Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘मनमा शान्ति भए सुख त्यसै आउँछ’

‘मनमा शान्ति भए सुख त्यसै आउँछ’

सोमबार, फागुन ११ २०८२
सोमबार, फागुन ११ २०८२
  • काठमाडौं। 'पैसा आवश्यकताको लागि हो, शान्तिको लागि होइन। 'गंगा देवी अग्रवाल जब यो वाक्य बोल्छिन्, उनको अनुहारमा वर्षौँ‌ देखिको अनुभवको उज्यालो देखिन्छ। धेरैले पैसालाई नै जीवनको सबै कुरा ठान्ने यो समयमा उनी भने शान्तिलाई साँचो धन ठान्छिन्।

    images

    काठमाडौँको पुरानो बस्ती इन्द्रचोकमा उनको बाल्यकाल बित्यो । साँघुरा गल्ली, परम्परागत घर, चहलपहलले भरिएको परिवेश—त्यहीँ उनले जीवनको पहिलो पाठ सिकिन् । अहिले उनी नक्शाल क्षेत्रमा बस्छिन्, तर उनको स्मृतिमा इन्द्रचोक अझै ताजै छ।

    सात पुस्तादेखि काठमाडौँमै बसोबास गर्दै आएको उनको परिवार परम्परा र संस्कार सँग गाँसिएको छ। उनको जीवन संयुक्त परिवारको घेराभित्रै फक्रियो। बिहानको सुरुवात चुलोको आगोसँगै हुन्थ्यो । खाना पकाउने, बच्चा हुर्काउने, पूजा गर्ने दिनचर्या कहिल्यै रोकिन्नथ्यो। महिलाहरू पर्दामा बस्थे, ठूला मान्छेसँग खुलेर बोल्ने चलन थिएन। ‘तर त्यो अनुशासनभित्र सम्मान थियो, आत्मीयता थियो’ उनी भन्छिन् ।

    १७ वर्षको उमेरमै उनको विवाह भयो । बाल्यकालका खेलहरू बिस्तारै जिम्मेवारीमा बदलिए । पढ्ने इच्छा मनमै रह्यो, किनकि समय र परिस्थिति साथमा थिएनन्। ३० वर्ष पुग्दा चार सन्तानकी आमा भइसकेकी थिइन्। घरको काम, बच्चा हुर्काउने, परिवार सम्हाल्ने—उनको संसार त्यही थियो। थकान थियो, तर गुनासो थिएन। उनी भन्छिन्, ‘त्यो जीवनमा दुःख थिएन, किनकि मनले त्यसलाई स्वीकारेको थियो।’

     उनी भन्छिन् ‘मनले दुःख मान्यो भने दुःख, नत्र शान्ति।’ समय परिवर्तन भयो। चुनावको तरिका फेरियो, समाज बदलियो, प्रविधि हातहातमा आयो। मोबाइल, सामाजिक सञ्जाल, टेलिभिजन—सबै सजिलो भए। तर उनी यस्ता प्रविधिको खासै प्रयोग गर्दिनन्। भन्छिन्, ‘धेरै नराम्रा समाचार हेर्दा मन अशान्त हुन्छ। कसैको दुर्घटना, कसैको मृत्यु देख्दा मन भारी हुन्छ।’ त्यसैले उनी सरल जीवन रोज्छिन्—सीमित समाचार, सीमित कुरा, धेरै शान्ति।

    आज ७५ वर्षको उमेरमा उनी पछाडि फर्केर हेर्छिन्—उतारचढावले भरिएको जीवन, तर सन्तोषले भरिएको मन। उनका तीन छोरी र एक छोरा छन्, नाति–नातिनीको हाँसोले घर गुन्जिन्छ। उनलाई ठूलो धनसम्पत्ति होइन, यही पारिवारिक माया नै सम्पत्ति लाग्छ।

    ‘लोभ कम गर, मीठो बोल, नराम्रा कुरा धेरै नहेर‌, आफ्नो मनलाई सधैँ सकारात्मकतर्फ लैजाऊ’ गंगा नयाँ पुस्तालाई सुझाउँछिन् । गंगा देवीको जीवन कुनै चर्चित कथा हाेइन्, एउटा साधारण जीवनभित्र लुकेको असाधारण सत्य हो। पैसा जीवनका आवश्यकताका लागि चाहिन्छ, तर साँचो सुख मनको शान्तिमा मात्रै पाइन्छ। र शान्ति, सन्तोष र विश्वासका साथ बाँच्न सके, जीवन आफैँमा पूर्ण हुन्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij