ललितपुर। संघीय राजधानी काठमाडौंबाट करिब ५० किलोमिटर मात्र टाढा भए पनि विकास र पूर्वाधारका हिसाबले ललितपुरको महांकाल गाउँपालिकालाई 'दोस्रो कर्णाली' का रूपमा चिनिन्छ। विकट मानिएको यही क्षेत्रलाई आफ्नो परिकल्पना र अनवरत प्रयासका माध्यमबाट अँध्यारोबाट उज्यालो तर्फ डोर्याउन ७० वर्षीय केशवप्रसाद घिमिरेले महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
२०१७ सालमा साविकको चन्दनपुरमा जन्मिएका घिमिरेलाई स्थानीयबासीले आदरपूर्वक 'प्रभु' भनेर चिन्ने गर्छन्। औपचारिक शिक्षा हासिल नगरेका उनले केवल आफ्नो परिकल्पना र व्यावहारिक ज्ञानका आधारमा बगिरहेको पानीबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाएका हुन्।
घिमिरेले वि.सं. २०४५ सालमा चन्दनपुरमा आफ्नै प्रयासमा एउटा सानो माइक्रो हाइड्रो (लघु जलविद्युत्) निर्माण गरेका थिए। पहाडी भेगमा पनि पानीबाट बिजुली निकाल्न सकिन्छ भन्ने उदाहरण पेस गर्दै उनले त्यतिबेलै १८ देखि २० घरधुरीमा बत्ती पुर्याएका थिए। त्यसका साथै पानीकै शक्तिबाट मेसिन राखेर धान कुट्ने ढिंकी र मिलको समेत व्यवस्था गरेका थिए।
वि.सं. २०४८ सालमा उनी महांकाल सरेपछि पनि यो अभियान रोकिएन। घिमिरे भन्छन्, 'मैले सानो २०४५ सालमा एउटा सानो माइको हाइड्रो बनाएर १८-२० घरलाई चाहिँ नि लाइन डिस्ट्रिबुसन गर्या थिएँ। यो पहाडी बेल्टमा बिजुली हुन्छ भनेर त्यहाँ देखाएको र ढिंकी कुट्ने, मेसिन राखेर धान कुट्ने सबै त्यहाँ गरिसकेपछि ४८ सालमा म यहाँ आएको हुँ।'
महांकालमा बिजुली नभएको बेला वि.सं. २०५१ साल असार ६ गते उनले २० किलोवाटको पावर हाउसबाट पहिलोपटक बिजुली बालेर १५४ घरधुरीलाई वितरण गरेका थिए। घिमिरे स्मरण गर्छन्, 'लगभग १८ वर्ष मैले डिस्ट्रिबुसन गरेँ, अनि त्यसपछि चाहिँ राष्ट्रिय ग्रिड लाइन आयो।'
त्यतिबेला करिब २३–२४ लाख रुपैयाँको व्यक्तिगत खर्चमा सुरु गरिएको उक्त लघु जलविद्युत् क्षेत्रमा पछि राष्ट्रिय प्रसारण लाइन (ग्रिड) जोडिएपछि घिमिरेले आफ्नो सानो बिजुलीलाई पनि राष्ट्रिय ग्रिडमै जोड्ने नीति लिएका थिए। करिब चार महिनासम्म उनले ग्रिडमा लाइन पठाए पनि तत्कालीन समयमा साना जलविद्युत्लाई ग्रिडमा जोडिराख्ने सहज प्रणाली नहुँदा केही प्राविधिक कठिनाइ भने झेल्नुपर्यो।
याे पनि हेरम है।
https://youtu.be/C3iph6Aguv0?t=3
एक कक्षा पनि औपचारिक अध्ययन नगरेका घिमिरे वर्तमान शिक्षा प्रणालीमापि व्यावहारिक सुधारको आवश्यकता औंल्याउँछन्। हाम्रो शिक्षा प्रणाली किताबमा मात्र सीमित भएको र व्यावहारिक नहुँदा बेरोजगारी बढेको उनको बुझाइ छ।
'म पढेर लेख्या होइन, म कल्पनामा लाग्या हो। तर कल्पनामा लागे पनि मैले यो काम चाहिँ अब साकारै गरेँ भन्नुपर्छ। किनभने म अब ५१ देखि आज ८० हुँदाखेरि पनि म यही काम गरिराखेको छु,' घिमिरेले आफ्नो अनुभव साट्दै भने, 'मेकानिकल चाहिँ म सबै अल टु अल नै जान्दछु, इलेक्ट्रिकल चाहिँ म अलिकति नपढेको हुनाले मलाई त्यति आउँदैन।'
घिमिरेको यही सुरुवाती कदमकै जगमा पछि गाउँ-गाउँमा बिजुलीका लागि सरकारी बजेट समेत आउन थाल्यो। अहिले पनि गाउँको समग्र विद्युत् व्यवस्थापन र प्राविधिक हेरचाहको मुख्य जिम्मेवारी उनकै काँधमा छ। राजधानी नजिकै रहेकाले यस लघु जलविद्युत् क्षेत्रलाई भोलिका दिनमा विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि एउटा 'रिसर्च सेन्टर' का रूपमा विकास गर्ने उनको योजना छ। यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र सरोकारवाला निकायबाट केही बजेट विनियोजन भई काम अगाडि बढेको उनले जानकारी दिए।
जलविद्युत् क्षेत्रमा मात्र नभई ऐतिहासिक एवं धार्मिक क्षेत्र 'वैतरणी धाम' निर्माण र संरक्षणमा पनि घिमिरेको ठुलो योगदान रहेको छ। वेद र पुराणहरूमा उल्लेख भए अनुसार यस क्षेत्रमा तीनवटा खोलाको संगम रहेको छ, जसलाई स्थानीय भाषामा धामी खोला, मसान खोला र खोला भन्ने गरिए पनि पौराणिक ग्रन्थहरूमा यिनलाई क्रमशः घडघडा, कालमोचन र वैतरणी नदीका रूपमा व्याख्या गरिएको छ।
यहाँ ऐतिहासिक कालेश्वर महादेवको मन्दिर समेत रहेको छ। घिमिरेका अनुसार मुलुकभर रहेका ६४ वटा स्वयम् उत्पत्ति भएका लिङ्गहरूमध्ये कालेश्वर महादेव पनि एक हुन्। फुल्चोकीकै उचाइ बराबरमा रहेको यस धार्मिक क्षेत्रबाट खुला मौसममा तराईका फाँटदेखि मनोरम हिमालहरू स्पष्ट देखिन्छन्। हाल यस क्षेत्रको प्रचारप्रसारका कारण आन्तरिक पर्यटक र दर्शनार्थीहरूको उपस्थिति बढ्दै गएको छ।
तर, पछिल्लो समय प्राकृतिक बहाव र खोलाको सिमाना मिचेर गरिने विकास निर्माणप्रति घिमिरे चिन्ता व्यक्त गर्छन्। नापीमा २० मिटर चौडाइ रहेको खोलाको प्राकृतिक क्षेत्रलाई भौतिक निर्माणका नाममा साँघुरो पार्न नहुने उनको तर्क छ।


