Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

'आफ्नै मामाले बेचेका ती दिन...'

'आफ्नै मामाले बेचेका ती दिन...'

बिहीबार , वैशाख २४ २०८३
बिहीबार , वैशाख २४ २०८३
  • काठमाडौं। सन्तानका लागि संसारकै सुरक्षित स्थान आमाको काख अनि भरोसाको खम्बा बुबा हुन्छन् । तर, काभ्रेकी सीता चौलागाईंको भाग्यमा न त्यो काख लेखिएको थियो न त त्यो भरोसा नै। ३ वर्षको कलिलो उमेरमा आमाको साथ गुमाएकी सीताका लागि बुबा हुनु र नहुनुको कुनै अर्थ रहेन। बुबाको ममता रक्सीमा डुबिसकेको थियो।

    images

    मामाघरमा हुर्किएकी १६ वर्षीया सीताले जब पहिलो पटक काठमाडौं देख्न पाउने भइन्, उनलाई कहिले पनि लागेको थिएन कि सायद उनको जीवनले नयाँ मोड लिनेछ। तर, उनलाई के थाहा, उनकै रक्षक भनिएका मामाले उनको भविष्यको मोलतोल गरिसकेका थिए।

    मामाघरमा आफ्ना कहलिएका बिच हुर्किएकी १६ वर्षीया सीताले काठमाडौं टेकेकै दिन उनलाई दुई लाख रुपैयाँमा बेचियो। उनको सिउँदो त रङ्गियो, तर मनभित्र भने खुसी होइन, एउटा गहिरो त्रास र शून्यता छाएको थियो। जब मामाले, 'मैले तँलाई दुई लाखमा बेचिसकेँ, अब यता फर्किएर नआइज' भने, तब सीताका लागि खुट्टा मुनिको जमिन नै भासिए जस्तो भयो।

    बेचिएको पीडा लुकाएर जब उनले श्रीमानको घर सम्हाल्न खोजिन्, तब नियतिले पनि उनलाई साथ दिएन। श्रीमानले अर्को विवाह गरे। एउटा विवाहित नारीका लागि माइतीपछिको सुरक्षित ओत लाग्ने ठाउँ नै उनको श्रीमानको घर र संरक्षक नै श्रीमान् हुन्छन्। तर, सीताका लागि भने त्यही आड भरोसाको खम्बा नै ढल्न पुग्यो। सीताले न श्रीमानको साथ पाइन् न त घरको ओत नै। अन्ततः बाध्यतावश सिता आफ्ना दुई सन्तानको हात समातेर थापाथलीको सुकुम्बासी बस्तीका अस्थायी टहरामा ओत लाग्न पुगिन्। तर दुर्भाग्यवश वि.सं २०७२ को त्यो विनाशकारी भूकम्पले उनको माटोको आवास मात्र भत्काएन, बाँच्ने आधार र भविष्यका सपनाहरू समेत भत्काउन पुग्यो।

    अहिले सीता सुन्धारा र ललितपुरका सडकहरूमा भौँतारिइरहेकी भेटिन्छिन्। उनको हातमा नागरिकताको एउटा च्यातिएको फोटोकपी छ, जुन उनको नेपाली हुनुको एकमात्र आधार हो। तर, राज्यको सरकारी अभिलेखमा त्यो फोटोकपीको कुनै कानुनी मान्यता छैन। सुकुम्बासीको सूचीमा नाम दर्ता गर्न जाँदा उनलाई सक्कल नागरिकता मागियो। सक्कल प्रमाण नहुँदा उनी आफ्नै देशको भूगोलभित्र अनागरिक जस्तै बनेकी छिन्। आज उनीसँग न टेक्ने जमिन छ न त आफ्नो परिचय दिने ठोस कागजी प्रमाण नै।


    आजभोलि उनी सडकका चिसा पेटिहरुमा आफ्ना रात कटाउँछिन्। त्यही चिसोका करण उनको स्वास्थ्यमा समेत समस्या देखा पर्न थालेको छ। आफ्नो स्वास्थ्य उपचार गर्न भने उनी वीर अस्पताल जान्छिन्। उनी भन्छिन्,‘म त्यहाँ धेरै पहिले देखि उपचार गर्दै आएकाले मलाई त्यहाँ निःशुल्क उपचार गरिन्छ।‘ 

    भोको पेट भर्नका लागि कहिले अरूसामु हात फैलाउनुपर्छ त कहिले कसैको दयाको भर पर्नुपर्छ। उनी गहभरि हुदै भन्छिन्, 'मलाई थोरै खाना भए पुग्छ, तर कहिलेकाहीँ त्यो थोरै पनि पाइँदैन।' सीताका यी आँसु केवल एउटी व्यक्तिको वेदना होइन यो हाम्रो समाजको त्यो अँध्यारो पाटो हो जहाँ एउटी चेली आफ्नै आफन्तबाट बेचिन विवश छिन् र आफ्नै देशमा एउटा परिचय पत्रका लागि तड्पिनु परिरहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij