Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'पैसाले मन भर्दैन'

'पैसाले मन भर्दैन'

बिहीबार , चैत १९ २०८२
बिहीबार , चैत १९ २०८२
  • काठमाडौं। ललितपुरको दक्षिणी भेग, कोन्ज्योसोम। जहाँ भूगोलले सुगमतालाई गिज्याइरहेको छ र सहरको झल्को त देखिन्छ, तर सुविधाका पाइलाहरू अझै आइपुगेका छैनन्। त्यहीँको एउटा बस्ती, जसलाई स्थानीयहरू 'सिमाना' भन्छन्, त्यहाँ ७० वर्षका एक वृद्ध भेटिन्छन्। उनको अनुहारमा समयले कोरेका अनगिन्ती रेखाहरू छन् र गलामा एउटा चाबी झुण्डिएको छ। त्यो चाबी केवल उनको सानो खुद्रा पसलको ढोकाको मात्र होइन, बरु यो उनको ७ दशक लामो संघर्ष र सुरक्षाको एउटा प्रतीक पनि हो। उनी आफूलाई 'लाटो' भन्छन्, तर उनका कुरामा जीवनको भोगाइ र बुझाइको गहिरो दर्शन लुकेको छ।

    images

    उनको जीवनमा गत असोजको त्यो बाढी एउटा कहिल्यै निको नहुने घाउ बनेर आयो। महाकाल गाउँपालिकाको मुलखोला किनारमा उनको एउटा सानो खुद्रा पसल थियो, जहाँबाट उनी र उनकी श्रीमतिको गुजारा चलिरहेको थियो। तर पहाडको फेदीमा सानो खुसी बटुलिरहेका उनको संसार माथि डाँडाबाट झरेको पहिरो र उर्लिएको खहरेले एकै निमेषमा सोहोरेर लग्यो। 'पसल, बारी सब लगिसक्यो, बाढी आउँछ भन्ने थाहै भएन, माथि डाँडाबाट आएपछि सब सिद्धियो।' अहिले स्थानीय तहले दिएको अलिकति चामल र लुगाफाटोले शरीर त ढाकिएको छ, तर मनको रिक्तता उस्तै छ। एउटै जिल्ला भएर पनि ललितपुरको सुगम सहर र आफ्नै गाउँबीचको खाडल देख्दा उनलाई अचम्म लाग्छ।

    वृद्धका बुबा-आमा बितेको धेरै वर्ष भइसक्यो। एउटी छोरी थिइन्, जो अर्काको घर गइसकिन्। बुढेसकालमा सहारा बन्नुपर्ने छोरा मलेसियाको तातो घाममा पसिना बगाउँदैछन्। छोरा विदेश गएको आठ-नौ महिना मात्र हुँदैछ, यता १२ कक्षा पास गरेको नाति पनि अब बाहिरै जाने तरखरमा छ। खाडीको युद्ध र विश्व राजनीतिमा भइरहेका अशान्तिका समाचार सुन्दा उनलाई कताकता डर त लाग्छ, तर बाँच्नका लागि सन्तानलाई परदेश पठाउनुको विकल्प बाहेक उनीसँग केही छैन। 'पढ्न नछोड भनेको, तर जान्छु भन्छ,' उनको स्वरमा एउटा बाजेको चिन्ता र विवशता दुवै झल्किन्छ।

    जिन्दगीका यति धेरै उतारचढावपछि अहिले उनी 'येशू' मा विश्वास गर्छन्। उनलाई वनको सिस्नु र निङ्रो खानुमा जति आनन्द र 'धर्म' अरूमा लाग्दैन। मान्छेहरू मासु खान मरिहत्ते गर्छन्, तर उनलाई भने आफ्नै बारीको आलु र सिस्नु नै अमृत लाग्छ। ७० वर्षको उमेरमा पनि उनलाई विश्राम गर्ने फुर्सद छैन। झार उखेल्ने, मकै छर्ने र मल ओसार्ने उर्जा अझै बाँकी छ। जिन्दगीमा कतै विलासी ठाउँ घुम्न जाने सपना छैन, मात्र अलिकति बारी खनेर आफ्नै पौरखको उब्जनी खान पाए उनलाई पुग्छ।

    भोट हाल्न उनी कहिल्यै छुटाउँदैनन्। नयाँ सरकार र नयाँ दलको उदयप्रति उनलाई चासो त छ, तर आशाभन्दा बढी चिन्ता देखिन्छ। 'हामी मिल्नुपर्ने हो, हामी जुट्नुपर्ने हो,' उनी भन्छन्। उनको विचारमा विकास भनेको नेताले दिने आश्वासन मात्र होइन; यो त गाउँले मिलेर, स्कुल र चौतारीमा बैठक बसेर ल्याइने सामूहिक चेतना हो। भोट माग्ने बेला गाउँमा मान्छेको दौडधुप हुन्छ, तर चुनाव सकिएपछि फेरि त्यही सुनसान सन्नाटा छाउँछ। ललितपुरको त्यो चिसो डाँडामा बसेर उनी एउटै कुरा दोहोर्याउँछन्— 'एउटा मान्छेले बोलेर हुँदैन, समाज मिल्नुपर्छ।'



    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij