको रूपमा प्रभावकारी समन्वय गर्दै आएको छ।'
'परिषद्मा नीतिगत, संरचनागत तथा कार्यगत सुधार आवश्यक रहेको कुरामा दुईमत छैन। तर, कुनै स्पष्ट वैकल्पिक संरचना, ठोस जिम्मेवारी र भरपर्दो समन्वय संयन्त्र तयार नगरी यस निकायलाई कमजोर बनाउने वा खारेज गर्नेतर्फ सोचिएमा, त्यो बाल अधिकार संरक्षणको दृष्टिले अत्यन्तै जोखिमपूर्ण र आत्मघाती हुन सक्छ।'
बाल अधिकारसम्बन्धी नीति र कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउन परिषद्को भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसलाई थप सक्षम, सक्रिय र साधन-स्रोत सम्पन्न समन्वयकारी निकायका रूपमा विकास गर्न, बाल सहायता प्रणाली तथा संरक्षण सञ्जालबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।
सरोकारवालाहरूले बालबालिकाको समग्र अधिकार सुनिश्चित गर्न दीर्घकालीन नीति, स्पष्ट कार्यान्वयन संरचना र प्रभावकारी अनुगमन प्रणाली निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बालबालिकाको संरक्षणलाई राज्यको प्राथमिक दायित्वका रूपमा लिई तत्काल सकारात्मक कदम चाल्न सरकारसँग जोडदार माग गरिएको छ। परिषद् तथा आबद्ध सङ्घसंस्थाका प्रतिनिधिहरूले आगामी दिनमा अझ सशक्त समन्वय र सहकार्यका साथ बाल अधिकार रक्षाका लागि साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


