चितवन। खानेपानी र सरसफाई स्वस्थ जीवनको आधार हुन्। तर, नेपालका अधिकांश खानेपानी आयोजनाहरूको नेतृत्वमा पुरुषहरूकै वर्चस्व देखिन्छ। यो परम्परागत धारलाई चुनौती दिँदै चितवनको रत्ननगरमा एक महिलाले नेतृत्वको फरक छाप छोड्न सफल भएकी छन् उनी हुन् सरस्वती लामा। रत्ननगर खानेपानी उपभोक्ता समितिको कोषाध्यक्ष र खानेपानी महासंघ चितवनको सचिवका रूपमा क्रियाशील लामाको जीवन यात्रा एउटा प्रेरणादायी सङ्घर्षको कथा हो।
सरस्वतीको बाल्यकाल र शिक्षा रत्ननगरमा बित्यो। कक्षा १० मा पढ्दादेखि नै उनीमा एउटा फरक वैचारिक चेतना थियो 'आफ्नो लागि मात्र होइन, समाजका लागि बाँच्नुपर्छ।' यही विचारले उनलाई कलिलै उमेरमा सामाजिक अभियानहरूमा होमिने प्रेरणा दियो। धेरैले जागिर खाएर व्यक्तिगत आर्थिक उन्नति गर्न सुझाव दिए पनि उनले कहिल्यै जागिरको मोह गरिनन्। उनलाई लाग्थ्यो, 'जागिरले एउटा परिवार पाल्छ, तर समाजसेवाले पूरै बस्तीको मुहार फेर्न सक्छ।'
उनको यो यात्रामा परिवारबाट बाहिर निस्किएर काम गर्न सहज थिएन। 'परिवारबाट माथि उठ्न धेरै सङ्घर्ष गर्नुपर्यो तर म रोकिइनँ। १० कक्षा पढ्दादेखि नै विचारको राजनीति र सामाजिक काममा लागेकाले धेरै कुरा सिक्ने अवसर पाएँ।'
२०७४ सालको स्थानीय तहको निर्वाचन सरस्वतीको लागि एउटा ठूलो मोड बन्यो। उनी रत्ननगर नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा निर्वाचित भइन्। पाँच वर्षसम्म उनले जनताको सुख दुःखमा सँगै रहेर काम गरिन्। २०७९ को निर्वाचनमा उनी वडा अध्यक्षको दावेदार भइन। चुनाव लडिन्, तर परिणाम उनले सोचे जस्तो आएन। झिनो मतान्तरले उनले पराजय भोग्नुपर्यो।
धेरैका लागि चुनावी हार विश्रामको बिन्दु बन्छ, तर सरस्वतीका लागि यो अर्को ढोका खुल्ने माध्यम बन्यो। उनी भन्छिन्, 'राजनीतिमा एउटा ठाउँमा 'ब्रेक' लागेपछि जहाँ ब्रेक लाग्छ, त्यहीँबाट नयाँ सुरुवात गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। मलाई सामाजिक काम गर्न कुनै न कुनै बहाना वा माध्यम चाहिएको थियो, र खानेपानी समिति मेरो लागि त्यो नयाँ अवसर बन्यो।'
खानेपानी व्यवस्थापनमा महिलाको भूमिका किन महत्त्वपूर्ण छ भन्नेमा सरस्वतीका आफ्नै मौलिक र व्यवहारिक तर्कहरू छन्। हाम्रो समाजमा पानीको मुख्य प्रयोगकर्ता महिला नै हुन्। भान्छादेखि सरसफाई र बालबालिकाको हेरचाहसम्म पानीको आवश्यकता महिलालाई नै बढी पर्छ।
'दैनिक रुपमा बिहानदेखि बेलुकासम्म महिलाले नै बढी पानी खपत गर्छन्। तर विडम्बना, पानी वितरण गर्ने र व्यवस्थापन गर्ने समितिमा चाहिँ पुरुषहरूको दबदबा हुन्छ, जसलाई समस्याको मर्म थाहा छ, उसैले समाधानको नेतृत्व गर्नुपर्छ भन्ने मलाई लाग्छ।'
सरस्वतीकै पहल र समितिको २०७८ को साधारण सभाको निर्णयपछि समितिमा 'महिला कोषाध्यक्ष' को व्यवस्था अनिवार्य गरियो। संयोगवश, उनी आफैँ पहिलो महिला कोषाध्यक्ष निर्वाचित भइन्। उनले आएपछि खानेपानीमा सुशासन, राजस्व सङ्कलनमा कडाइ र उपभोक्ताको गुनासो सुन्ने परिपाटीमा सुधार ल्याएकी छन्।
सरस्वती केवल कार्यालयमा बसेर हिसाब मिलाउने कोषाध्यक्ष मात्र होइनन्। उनी 'पानी संरक्षण समिति' को संयोजक पनि हुन्। जलवायु परिवर्तनका कारण पानीका मुहानहरू सुक्दै जानुलाई उनी अहिलेको सबैभन्दा ठूलो संकट मान्छिन्।
'मुहान नै रहेन भने हामी के वितरण गर्छौँ? त्यसैले स्रोत संरक्षण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ' उनी भन्छिन्। उनले महासंघमार्फत वातावरण जोगाउन वृक्षारोपण र पानीको पुनर्भरणका योजनाहरू अगाडि सारेकी छन्। उनी स्थानीय निकाय र संघ-संस्थाहरूलाई एकजुट बनाएर पानीको स्रोत जोगाउनुपर्ने अभियानमा छिन्।
जनप्रतिनिधि हुँदा होस् वा खानेपानीको नेतृत्व गर्दा, सरस्वतीले एउटा कुरा कहिल्यै बिर्सिनन् उपभोक्ताको सेवा। उनी कतिसम्म समर्पित छिन् भने, कसैको समस्या सुन्ने बित्तिकै उनी भोक-तिर्खा बिर्सेर दौडिन्छिन्। 'कति पटक त बिहान र बेलुकाको खाना पनि घरमा खान पाइएन। कसैले समस्या लिएर आयो भने मलाई भात पनि चाहिदैन, उसको समस्या समाधान नभएसम्म मलाई चैन हुँदैन' उनी आफ्नो कार्यशैली सुनाउँछिन्।
नेतृत्व भनेको पद मात्र होइन, यो त जिम्मेवारी बहन गर्ने क्षमता हो। उनी भन्छिन्, 'आफुले सोचे जस्तो त सधैँ हुँदैन, एउटै परिवारमा त विचार मिल्दैन भने देश र समाजमा त झन् फरक हुनु स्वभाविक हो। तर सबैको विचारलाई समेट्ने लचकता नेतृत्वमा हुनुपर्छ।'
आज उनी रत्ननगरका उपभोक्ताहरूको विश्वासको पात्र बनेकी छन्। उनी जस्ता महिलाहरू नेतृत्वमा आउँदा खानेपानी जस्तो आधारभूत सेवा केवल 'प्राविधिक विषय' मात्र रहँदैन, यो 'मानवीय र व्यवहारिक सेवा' बन्न पुग्छ। सरस्वतीको यो यात्रा अन्य पालिका र समितिका महिलाहरूका लागि पनि एउटा बलियो प्रेरणाको स्रोत हो।


