काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय देखाएका गतिविधि र कार्यशैलीलाई लिएर राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म विभिन्न टिका-टिप्पणी सुरु भएका छन्। पछिल्लो समय प्रतिपक्षी दलहरू मात्र नभई शाहकै समर्थक र युवा वृत्तभित्र पनि बिस्तारै निराशा र असहजता देखिन थालेको विश्लेषण गर्न थालिएको छ।
परम्परागत राजनीतिक विरासत वा दलगत सङ्गठनभन्दा बाहिरबाट आएका शाहप्रति नागरिकको समर्थन पुरानो राजनीतिक शैलीप्रतिको वितृष्णा र नयाँ आशाका कारण निर्माण भएको थियो।काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले देखाएको आक्रामक शैली, तत्काल निर्णय गर्ने क्षमता र प्रणाली (सिस्टम) सँग नझुक्ने छविका कारण लाखौँ युवा उनीप्रति आकर्षित भएका थिए। पुराना अनुहार र शैलीबाट दिक्क भएको पुस्ताले उनलाई देशकै नेतृत्व गर्न सक्ने बलियो विकल्पका रूपमा हेरेका थिए।
तथापि, स्थानीय तहको नेतृत्व र सिंहदरबारको कार्यकारी प्रमुख (सत्ता) सम्हाल्दाको जिम्मेवारी फरक हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। राज्य सञ्चालनका लागि केवल विद्रोही छवि र लोकप्रिय निर्णय मात्र पर्याप्त हुँदैन। यसका लागि धैर्यता, संवाद, जवाफदेहिता र संस्थागत मर्यादाप्रतिको सम्मान पनि उत्तिकै आवश्यक हुने बहस यतिबेला सञ्चारमाध्यम र नागरिक स्तरमा उठ्न थालेको छ।
पछिल्ला केही घटनाहरूले यो बहसलाई थप सतहमा ल्याइदिएका छन्। संसद्मा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिनु पहिलो घटना थियो। त्यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन तय गरिएको समयमा प्रधानमन्त्री संसद्मा उपस्थित भएनन्। प्रधानमन्त्रीको अनुपस्थितिकै कारण सङ्घीय संसद्को बैठक पटक-पटक स्थगित हुनुपर्ने अवस्था समेत सिर्जना भयो।
परिवर्तनको नारासहित आएको नेतृत्वबाट नागरिकले पुराना नेताहरूभन्दा फरक, अझ बढी जिम्मेवार, उत्तरदायी र परिपक्व राजनीतिक व्यवहारको अपेक्षा गरेका थिए। तर, संसद्मा देखिएका पछिल्ला दृश्यहरूले उनका समर्थकहरूमाझ समेत असहज बहस र संशय पैदा गराएको छ।
लोकतन्त्रमा विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग्नु वा विरोध गर्नुलाई नियमित राजनीतिक अभ्यासका रूपमा लिइन्छ। तर, राजनीतिक विश्लेषकहरूका अनुसार शाहका लागि वास्तविक चुनौती प्रतिपक्षभन्दा पनि आफ्नै समर्थक वर्गबाट उठ्न थालेका प्रश्नहरू हुन्।
नाराभन्दा बढी भावना र भरोसाका कारण स्थापित भएको राजनीतिक शक्ति, व्यवहार र जिम्मेवारीमा चुक्दै गएमा बिस्तारै कमजोर बन्दै जाने देखिन्छ। आज पनि युवा पुस्ताको ठुलो हिस्साले उनलाई आशाको प्रतीक मानिरहेका छन्। त्यसैले, त्यो भरोसालाई जोगाइराख्न प्रधानमन्त्रीको उपस्थिति र कार्यशैली अझ बढी परिपक्व र संस्थागत मर्यादा अनुकूल हुन आवश्यक रहेको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ।


