काठमाडाैं। भनिन्छ, मान्छेको परिचय उसको शरीरका अङ्गहरूले होइन, उसको कर्म र सीपले दिन्छ। तर सोलुखुम्बुकी निमामिङ्मा शेर्पाको हकमा भने यो परिचय पाउन निकै लामो र कष्टकर सङ्घर्ष गर्नुपर्यो। कहिले आँखाको धमिलोपनसँग त कहिले समाजको तिखो बोली र तिरस्कारसँग लड्दालड्दै उनको २० वर्ष काठमाडौंको एउटा संस्थामा बित्यो। आज उनी केवल एउटी सिलाइ गर्ने कामदार मात्र होइनन्, उनी त धेरैका लागि हिम्मतको अर्को नाम बनेकी छन्।
काठमाडौंको कपनस्थित बाल अपाङ्गता टेवा संस्थासँग निमामिङ्मा विगत २० वर्षदेखि आबद्ध छिन्। पछिल्लो १८ वर्षदेखि उनी सिलाई कटाईको काम गर्दै आएकी छन्। उनको यो यात्राको पछाडि एउटा यस्तो कथा छ, जसले आँसु र हाँसो दुवैलाई सँगै बोकेको छ।
उनको आँखामा सानैदेखि समस्या थियो। आँखाकै कारण उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन्। ६ कक्षासम्म त उनले गाउँकै विद्यालयमा पढिन्, तर त्योभन्दा माथिको शिक्षाका लागि अर्को गाउँ जानुपर्थ्यो। त्यहाँ पुग्न हिँडेर एक घण्टाभन्दा बढी लाग्थ्यो। कक्षा ६ सम्म पढ्दा पनि उनलाई विद्यालयमा धेरैले गिज्याउँथे। यस्तो गाह्रो परिस्थितिमा उनलाई सम्हाल्ने केही साथीहरू मात्रै थिए। विद्यालयमा शिक्षकहरूले सहयोग गरे पनि साथीभाइ र समाजले उनलाई कहिल्यै राम्रो नजरले हेरेन। समाजको त्यही नराम्रो दृष्टिकै कारण उनले विद्यालय जानै छोडिन्।
पढ्ने इच्छा हुँदाहुँदै पनि यसरी पढाइबाट वञ्चित हुनुपर्दाको पीडा एउटा साधारण मानिसले कहिल्यै बुझ्न सक्दैन। जब उनी एक वर्षकी थिइन्, उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर उनी धेरै सानो भएकाले डाक्टरले उपचार गर्न मिलेन भने। १२ वर्षको भएपछि ल्याउनु, त्यसपछि ठिक हुन्छ भनेका थिए, तर उनलाई अस्पताल लगिएन। जब उनी १५ वर्षकी भइन्, गाउँकै एक जना दाइले उपचारका लागि काठमाडौं ल्याए।
काठमाडौं आएपछि पनि उनको उपचार हुन सकेन। डाक्टरले विदेश लैजानुपर्छ भने। तर विदेश जान उनीसँग नागरिकता थिएन। दाइ नागरिकता बनाइदिन गाउँ जानुभयो, तर त्यहाँ उनको उमेर बढाइदिएछन्। उमेर नमिलेकै कारण उनले विदेश जान पाइनन्। अन्ततः उनी कपनस्थित संस्थामा बस्न थालिन्, जहाँ उनले सिलाई कटाईको काम सिकिन्।
संस्थामा आएपछि उनको जीवनको नयाँ अध्याय सुरु भयो। गाउँमा हातले चलाउने मेसिन मात्र देखेकी उनले यहाँ पहिलोपटक खुट्टाले चलाउने मेसिन देखिन्। सुरुमा काम सिक्न निकै गाह्रो भयो। आँखाको समस्याले गर्दा सियोमा धागो छिराउनै कठिन हुन्थ्यो, कहिलेकाहीँ त उनी रुन्थिन् पनि। यस्तो बेला उनलाई संस्थाका संस्थापक डेन्डी शेर्पा र शिक्षकहरूले धेरै हौसला दिए। उनीहरूकै साथले निमामिङ्माले हार नमानेर अघि बढ्ने साहस पाइन्।
अहिले पनि उनको आँखाको समस्या निको भएको छैन। यसले गर्दा सिलाई गर्दा समस्या त हुन्छ, तर उनी पछि हटेकी छैनन्। हिजो सामान्य काम गर्न नसक्ने उनी अहिले अर्डर लिने, नयाँ डिजाइन तयार गर्ने र अरूलाई सिकाउनेसम्मको काम गर्छिन्।
निमामिङ्मालाई जीवनमा शिक्षा र सीप दुवै महत्त्वपूर्ण लाग्छ। आँखाकै कारण पढ्न नपाएकोमा उनी अहिले पनि दुखी छिन्। उनी भन्छिन्, “समाजले जेसुकै भने पनि त्यो बेला पढ्न पाएको भए म आज फरक हुन्थेँ होला।” तर अहिले समय बदलिएको छ, उनले समाजको दृष्टिकोण पनि केही परिवर्तन भएको महसुस गरेकी छन्।
आज उनलाई धेरैले सम्मानका साथ हेर्छन्। निमामिङ्मा शेर्पाको जीवन आज एउटा उदाहरण बनेको छ संघर्ष, धैर्यता र सीपले कसरी जीवन बदल्न सकिन्छ भन्ने। उनी भन्छिन्, 'जीवनमा सीप सिक्नुपर्छ, यही सीपले नै हामीलाई अघि बढाउँछ।'


