काठमाडौं। बालबालिकाका अधिकार संरक्षण र प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका सुदृढ बनाउने उद्देश्यसहित आयोजित एक कार्यक्रममा पत्रकारहरूले देशमा अझै सम्बोधन हुन बाँकी रहेका बालबालिकासम्बन्धी मुद्दाहरू उठाउने र सरकारलाई नीति निर्माणमा जिम्मेवार बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा सम्पन्न 'बाल अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका' विषयक छलफल कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालबालिका राष्ट्रिय गौरवको विषय भए पनि राज्यले अपेक्षाकृत कम प्राथमिकता दिएको औंल्याए। उनीहरूले बालबालिकासँग सम्बन्धित समस्या र उपलब्धीहरूलाई आफ्ना सञ्चारमाध्यममार्फत निरन्तर उजागर गर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले बालबालिकाका संवेदनशील विषयमा सञ्चारकर्मीले जिम्मेवार र संवेदनशील रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए। उनले बालविवाह उन्मूलन, बालश्रम नियन्त्रण तथा बालमैत्री नीति निर्माणका क्रममा देखिएका कमजोरीहरूलाई समाचार र विश्लेषणमार्फत उजागर गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, शैक्षिक क्षेत्र पनि यस्ता विषयमा वकालत गर्न तयार रहेको उनको भनाइ थियो।
त्यसैगरी, सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकासम्बन्धी कम्तीमा ३४ वटा महत्वपूर्ण मुद्दामा अझै पर्याप्त बहस र समाचार कभरेज नभएको बताए। उनले बालबालिकाको कुप्रथामा प्रयोग, अभिभावकविहीन बालबालिकाका लागि जन्मदर्ता, नागरिकता र बैंक खाता खोल्न देखिएका जटिलता, बाल हेल्पलाइनको कमजोर अवस्था तथा बालश्रम र बालविवाह उन्मूलनका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन जस्ता विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
सहभागीहरूले बालबालिकामाथि हुने दुव्र्यवहार, शोषण र असंवैधानिक प्रयोगका घटनाहरू बारम्बार उजागर गरी समाधानका लागि सरोकारवाला निकायलाई दबाब दिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमले बाल अधिकार संरक्षणका लागि सञ्चार क्षेत्रको सक्रियता अझ सशक्त बनाउनुपर्ने सन्देश दिएको छ। कार्यक्रममा राष्ट्रिय छापा, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।



