Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'जमिन जोगाउनै मुस्किल'

'जमिन जोगाउनै मुस्किल'

आइतबार, चैत २२ २०८२
आइतबार, चैत २२ २०८२
  • काठमाडौं। सुदूरपश्चिमको अछामबाट उपचारका क्रममा राजधानी छिरेकी हीरा देवी कवर यहाँ बस्न थालेको चार महिना मात्रै भएको बताउँछिन्। राजधानीको विकास र अछामको अवस्था तुलना गर्दा उनलाई आफ्नो गाउँ निकै पछि परेको लाग्छ, तर त्यो कुराले उनलाई खासै चिन्तित बनाएको छैन। उनलाई त केवल एउटै कुराले पिरोल्छ—रित्तिँदै गएको गाउँ।

    images

    रोजगारीको खोजीमा राजधानी झर्ने र यहाँबाट पनि विदेशिनेहरूको सङ्ख्या अझै घट्न सकेको छैन। उनी भन्छिन्, 'सरकारले हामीलाई गाउँमै बस्ने वातावरण मिलाइदियोस्। यसरी सहर आउन बाध्यता नहोस्, गाउँमै खेतीपाती गरेर बाँच्ने अवस्था बनाइदियोस्, त्यत्ति मात्रै भए पुग्छ, अरू केही चाहिँदैन।'

    गाउँको दुःख सम्झँदै उनी भावुक हुन्छिन्। 'पानीमा भिज्दै, घाममा तात्तिँदै सन्तानलाई काखमा च्यापेर, पछाडि भारी बोकेर हुर्कायौँ। तर अहिले तिनै सन्तानबाट टाढिनु परेको छ,' उनी भन्छिन्।

    उनका अनुसार गाउँमा मान्छे कम भएपछि अहिले बाँदरहरूले नै राज गर्न थालेका छन्। 'दिनरात दुःख गरेर खेती गर्छौँ, तर अन्न खाने बेला सबै बाँदरले लग्छ। खेत जोगाउन पनि दिनरात मान्छे बस्नुपर्छ,' उनी भन्छिन्, 'यदि सरकारले अब पनि केही गर्न सकेन भने भोकमरीले समात्नेछ।'

    काठमाडौंको झिलिमिलीसँग उनलाई कुनै मोह छैन। उनी त केवल उपचार सकेर गाउँ फर्किने हतारमा छिन्। छोराछोरी विदेशिएको सम्झँदा उनको मन भारी हुन्छ।
    'छोराछोरी विदेशिएको देख्दा मन रुन्छ, तर के गर्ने? देशमा व्यवस्था फेरियो, सरकार फेरिए, तर हाम्रो अवस्था फेरिएन, हाम्रो दुःख उस्तै रह्यो,' उनी भन्छिन्।

    उनका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या बेरोजगारी र महँगी हो। सानो ऋण र दैनिक गुजारा चलाउने चिन्ताले उनलाई रातभर निदाउन दिँदैन। 'आज खाए भोलि के खाने भन्ने पिर उस्तै छ,' उनी भन्छिन्।

    हीरा देवी सरकारसँग ठूलो केही माग्दिनन्। उनी त केवल आफ्नो पसिनाको मूल्य र बाँच्नका लागि सानो आधार खोजिरहेकी छिन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij