काठमाडौं। काठमाडौंको कपनस्थित एउटा सानो परिसर, जसले निराशाबीच आशा र सीमिततामै अवसर खोजिरहेको छ। यो एक यस्तो संस्था हो, जसले अपाङ्गता भएका बालबालिकालाई केवल ओत मात्र होइन, जीवन जिउने 'टेको' दिइरहेको छ।
यहाँ विभिन्न किसिमका अपाङ्गता भएका बालबालिकाहरू बस्छन्। उनीहरूलाई यहाँ नृत्य, गायन र अन्य सिर्जनात्मक कलाहरू सिकाईन्छ। यहाँका कोठाहरूमा जब विभिन्न भाकाहरू गुञ्जिन्छन्, ती सुन्दा जति आनन्द आउँछ, त्यति नै कारुणिक छन् ती भाका पछाडिका बालबालिकाका कथाहरू। कसैले जन्मदेखि नै शारीरिक चुनौती बोकेका छन् भने कसैले परिवार र परिस्थितिको गहिरो पीडा। यिनै संघर्ष र आशा मिसिएका कथाहरूको साझा आश्रयस्थल बनेको छ— बाल अपाङ्गता टेवा संस्था।
यहाँ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, उनीहरूका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र भविष्यमा आत्मनिर्भर बनाउने सीप सिक्ने अवसर पनि यसै संस्थाले जुराएको छ। विशेषगरी ह्वीलचेयर प्रयोग गर्ने बालबालिका र युवाहरूका लागि यो संस्था अहोरात्र खटिएको छ, ताकि उनीहरूको जीवन सहज र सम्मानजनक बन्न सकोस्।
तर, यो संस्थाको कथा यी वाक्यांशले मात्रै पूर्ण हुँदैन। यसको परिकल्पना, अस्तित्व र क्रियाशीलतासँग जोडिएका छन्— पर्यटन व्यवसायी डेन्डी शेर्पा। पर्यटन क्षेत्रमा लागेरै उनले नेपालदेखि युरोपसम्मको यात्रा गरे, विदेशी पर्यटकसँग सम्बन्ध बनाए, तर जीवनको सबैभन्दा ठूलो मोड भने एक हिमाली गाउँमा भेटाए। त्यहाँ उनले आगोले पोलिएर अपाङ्ग भएका र उपचार नपाएका बालबालिका देखेपछि उनको मन भित्रैदेखि हल्लियो।
डेन्डीको सेवा गर्ने प्रेरणा उनको आफ्नै बाल्यकालको अभावसँग जोडिएको छ। सोलुखुम्बुमा जन्मिएका उनले सानैमा बुवा गुमाए भने आमाले पनि साथ छोडेर गइन्। आमा-बुवाको छाया नपाएका उनले औपचारिक शिक्षा पाउन सकेनन् र पेट पाल्नका लागि सानैदेखि 'भरिया' को काम गरे। त्यही अभाव र एक्लोपन बुझेका डेन्डीलाई अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने जोस जाग्यो।
सुरुमा सानो प्रयासबाट सुरु भएको यो अभियानले अहिले विशाल रूप लिएको छ। सयौँलाई नयाँ जीवन दिएको यस संस्थामा हाल १८ जना बालबालिका आश्रित छन्। २०७२ सालको भूकम्प होस् वा कोभिड महामारी— डेन्डी र उनको टोलीले असहाय र दीर्घरोगी परिवारलाई खाद्यान्नदेखि उपचारसम्मको सहयोग पुर्याउन कहिल्यै कञ्जुस्याईँ गरेनन्।
डेन्डीको पर्यटन अनुभव पनि समाजसेवाकै माध्यम बन्यो। उनले नेपाल आउने विदेशी पर्यटकलाई 'नयाँ नभए पनि पुरानो ह्वीलचेयर ल्याइदिन' आग्रह गर्थे। यही पहलबाट अन्तर्राष्ट्रिय सहकार्य जोडिँदै गयो। अझ रोचक कुरा त के छ भने, यो संस्थाले ह्वीलचेयर प्रयोगकर्तालाई नै मर्मत तालिम दिँदै आएको छ। काठमाडौँ र सुर्खेतमा थ्री-डी प्रिन्टिङ प्रविधि प्रयोग गरेर ह्वीलचेयरका पार्टपुर्जा उत्पादन गर्ने ल्याब समेत सञ्चालनमा आइसकेको छ।
संस्था सञ्चालन गर्नु कुनै सजिलो काम होइन। सीमित स्रोत र अनेक चुनौतीका बाबजुद वैदेशिक सहयोग र व्यक्तिगत प्रयासबाट करोडौँ रुपैयाँ सामाजिक सेवामा खर्च भइसकेको छ। तर, विडम्बना! सरकारी सहयोग भने अझै सीमित छ। पछिल्लो समय स्थानीय सरकारले केही हात बढाए पनि संस्था अझै भाडाकै जग्गामा छ।
'आफ्नै सुरक्षित भवन होस् र बालबालिकाका लागि स्थायी संरचना बनोस्,' यो डेन्डी शेर्पाको लामो समयदेखिको सपना हो, जुन अहिलेसम्म अधुरै छ। २० वर्ष लामो यो यात्रालाई फर्केर हेर्दा डेन्डी आफूले सानामा भोगेका दुःख बिर्सन्छन्। उनको एउटै विश्वास छ— खुशी सम्पत्तिमा होइन, अरुलाई सहयोग गर्दाको अनुभूतिमा हुन्छ।
हेर्नुहोस् बाल अपाङ्गता टेवा संस्थाको कथा !


