नेपालमा सडक दुर्घटना हुनु कुनै नौलो कुरा होइन। हरेक दिन पत्रपत्रिका र समाचारमा सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्याङ्क मात्रै सुनिरहेका हुन्छौँ । गत आइतवार मात्रै पोखराबाट काठमाडौं तर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाले अकालमै ज्यान गुमाए भने २५ जना यात्रु घाइते अवस्थामा छन् । यसअघि पनि केही हप्ताको अन्तरमै धेरैको ज्यान जानेगरी सवारी दुर्घटनाहरू भएका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो आठ वर्षमा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजार घाइते भएका छन् । प्रहरी मुख्यालयमा प्राप्त विवरणअनुसार २०७० को दशकको आठ आर्थिक वर्षमा मात्रै एक लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको सङ्ख्या १९ हजार ३५८ पुगेको छ । यस्ता दुर्घटनामा परी एक लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।
दुर्घटनाका विवरण केलाउँदा सबैभन्दा जोखिममा मोटरसाइकल, जिप तथा कार भ्यान देखिएका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार वार्षिक हजारौँ मानिसले सडकमा अकालमै ज्यान गुमाउँछन् । भौगोलिक विकटता, कमजोर पूर्वाधार र मानवीय लापरबाहीको त्रिकोणात्मक मिलनले नेपालका सडकहरू अहिले ‘मृत्युको पासो’ जस्तै बनेका छन् ।
अबको बाटो देशभर सडक सञ्जालको विस्तारसँगै सवारीसाधनको सङ्ख्या पनि ह्वात्तै बढेर गएको छ । वर्षेनी लाखौँको सङ्ख्यामा सवारीसाधन भित्रिने गरेका छन भने वर्षौं पुराना सवारीसाधनहरु पनि सडकमा गुडिरहेका देखिन्छन् । २० वर्ष पुराना भइसकेका साधनहरू दुर्घटनामा मात्रै नपरेर तिनिहरूले वातावरणामा समेत असर पारेको पाइन्छ ।
यिनै पृष्ठभूमीमा आज हामीले भक्सपप लिएका छौँ। हामीले यात्रु तथा आम नागरिकलाई सोधेका छौँ- नेपालमा पछिल्लो समय किन सवारी दुर्घटना बढेको हो? र कसरी रोकथाम गर्न सकिएला ?


