Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'जनतालाई विकास चाहिएको हो, भाषण होइन'

'जनतालाई विकास चाहिएको हो, भाषण होइन'

सोमबार, फागुन २५ २०८२
सोमबार, फागुन २५ २०८२
  • कामाडाैं। देशको राजनीति र विकासको बहस अहिले पनि उही ठाउँमा घुमिरहेजस्तो देखिन्छ। चुनाव आउँदा नेताहरूको भाषण, आश्वासन र वाचा धेरै सुनिन्छन्, तर चुनाव सकिएपछि ती वाचाहरू कतै हराएको जस्तो अनुभव जनताले गर्ने गरेका छन् । यही यथार्थतर्फ संकेत गर्दै समाजसेवी तथा पूर्व शिक्षक शुभम प्रसाद भण्डारीले स्पष्ट शब्दमा भनेका छन् – 'जनतालाई विकास चाहिएको हो, भाषण होइन।'

    images

    लामो समय शिक्षण पेशामा जीवन बिताएका प्रसाद धुर्व भण्डारीको जीवन आफैंमा संघर्ष, अनुभव र समाजप्रतिको जिम्मेवारीको कथा हो । उनी करिब ४२ वर्षसम्म शिक्षण पेशामा संलग्न रहे। सरकारी माध्यमिक विद्यालयमा शिक्षकको रूपमा काम गर्दै उनले हजारौं विद्यार्थीलाई शिक्षा दिएका छन्। शिक्षण सेवाबाट अवकाश पाएपछि पनि उनले सामाजिक तथा शैक्षिक गतिविधिमा सक्रियता घटाएका छैनन्।

    भण्डारीको जन्म गोकर्नेश्वर नगरपालिका–३ मा भएको हो। बाल्यकालदेखि नै शिक्षा र मेहनतलाई जीवनको आधार बनाएका उनी अध्ययनमा पनि निरन्तर सक्रिय रहे। उनले एसएलसी पास गरेपछि शिक्षक सेवा आयोगको परीक्षा दिए र शिक्षण सेवामा प्रवेश गरे। उनी सम्झिन्छन्,'त्यतिबेला स्रोत–साधन कम थिए। बिहानदेखि बेलुकासम्म पढेर तयारी गर्नुपर्थ्यो। सामान्य ज्ञानका किताबहरू अध्ययन गरेर परीक्षा दिएको सम्झना अझै ताजा छ।'

    उनका अनुसार त्यतिबेला सरकारी सेवा पाउन निकै प्रतिस्पर्धा हुन्थ्यो। सीमित स्रोत र अवसरका बीच मेहनत गरेर परीक्षा पास गर्नु ठूलो उपलब्धि जस्तै थियो। उनले आफ्नो अनुभव सुनाउँदै भने, 'लगभग ४०–४२ दिन निरन्तर तयारी गरेर परीक्षा दिएको थिएँ। त्यही मेहनतले अन्ततः सफलता मिल्यो।'

    शिक्षण सेवामा प्रवेश गरेपछि उनले लामो समय सरकारी विद्यालयमा अध्यापन गरे। विद्यालयमा काम गर्दा उनले शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरू नजिकबाट बुझ्ने अवसर पाए। शिक्षकहरूको हक–हितका विषयमा पनि उनले विभिन्न गतिविधिमा सहभागिता जनाएका थिए।

    शिक्षण सेवाबाट अवकाश पाएपछि पनि उनी समाज र राष्ट्रप्रतिको चिन्ताबाट टाढा छैनन्। अहिले उनी शिक्षा र सामाजिक क्षेत्रसँग सम्बन्धित संस्थागत गतिविधिमा सक्रिय छन्। शिक्षा क्षेत्रसँगै समाज र राजनीतिबारे पनि उनी खुला रूपमा आफ्नो धारणा व्यक्त गर्छन्।

    उनका अनुसार नेपालको सबैभन्दा ठूलो चुनौती भनेकै विकासको अभाव र राजनीतिक संस्कृतिमा देखिएको समस्या हो। नेपाललाई कृषि प्रधान देश भनिए पनि अझै पनि कृषि क्षेत्र व्यवस्थित रूपमा विकास हुन नसकेको उनको भनाइ छ। देशको ठूलो जनसंख्या कृषिमा निर्भर भए पनि किसानले उचित मूल्य, आधुनिक प्रविधि र सरकारी सहयोग नपाएको उनले बताए।

    भण्डारी भन्छन्, 'नेपालमा करिब ८० प्रतिशत मानिस कुनै न कुनै रूपमा कृषिमा निर्भर छन्। तर उचित योजना र व्यवस्थापनको अभावले कृषि क्षेत्रबाट अपेक्षित उत्पादन हुन सकेको छैन।'

    उनका अनुसार कृषि क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउन सके देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। साथै, त्यसले रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र युवाहरू विदेश पलायन हुने समस्या पनि घट्ने उनले विश्वास व्यक्त गरे।

    आजको अर्को गम्भीर समस्या भनेको युवाहरूको विदेश पलायन हो। रोजगारीको अभाव र अवसरको कमीका कारण धेरै युवा विदेश जान बाध्य भइरहेको अवस्था देखिन्छ। भण्डारीका अनुसार देशमै पर्याप्त अवसर सिर्जना गर्न सके युवाहरूले आफ्नै देशमा भविष्य देख्न सक्नेछन्।

    राजनीतिक संस्कृतिबारे बोल्दै उनले अहिलेको राजनीतिक अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनका अनुसार चुनावको समयमा नेताहरूले जनतासँग हात जोडेर धेरै वाचा गर्ने तर चुनाव जितेपछि ती वाचाहरू पूरा नहुने प्रवृत्ति देखिन्छ।

    'चुनाव आउँदा नेताहरू गाउँ–गाउँ पुगेर ठूलो भाषण गर्छन्, तर चुनाव जितेपछि ती वाचाहरू व्यवहारमा कमै मात्र देखिन्छन्।'

    उनले राजनीति मूलतः समाज सेवा गर्ने माध्यम हुनुपर्ने बताए। तर अहिलेको अवस्थामा व्यक्तिगत स्वार्थ, समूहगत प्रभाव र भ्रष्टाचारका कारण राजनीति आफ्नो मूल उद्देश्यबाट टाढिँदै गएको उनको धारणा छ।

    उनका अनुसार देशमा वास्तविक परिवर्तन ल्याउन इमानदार नेतृत्व, सुशासन र शिक्षा अत्यन्त आवश्यक छ। समाजमा राष्ट्रप्रतिको सोच र सेवा गर्ने भावना बलियो बनाउनु पर्नेमा उनले जोड दिए।

    यदि देशलाई सही दिशामा लैजानु छ भने विकासलाई पहिलो प्राथमिकता दिनैपर्छ। जनताको अपेक्षा ठूला भाषण होइन, प्रत्यक्ष देखिने काम र परिणाम हो। 'जनताको जीवनमा परिवर्तन ल्याउने काम नै साँचो राजनीति हो।'

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij