काठमाडाैं। गाउँमा आफ्नो भविष्य नदेखेपछि राजधानीतिर लाग्ने युवाहरूको कथा नेपाली समाजमा नयाँ होइन। नेपालका दुर्गम बस्तीदेखि राजधानीसम्म सपना बोकेर हजारौँ युवाहरू छिर्छन् । कोही पढाइको लागि त कोही अवसरको खोजीमा । त्यही भीडभित्रको एउटा कथा, दिपक रावतको कथा।
उनको कथा केवल एउटा युवाको व्यक्तिगत यात्राको कथा मात्र होइन, यो नेपालका हजारौँ युवाहरूले भोगिरहेको वास्तविकताको झल्को हो। दुर्गम गाउँमा जन्मेर हुर्किएको जीवन सजिलो थिएन। सीमित स्रोत, थोरै अवसर र समाजका पुराना सोचबीच उनको बाल्यकाल बित्यो तर त्यही परिवेशले उनलाई चुप लागेर बस्ने मान्छे बनाएन। बरु अन्याय देख्दा आवाज उठाउने साहस दिएको थियो।
सानै उमेरदेखि उनी सामाजिक गतिविधिहरूमा सक्रिय थिए। समाजमा गलत कुरा देख्दा चुप बस्न नसक्ने स्वभाव उनका साथीभाइ र गाउँलेहरूलाई पनि थाहा थियो। केवल १४ वर्षको उमेरमै उनले बालविवाहको विरुद्ध आवाज उठाएका थिए। त्यो कदम धेरैका लागि अनौठो थियो, किनकि गाउँ समाजमा त्यस्तो विषयमा बोल्नु सहज थिएन। कतिपयले उनको आलोचना गरे, नराम्रो भने। तर ती शब्दहरूले उनको बाटो रोकिएन।
अन्याय देखेर चुप लागेर बस्नु पनि एक प्रकारको अन्याय हो भन्छन् उनी । ‘जबसम्म समाज परिवर्तन हुँदैन, तबसम्म म समाजका लागि लडिरहनेछु’ उनी साहसका साथ भन्छन्।
उमेरले उनी १८ वर्षका युवा मात्र हुन्। तर उनको सोच, अनुभव र साहसले उनलाई साधारण युवाभन्दा फरक बनाएको छ। समाज, राजनीति र देशको अवस्थालाई उनले नजिकबाट बुझ्ने प्रयास गरेका छन्। राजधानीमा आएपछि उनले धेरै युवाहरूको वास्तविकता देखेका छन्—साना कोठामा बसेर ठूलो सपना देख्ने युवाहरूको कथा।
उनी भन्छन्, ‘यो सहरमा हामी सबै जना रहरले होइन, बाध्यताले आएका हौँ।’
उनको चाहना सरल तर गहिरो छ। 'गाउँमै अवसर होस्, विकास होस् र युवाहरूले आफ्नो घरपरिवार छोडेर टाढा जानु नपरोस्' उनी भन्छन्, ‘सरकारले गाउँमै पूर्वाधार विकास गरिदियोस्, युवाहरूले आफ्नै मातृभूमिमा काम गर्न सकून्, आयआर्जन गर्न सकून् र बुढेसकालमा पुगेका आमाबुबाको सहारा बन्न सकून्।’
देशमा अझै पनि शान्ति, न्याय र समानता पूर्ण रूपमा स्थापित हुन नसकेको उनी महसुस गर्छन्। उनकै शब्दमा ‘यदि देशमा शान्ति र सुरक्षा कायम भएन भने फेरि आन्दोलनको अवस्था आउन सक्छ।’
उनी महिलामाथि हुने हिंसा र बलात्कारका घटनाप्रति राज्यको ध्यान जान नसकेको बताउँछन् । उनका अनुसार निर्मला पन्त, निरु विक र हालसालै बलात्कारपछि हत्या गरिएकी इनिसा विक जस्ता घटनाहरूले नेपाली समाजलाई अझै पनि संवेदनशील बन्नुपर्ने आवश्यकता देखाएका छन्। उनी भन्छन्, ‘हाम्रो देशमा यस्ता घटनाहरू दोहोरिनु भनेको समाज र कानुनी व्यवस्थाको कमजोरी हो, त्यसैले दोषीलाई कडा कारबाही हुनुपर्छ र पीडितहरूले न्याय पाउनुपर्छ।’
...
दुर्गम गाउँबाट राजधानीसम्म आएर संघर्ष गरिरहेकामा तपाई पनि पर्न सक्नुहुन्छ। या तपाईको कथा अलि फरक हुन सक्छ। आफ्नो भविष्यसँगै सुन्दर समाज निर्माणको अभिभारा बोकेका तपाईको आवाज बोलिदिनु हामी दायित्व ठान्छौँ। यदि तपाईलाई लाग्छ कि तपाईको आवाज र तपाईको कथा अरूले सुन्नुपर्छ । यसो हो भने हामीसँग सम्पर्कमा आउनुहोस् !


