काठमाडौं। सुदूरपश्चिमको ग्रामीण परिवेश, जहाँ छोरीहरूको आवाज घरको चौघेराभित्रै सीमित गरिन्थ्यो। बालविवाह, कमलरी प्रथा र शिक्षामा छोरीहरूको न्यून पहुँच सामान्य मानिने त्यो समाजमा गीता चौधरीले एउटा यस्तो विद्रोह गरिन्, जसले उनको दिशा नै बदलिदियो। उनी भन्छिन्, 'छोरीहरूले हलो जोत्नु हुन्न भनिन्थ्यो, तर अन्याय देखेपछि चुप बस्न सकिन र आफैंले हलो जोते।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत निर्वाचित गीता चौधरीको यात्रा केवल एउटा राजनीतिक उचाइको कथा मात्र होइन; यो त सामाजिक विभेदविरुद्धको दीर्घ संघर्षको परिणाम हो। कञ्चनपुरको शुक्लाफांटा–४ स्थायी घर भएकी ३३ वर्षीया गीता सांसद हुनुअघि एक अधिवक्ता र सामाजिक अभियन्ता थिइन्।
उनको नेतृत्वको तिर्खा विद्यालय जीवनमै पलाएको थियो। विद्यालयमा उनलाई अन्जानमै 'नेता' भनेर चिनिन्थ्यो। तर नेतृत्व सधैं केटाहरूलाई मात्र दिइने चलनले उनलाई एउटा प्रश्न गर्न बाध्य बनायो— 'हामी सक्दैनौँ र?' यही प्रश्नले उनको सोचलाई दिशा दियो र उनले बुझिन्, 'नेता भनेको पद होइन, नेतृत्व गर्ने क्षमता हो।'
आजभन्दा १४ वर्षअघि गीताले एउटा सुझबुझपूर्ण निर्णयका साथ काठमाडौंमा पाइला टेकिन्। स्कुलमा हुने विभेद र समाजको भेदभाव चिर्नका लागि उनले कानुन विषय पढ्ने निधो गरिन्। तर सुदूरपश्चिमको एउटा कुनाबाट राजधानी आउनु उनका लागि फलामे चिउरा चपाउनु सरह थियो। काठमाडौं 'स्कुल अफ ल' मा छात्रवृत्ति पाएपछि उनले घरमा जिद्दी गरिन्। परिवारमा छोरीलाई एक्लै पठाउने विषयमा ठुलो दुबिधा थियो, तर गीताले स्पष्ट भनिन्— 'म भाग्न होइन, पढ्न जान लागेकी हुं।'
हातमा जम्मा ६ हजार रुपैयां बोकेर बुबासंगै काठमाडौं आइपुग्दा भाषा उनका लागि सबैभन्दा ठुलो चुनौती बन्यो। सरकारी विद्यालयको पृष्ठभूमि भएकी उनलाई अंग्रेजी माध्यममा प्रतिस्पर्धा गर्न कठिन थियो। तर प्रवेश परीक्षाको त्यो क्षण सम्झिंदै उनी भन्छिन्, 'एउटा पनि वाक्य ठिक बोलेन होला, तर आत्मविश्वासले पास गरायो।'
कानुनको अध्ययनले उनलाई समाजका संरचनाहरू बुझ्न सघायो। पढाइका दौरान उनी कक्षाकोठामा मात्र सीमित रहिनन्। जलवायु परिवर्तनदेखि आदिवासी र महिला अधिकारका मुद्दा लिएर उनी सधैं माइतीघर मण्डलाको तातो सडकमा उभिइन्। यही सक्रियताले उनलाई राजनीतितर्फ डोर्यायो। उनलाई महसुस भयो— 'बाहिर बसेर आलोचना मात्र गरेर हुंदैन, नीति निर्माणको ठाउंमा पुग्नुपर्छ।'
राजनीतिक यात्रामा पनि महिला भएकै कारण उनले अनेकौं संरचनात्मक अवरोधहरू भोगिन्। प्रतिस्पर्धामा उत्रिंदा महिलाको चरित्रमाथि प्रश्न उठाइने संस्कारप्रति उनी कडा असन्तुष्टि व्यक्त गर्छिन्। व्यक्तिगत जीवनमा आमा, पेशाकर्मी र बुहारीको भूमिका सन्तुलनमा राख्नु उनका लागि अर्को चुनौती थियो।
बुहारीको रूपमा समाजले राख्ने अपेक्षाबारे उनको दृष्टिकोण अझै स्पष्ट छ। उनी भन्छिन्, 'बुहारी चन्द्रमा पुगोस्, तर चिया पकाएर पुगोस् भन्ने सोच अझै छ। कामको व्यवस्थापन गर्न सकिन्छ, तर स्वतन्त्रतामा सम्झौता गर्न सकिंदैन।'
पहिले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेकी गीतालाई अन्ततः रास्वपाले थारु (जनजाति) क्लस्टरबाट संसदमा पुर्यायो। आज संसद्को रोस्टममा उभिंदा पनि उनको मूल लक्ष्य फेरिएको छैन— समानताको आवाज बुलन्द पार्ने र समाजका हरेक विभेदकारी पर्खालहरू भत्काउने।
हेर्नुहोस् भक्सपपले एक वर्ष पहिले गीतासँग गरेको कुराकानीः


