काठमाडौं। काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीहरूमा यतिबेला सन्नाटा छाएकाे छ। बागमती किनाराका बस्तीहरू खाली गराउने सरकारी निर्णयसँगै डोजर चल्न थालेपछि दशकौँदेखि त्यहीँ पसिना बगाएका नागरिकहरूका सपना र ओत दुवै भताभुङ्ग भएका छन्। बस्तीमा देखिएको यो दृश्य केवल भौतिक संरचनाको विनाश मात्र होइन, हजारौँ परिवारको भविष्यप्रतिको चिन्ता र राज्यप्रतिको गहिरो आक्रोश पनि हो।
हामीले हटाउँदै गरिएका केही सुकुम्बासी बस्तीहरूमा पुगेर त्यहाँको वास्तविक अवस्था बुझयाेै।
बस्तीमा सुनिने सबैभन्दा ठुलो गुनासो राजनीतिक दलहरूको दोहोरो चरित्रप्रति छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि आफूहरूमाथि दमन भएको स्थानीयको आरोप छ।
'भोट माग्ने बेला नेताहरू झापासम्म पुगेर सुकुम्बासीको अधिकारका कुरा गर्नुहुन्थ्यो। तर आज सत्तामा पुगेपछि हामीलाई नेपाली नागरिक नै नभएको जस्तो व्यवहार गरिँदै छ। भोट हाल्ने समय फेरि पनि आउनेछ, त्यतिबेला हामीले के गर्ने भन्ने सोच्ने नै छौँ। राज्यले हामीलाई केवल चुनावको बेला मात्र सम्झिँदो रहेछ।'
शनिबार थपाथली र गैरीगाउँका केही बस्तीहरू भत्काइए। सरकारले विस्थापितहरूका लागि दशरथ रंगशालालाई 'होल्डिङ सेन्टर' बनाएको र पछि स्थायी आवासको व्यवस्था गर्ने दाबी गरेको छ। तर, बस्तीका बासिन्दाहरूलाई यो आश्वासनमा विश्वास छैन।
उनीहरू भन्छन्, 'यदि सरकारले हाम्रो हित चाहेको भए हामीलाई तयारीका लागि पर्याप्त समय दिइन्थ्यो। अचानक 'बस्ती छोड' भन्दै माइकिङ गरेर आतंक फैलाउनु कुन न्याय हो? हामीलाई ओत लाग्ने विकल्प नदिई सडकमा ल्याइयो।'
आफ्नो थातथलो जोगाउन स्थानीयहरू जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने बताउँछन्। 'हामी हिजो पनि आन्दोलनमै थियौँ र आज पनि छौँ। जनता भनेका राज्यका सन्तान हुन्, सरकारले अभिभावकको भूमिका निभाउनु पर्छ, दमनकारी होइन, सरकारले गोली प्रहार गरे पनि हामी डराउँदैनौँ, किनकि हाम्रो अस्तित्व नै संकटमा छ।'
बस्तीभित्रै पनि एउटा गम्भीर माग उठेको छ वास्तविक र नक्कली सुकुम्बासीको वर्गीकरण। स्थानीय भन्छन्, 'हामी चाहन्छौँ कि सरकारले पहिला वास्तविक सुकुम्बासीको छनोट गरोस्। के आधारमा बस्ती हटाइँदै छ? जसको कतै जमिन छैन, उसको व्यवस्थापन पहिले हुनुपर्छ। सबैलाई एउटै बास्केटमा राखेर डोजर चलाउनु न्यायपूर्ण छैन।'
राज्यले विकासको नाममा सुकुम्बासीका झुपडीहरू त भत्काएको छ, तर ती झुपडीभित्रका हजारौँ मानिसको आत्मसम्मान र बाँच्न पाउने अधिकारमाथि लागेको चोट निको हुन समय लाग्ने देखिन्छ।
समग्रमा, बस्तीको वर्तमान अवस्था र स्थानीयसँग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस्:


