काठमाडौं। सहरका अग्ला–अग्ला महलहरू जति चम्किला देखिन्छन्, त्यसको जगमा त्यति नै धेरै भूइँमान्छेहरूको रहर, आँसु र कथाहरू पुरिएका छन्। यो व्यस्त सहरमा कसैलाई एकअर्काको वास्ता छैन्। यहाँ सबै आफ्नै काममा व्यस्त छन्। टाढा–टाढाबाट आफ्ना सपना साकार पार्न मानिसहरू यहाँसम्म आइपुग्छन्। त्यसैले त उपत्यकालाई सपनाको सहर पनि भनिन्छ। तर के यहाँ सबैका सपना पूरा हुन्छन् त? त्यसको उत्तरका लागि तपाईंले आफैँलाई नियाल्नु काफी हुन्छ। आज हामी कुरा गर्दैछौँ ६४ वर्षीय सत्यबहादुर कार्कीको जीवनका उकाली–ओरालीबारे।
उनका अनुहारमा देखिएका रेखाहरू थकित देखिन्छन्, तर उनका आँखा भने अझै केही खोजिरहेका जस्ता लाग्छन्। उनलाई हेर्नासाथ लाग्छ उनीभित्र धेरै कथाहरूको भारी भरिएको छ। हामीले तिनै आँखालाई पढ्यौँ र उनीसँग कुराकानी गर्यौँ। के ज्यालामजदुरीको काम सहज होला त यो ६४ वर्षको उमेरमा पनि। सत्यबहादुर धेरै पहिले काठमाडौं छिरेका थिए उपचारका लागि। उपचारपछि पनि उनी अहिले अरूको घर बनाउने मजदुरी गर्दै आएका छन्। ६४ वर्षको यो उमेर, जुन बेला मानिसले आफ्ना नाति–नातिनीसँग खेल्दै आँगनको घाम तापिरहेका हुन्छन्, त्यही बेला सत्यबहादुर भने सिमेन्टको धुलो र इँटाको भारसँगै आफ्नो बुढेसकालको सहारा खोजिरहेका छन्।
रामेछापको माटोमा पसिना बगाउँदै उनले आफ्नो आधा जवानी बिताए। जुन सन्तानलाई उनले काँधमा राखेर संसार देखाए, तिनै सन्तानले आज उनलाई एक्लो बनाएका छन्। परम्परागत सोचअनुसार छोरालाई नै मुख्य सन्तानका रूपमा लिने चलन थियो। कार्कीले पनि छोरालाई नै आफ्नो सर्वस्व ठानेका थिए। हुन त उनकी छोरी पनि थिइन्, तर उनले छोरालाई नै आफ्नो सहारा मानेका थिए। तर आज अवस्था फरक छ। अहिले उनलाई छोरीले नै सहारा दिइरहेकी छन्। त्यसैले उनी भन्छन् ‘छोरा भन्दा छोरीलाई सानो ठानेँ, तर आज छोरीले नै मलाई सहारा दिएकी छ।’ यो उनको मात्र समस्या होइन; यस्ता धेरै आमाबुबाहरू भेटिन्छन्, जसले सन्तानबीच भेदभाव गर्दा अन्ततः पछुताउनुपरेको छ।
उनको रित्तो मनमा छोरीको मायाले एउटा सानो दियो बलिरहेको छ। साह्रो–गाह्रो पर्दा छोरीले नै उनलाई सम्हाल्छिन्। उनी भन्छन् ‘मेरी छाेरीले बुबा, अब विश्राम लिनुस्, कति दुःख गर्नुहुन्छ?’ तर स्वाभिमानी सत्यबहादुरलाई कसैको भार बनेर बाँच्नुभन्दा आफ्नै पौरखमा गल्नु बढी प्रिय लाग्छ। उनी भन्छन् ‘छोरा ठुलो होला र सुख देला भन्ने सोच्नु मेरो एउटा भ्रम मात्र रहेछ।’
जब कामको थकानले शरीर चल्नै छोड्छ, सत्यबहादुर प्रायः आफ्ना पुराना स्मृतिहरूमा हराउँछन्। जङ्गलको बाटो हुँदै विद्यालय जाँदाका ती लामा दिनहरू, साथीहरूसँगको रमाइलो र गुरुको आत्मीय डर ती सबै सम्झँदा उनी एकछिन भावुक हुन्छन्। वास्तवमा, हामी सबैलाई विगत सम्झँदा सधैँ प्रिय नै लाग्छ।
‘घरबाट पढ्न पठाउँथे, म भने बाटोमै खेल्न र रमाइलो गर्न अलमलिन्थेँ,’ उनी भन्छन्। ‘त्यो बेलाको बालहठ र रमाइलोले आज मलाई यहाँ ल्याएर उभ्याइदियो। यदि मैले त्यो बेला अक्षरको मर्म बुझेको भए, सायद आज यो उमेरमा सिमेन्टका बोरा र इँटाहरूसँग यसरी पौँठेजोरी खेल्नुपर्ने थिएन।’
आफन्तहरू उनलाई यो काम छोड्न सुझाव दिन्छन्, तर सत्यबहादुर ती सुझावहरूलाई एउटै फिक्का मुस्कानमा टारिदिन्छन्। उनलाई लाग्छ—मागेर पेट भर्नुभन्दा आफ्नै पसिनामा भिजेको रोटी खानुमा एउटा बेग्लै गौरव हुन्छ। उनी भन्छन् ‘मान्छेले जे काम गरे पनि त्यसमा आत्मसन्तुष्टि हुनुपर्छ। यो उमेरमा पनि म कसैको अगाडि हात नफैलाइ आफ्नै पौरखमा बाँचेको छु, मेरो लागि यही नै ठुलो कुरा हो।’
उनको जीवन दर्शन सरल तर मर्मस्पर्शी छ जीवनमा दुःखको नदी कहिल्यै सुक्दैन। एउटा भेल शान्त भयो भने अर्को छाल आइपुग्छ। त्यसैले किनारमा बसेर विलाप गर्नुभन्दा त्यही छालसँग खेल्न र रमाउन सिक्नु नै वास्तविक जीवन हो।
काठमाडौंका अग्ला भवनहरूको जग खन्ने सत्यबहादुर जस्ता हजारौँ भूइँमान्छेहरू छन्, जसको पसिनामा यो सहर ठडिएको छ। तर यो सहर उनीहरूकै कथामा बेखबर छ। ६४ वर्षको उमेरमा पनि स्वाभिमानको बाटो हिँडिरहेका सत्यबहादुर कार्की आजका ती तमाम मानिसहरूका लागि एउटा बलियो प्रेरणा हुन्, जो सानो दुःखमै पनि हार मान्न तयार हुन्छन्।


