Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'हामीले धेरै युवालाई विदेशिनबाट रोकेका छौँ।'

'हामीले धेरै युवालाई विदेशिनबाट रोकेका छौँ।'

बुधबार, वैशाख ९ २०८३
बुधबार, वैशाख ९ २०८३
  • काठकाडाैं। उपत्यकाका सडकहरूमा धेरै मानिसहरू फोहोर देख्‍नसाथ नाक थुन्छन् र भाग्छन्। तर, त्यही फोहोरको थुप्रोभित्र समाज सेवाको पाटो देख्ने मानिसहरू पनि छन्, जसले फोहोरमैला व्यवस्थापनलाई नै आफ्नो जीवनको उद्देश्य बनाएका छन्। तीमध्येका एक हुन् नारायण प्रसाद घिमिरे।

    images

    विराटनगरको एउटा सामान्य किसान परिवारमा जन्मिएका नारायणको बाल्यकाल सङ्घर्षमै बित्यो। आर्थिक अवस्था कमजोर भएकै कारण धेरै नेपाली युवाहरूले जस्तै उनले पनि आफ्नो पढाइलाई बीचमै रोक्नुपर्‍यो।

    उनी भन्छन्, 'पढ्न त पढियो, साधारण प्लस-टु सम्म मात्रै। त्यसपछि विराटनगर आएर ब्याचलर गर्दै थिएँ, तर गर्दै गर्दा मलाई लाग्यो अब सधैँ बुबाआमाले गरेको दुःख हेरेर मात्र बस्नु हुँदैन, आफ्नो जिन्दगी पनि यस्तै दुःखमै बिताउनु हुँदैन, एउटा केही न केही व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले म काठमाडौं छिरेँ।'

    काठमाडौं आएपछि उनले रोजगारीका अन्य बाटाहरू पनि नहेरेका होइनन्। तर, हिमालयन वातावरण संरक्षण संस्थाको फोहोरमैला व्यवस्थापनमा उनले एउटा फरक सम्भावना देखे। उनी भन्छन् 'यताउता अरु काम पनि हेरियो, तर फोहोरमैला व्यवस्थापनमा चाहिँ एउटा समाजको सेवा पनि गर्न मिल्ने र आफ्नो व्यक्तिगत गुजारा पनि चल्ने भएकाले यतै लागौँ न भन्ने सोच आयो। विदेश जानुभन्दा नेपालमै केही गरौँ भनेर म यतातिर जोडिएको हुँ।'

    विगत १६ वर्षदेखि निरन्तर फोहरमैला व्यवस्थापनमा सुपरभाइजरको रूपमा काम गरिरहेका नारायणका लागि यो यात्रा सहज थिएन। उनी शिक्षा र सीप दुवैलाई महत्त्वपूर्ण ठान्छन्। उनी भन्छन् 'मान्छेको जीवनमा शिक्षाले हरेक क्रियाकलाप अगाडि बढाउन सहयोग गर्छ। 

    आज उनको मुख्य जिम्मेवारी भनेको समाजमा जनचेतना फैलाउनु हो। पहिलेको तुलनामा अहिले मानिसको सोच फेरिएको उनी अनुभव गर्छन् 'आजभन्दा १०-१२ वर्षअघि फोहोरको अवस्था निकै विकराल थियो। जहाँ पायो त्यहीँ फ्यालिदिने र सम्झाउँदा पनि नटेर्ने चलन थियो। मान्छेहरूले फोहोरमा काम गर्ने मजदुरलाई जे गर्दा पनि हुन्छ, जसरी फाल्दा पनि हुन्छ भन्ने सोच्थे। हामीले ती सोचहरू परिवर्तन गराउँदै भन्यौँ फोहोरमैला क्षेत्रमा काम गर्ने मजदुर पनि तपाईँहरू जस्तै हुन्, उनीहरूको पनि जीवन छ, उनीहरूलाई सम्मान र प्रोत्साहित गरेर काम गराउनुपर्छ।'

    राज्यको सहयोगको पाटोमा भने उनको ठुलो गुनासो छ— 'स्थानीय सरकारले हामीलाई एउटा सेग्रिगेसन स्टेसन समेत उपलब्ध गराउन सकेको छैन। हामीले चलाइरहेको स्टेसनमा पनि स्थानीयको पटक-पटक अवरोध आइरहन्छ। हामीले उहाँहरूलाई— यो हजुरहरूकै फोहोर हो, यसलाई स्रोतमै कम गरेर पठाउँदा ल्याण्डफिल साइटको आयु पनि बढ्छ भनेर कन्भिन्स गरिरहेका छौँ।'

    नारायण घिमिरे यस पेशालाई गर्वका साथ हेर्छन् र सरकारले यसलाई अझै व्यवस्थित गरोस् भन्ने चाहन्छन्। उनी भन्छन् 'यो संस्थाले धेरै मजदुरहरूलाई विदेश जानबाट रोकेर नेपालमै श्रम गर्नुपर्छ भनेर लगाएको छ। सरकारले पनि यी मजदुरहरूलाई अझ व्यवस्थित गरेर यो क्षेत्रमा स्थापित गराउने वातावरण बनाइदिए राम्रो हुन्थ्यो।'

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij