Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

माइतिघरमै किन हुन्छ आन्दोलन?

माइतिघरमै किन हुन्छ आन्दोलन?

बिहीबार , जेठ ७ २०८३
बिहीबार , जेठ ७ २०८३
  • काठमाडौं। माइतीघर मण्डलाको नाम कसरी रहन गयो भन्ने तथ्य निकै रोचक छ। वि.सं. २०२३ सालमा नेपालको पहिलो व्यावसायिक चलचित्र 'माइतीघर' को निर्माण भयो। सो चलचित्रको सुटिङका लागि यो क्षेत्रमा रहेको एक विशाल भवनलाई 'प्रोडक्सन अफिस' बनाइएको थियो। चलचित्र यति चर्चित भयो कि स्थानीय बासिन्दा र बटुवाहरूले उक्त भवनलाई नै 'माइतीघर' भन्न थाले। पछि त्यो भवन हटे पनि चोकको नाम भने सधैँका लागि 'माइतीघर' नै रहन गयो। आज हामीले देख्ने गरेको मण्डलाको संरचना भने सन् २००२ (वि.सं. २०५८) मा निर्माण गरिएको हो। काठमाडौंमा आयोजित ११औँ सार्क शिखर सम्मेलनका क्रममा सहरको सौन्दर्य बढाउन यसलाई बौद्ध दर्शनको 'मण्डला' आकृतिमा तयार पारिएको थियो।

    images

    https://youtu.be/rDsNg5Z5Miw

    यही मण्डला आज भिआइपीदेखि भुइँमान्छेसम्मका आवाज एउटै मञ्चमा उभिने थलो बनेको छ। आज हामी त्यही चोकको कथा लेख्दै छाै, जहाँ राज्यले नसुनेका आवाजहरू जम्मा हुन्छन्। त्यो ठाउँ, जहाँ चिच्याहट धेरै छन्, तर सुन्ने कान अझै कम छन्। व्यस्त समयमा यहाँ सडकभरि गाडीको लामो लाइन हुन्छ, हर्नको कोलाहल उस्तै हुन्छ, मानिसहरूको हतार पनि उस्तै। काठमाडौंको यही व्यस्तताबीच माइतीघर मण्डला दिनहुँ अनगिन्ती आवाजहरूको साक्षी बन्छ। यहाँ कसैले प्लेकार्ड बोकेर आफ्नो अधिकार मागिरहेको हुन्छ, कसैले माइक समातेर नारा लगाइरहेको हुन्छ। कोही चुपचाप सडक किनारमा धर्ना बसेको देखिन्छ, त कोही आँसु बगाउँदै आफ्ना पीडा पोखिरहेको हुन्छ। कसैले चिच्याएर आक्रोश व्यक्त गरिरहेको हुन्छ भने कसैले मुस्कानभित्रै आशा लुकाइरहेको हुन्छ। यी सबै आवाज माइतीघरले निःशब्द सुन्दै आएको छ।

    teacher-aandolan.jpg

    अब त माइतीघरमा आन्दोलन देखिनु होइन, नदेखिनु नै अस्वाभाविक लाग्न थालेको छ। आखिर किन आन्दोलनका लागि बारम्बार यही ठाउँ रोजिन्छ? यसको उत्तर माइतीघरको इतिहास र यसको रणनीतिक अवस्थितिमा लुकेको छ। यसको उत्तरमा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार छ भने दक्षिणमा सर्वोच्च अदालत अवस्थित छ। सत्ता र न्यायका यी दुई ठूला केन्द्रको बीचमा रहेकाले नै यो ठाउँ आफ्नो आवाज सुनाउन चाहनेहरूका लागि सबैभन्दा प्रभावकारी मानिन्छ। २०४६ सालको जनआन्दोलनदेखि पछिल्ला विभिन्न विद्रोह र आन्दोलनसम्म हजारौँ पाइला यही सडकमा गुन्जिए। लोकतन्त्रका नारा यहीँ उठे, व्यवस्थाविरुद्धको आक्रोश यहीँ पोखियो। धेरैले यही सडकमा संघर्ष गरे, कतिले सहादत पनि पाए। आन्दोलनकारीहरूले बिस्तारै बुझ्न थाले — सिंहदरबार नजिक छ, संसद नजिक छ, र मिडिया पनि यहीँ आइपुग्छ। त्यसपछि माइतीघर आवाज सुनाउने सबैभन्दा बलियो थलो बन्यो।

    18482efa-54ba-4b87-be53-4df16b3e410f.jpg

    अहिले कुनै समूह आन्दोलनमा उत्रियो भने माइतीघर पुग्नैपर्छ भन्ने मानसिकता जस्तै बनेको छ। यहाँ शिक्षक उभिएका छन्, डाक्टर उभिएका छन्, सहकारी पीडित उभिएका छन्। किसान, विद्यार्थी, कर्मचारीदेखि अभियन्तासम्म कुनै न कुनै दिन यही सडकमा आफ्ना माग बोकेर देखिन्छन्। माइतीघरको अर्को विशेषता पनि छ। यहाँ देशको मनोभाव देखिन्छ। देश खुसी हुँदा उत्सव यहीँ मनाइन्छ, देश आक्रोशित हुँदा विरोध यहीँ चर्किन्छ। कहिलेकाहीँ एउटै दिन फरक–फरक माग बोकेका समूह एउटै सडकमा भेटिन्छन्। कतै न्यायको नारा घन्किरहेको हुन्छ, कतै अधिकारको आवाज उठिरहेको हुन्छ।

    Teachersprotest_20230920131235.jpg

    माइतीघर अब चोक मात्र होइन, यो जनभावनाको प्रतीक हो। तर अर्को कटु सत्य पनि छ। माइतीघरमा भीड बढ्नु भनेको राज्यप्रति असन्तुष्टि बढ्नु हो। जब कार्यालयका ढोका बन्दजस्ता लाग्छन्, तब सडक खुला हुन्छ। सायद त्यसैले माइतीघर मण्डलामा हरेक दिन नयाँ अनुहार आउँछन्, नयाँ प्लेकार्ड आउँछन्, नयाँ नारा उठ्छन्। तर बारम्बार उठ्ने प्रश्न भने अझै उही छ — हाम्रो आवाज सत्तासम्म कहिले पुग्छ?

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij