Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

यस्तो छ नेपालीहरू विदेशबाट नफर्किनुको कारण

यस्तो छ नेपालीहरू विदेशबाट नफर्किनुको कारण

सोमबार, वैशाख २१ २०८३
सोमबार, वैशाख २१ २०८३
  • काठमाडौं। उपत्यकाको साँघुरिँदै गएको बस्तीलाई विगत ७० वर्षदेखि नियाल्दै आएका छन् प्रेम सागर श्रेष्ठ । उनका अनुसार काठमाडौंमा ७० वर्षकाे अन्तरालमा बस्ती भरिएर मानिस बस्ने ठाउँसमेत छैन। ‘त्यो बेला काठमाडौं यस्तो थिएन, सार्क सम्मेलनपछि मात्रै पिच सडक विस्तार भएका हुन्।’

    images

    समयसँगै सडकहरू फराकिला भए, साधनहरू बढे, र सहर भरियो। अहिले सहर मात्रै होइन समाज पनि फेरिएको छ। पहिलेका पुस्ताले आफ्ना सन्तानलाई आफ्नै आँचलमा राखेर भविष्य देख्थे, तर अहिले भने विदेश पठाउने होड चलेको छ। उनका छोराछोरीले पनि विदेश जाने सपना बुनेका थिए, तर उनले त्यो बाटो रोजेनन्। ‘विदेश गएपछि उतै रमाउँछन्, फर्कन मान्दैनन्, आफ्नै संस्कृति बिर्सिन्छन्, त्यसैले मैले पठाउन चाहिन।’

    उनका शब्दहरूमा एउटा बुबाको चिन्ता मात्र होइन, समयको पीडा पनि झल्किन्छ। दुःख गरेर हुर्काएका सन्तान बुढेसकालको सहारा बन्नुपर्नेमा, आज तिनै सन्तान पराइ देशमा हराए। महँगी, बेरोजगारी र अवसरको खोजीले देश रित्तिँदै गएको छ। ‘अवसर नेपालमै पनि छन्, बाहिरबाट आएकाहरूले यहाँ कमाउन सक्छन् भने हामीले किन नसक्ने?’ उनको नजरमा समस्या केवल युवामा होइन, राज्यको सोच र नीतिमा पनि छ। ‘सरकारले नै युवा विदेश जाओस् भन्ने जस्तो देखिन्छ, अस्थिर राजनीति, कामको अभाव, र त्यसैबाट जन्मिने आन्दोलन यी सबैले देशलाई कमजोर बनाएको छ।’

    हाम्रो शिक्षा प्रणाली पनि केही त्रुटिहरू छन्। किताबको सीमित घेराभन्दा बाहिर निस्केर, कृषि र व्यावसायिक सीपमा जोड दिनुपर्ने उनको धारणा छ। ‘सानो काम भनेर हेप्ने बानीले पनि समस्या बढाएको छ, काम सानोठूलो हुँदैन भन्ने बुझ्नुपर्छ।’ उनको सोचाइ अरूको भन्दा केही मात्रामा फरक छ। जहाँ मानिसहरू आलोचना मात्रै गर्छन्। ‘बन्द भइसकेका उद्योगहरू पुनः सञ्चालन गर्ने, आधुनिक कृषि प्रणाली अपनाउने, र श्रमको सम्मान गर्ने—यी नै देश उकास्ने बाटो हुन्।’

    यति धेरै परिवर्तन देखेका प्रेम सागर अहिलेको सरकारप्रति भने आशावादी छन्। बागमती सफाइदेखि अव्यवस्थित बस्ती हटाउने कदमसम्मले उनलाई परिवर्तनको संकेत दिएको छ। ‘केही पाउन केही गुमाउनै पर्छ।’ ‘मैले आफ्ना छोराछोरीलाई बाहिर नपठाएकोमा खुसी छु। दुःख त छ, तर आफ्नै माटोको सुगन्धमा बाँच्नुको आनन्द बेग्लै हुन्छ।’ काठमाडौं बदलिएको छ, समय बदलिएको छ, तर प्रेम सागरको मनमा अझै उही पुरानो शहर बस्छ जहाँ माटोको गन्ध थियो, अपनत्व थियो, र जीवन सरल थियो।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij