ललितपुर। काठमाडौं नजिकै भए पनि विकासका आधारभूत पूर्वाधारबाट अझै टाढा रहेको क्षेत्र हो ललितपुरको महाँकाल गाउँपालिका। प्राकृतिक सौन्दर्य, कृषि तथा पशुपालनको उच्च सम्भावना बोकेको यो गाउँपालिकामा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र विपद् व्यवस्थापन जस्ता समस्या अझै उस्तै छन्। विशेषगरी बाढी–पहिरो, अव्यवस्थित सडक र बसाइँसराइका कारण यहाँका स्थानीयवासीले वर्षौंदेखि कठिन जीवन बिताइरहेका छन्।
स्थानीयहरूका अनुसार महाँकाल गाउँपालिकाको मुख्य समस्या सडक नै हो। ‘बर्खा लागेपछि उत्पादन भएको दूध र तरकारी काठमाडौं लैजान सकिँदैन, बाटो बन्द भइदिन्छ अनि किसानको सपना चकनाचूर हुन्छ,’ एक स्थानीयले बताए।
स्थानीय भन्छन्, ‘विपद्ले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि ठूलो क्षति पुर्याएको छ। वैतरणी धाम, कालेश्वर मन्दिर र झरनाहरूमा धेरै मानिस आउँथे। धाम बगाएपछि यहाँको व्यापार पनि चल्न छाड्यो।’ बाढीले घाटसमेत बगाएपछि स्थानीयहरू झन् समस्यामा परेका छन्। ‘अब मान्छे पोल्नलाई पनि कठिन छ यहाँ। पानी पर्यो भने शव जलाएर पनि नसक्दै भाग्नुपर्छ।’
उनीहरू भन्छन्, बाढी–पहिरोले वर्षेनी जनधनको क्षति पुर्याउँदै आएको छ। धेरै परिवार अझै राहतबिना बस्न बाध्य छन्। ‘पहिलेको बाढीले घर, खेत सबै बगायो। ज्यान जोगाउनु नै ठूलो कुरा भयो।’ शिक्षाको अवस्था पनि कमजोर रहेको स्थानीयको भनाइ छ। ‘विद्यालय त छन्, तर गुणस्तरीय शिक्षा छैन। राम्रो पढाइका लागि बच्चालाई काठमाडौं पठाउनुपर्छ।’ शिक्षाको कुरा आएपछि हामीले स्वास्थ्य सम्बन्धी पनि बुझ्यौँ। उनीहरू भन्छन्, ‘बिरामी हुँदा सिटामोलसमेत पाइँदैन। हस्पिटल त बनेको छ, तर डाक्टर बस्दैनन्। बिरामी परे काठमाडौँ लैजानुपर्छ, तर बाटोको अवस्था जोखिमपूर्ण छ।’
यहाँ कृषि र पशुपालनको राम्रो सम्भावना भए पनि सडककै कारण किसान समस्यामा छन्। ‘यदि बाटो राम्रो भइदियो भने १० वटा बाख्रा पाल्नेले २० वटा पाल्न सक्छ। दूध, तरकारी काठमाडौंसम्म सहजै पुर्याउन सकिन्छ,’ एक कृषकले बताए।
स्थानीयहरूका अनुसार बसाइँसराइ तीव्र बन्दै गएको छ। ‘शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले गाउँ रित्तिँदै गएको छ। नेताहरू चुनावमा मात्रै आउँछन्, आश्वासन दिन्छन्, जितेपछि फर्केर हेर्दैनन्।’ महाँकाल क्षेत्रमा पर्यटनको पनि राम्रो सम्भावना रहेको स्थानीय बताउँछन्। ‘बाटो राम्रो भयो भने यहाँका मन्दिर, झरना र प्राकृतिक सौन्दर्य हेर्न पर्यटक आउँछन्।’ तामाङ समुदायको संस्कृति संरक्षणमा भने पछिल्लो समय युवापुस्ताको चासो बढ्न थालेको स्थानीयको अनुभव छ। ‘पहिले हराउँदै गएको लोछार संस्कृति अहिले फेरि जगेर्ना गर्ने प्रयास भइरहेको छ।’
सडक, स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनमा सरकारले दीर्घकालीन योजना बनाएर काम नगरेसम्म महाँकालको अवस्था बदलिनै छैन। ‘केन्द्रको आँखा यहाँ परेको छैन। बजेट आउँछ, तर काम पूरा हुँदैन।’


