हेटौंडा । नेपाल एकीकरणको इतिहाससँग जोडिएको मकवानपुरगढीमा भेटिए चन्द्र प्रसाद घिमिरे । हामी त्यहाँ पुग्दा अपरान्ह ३ बजेको थियो । चिसो सिरेटो चलिरहेको त्यो अपरान्हमा गेरू बस्त्रमा प्लास्टिकको कुर्चीमा बसिरहेका बयोवृद्ध घिमिरेसंग कुरा गर्ने प्रस्ताव राख्यौं । उनी राजी भए । गढीको मूल ढोका खोल्ने बन्द गर्ने अनु त्यहाको रेखदेख गर्न घिमिरे बिगत ४ वर्ष पूर्कालीन रूपमा खटिएका छन् ।
६६ वर्षीय चन्द्र प्रसाद घिमिरेको जन्म नुवाकोटमा भयो । सात वर्षको उमेरमा उनी परिवारसँग मकवानपुर आएका रहेछन्। औपचारिक पढाइ गर्न नपाए पनि आफ्नै जीवनले उनलाई धेरै कुरा सिकाएको छ। सानैमा बुवाको निधन भयो, भाइबहिनीको जिम्मेवारी काँधमा आयो, र जीवन संघर्षमै बित्यो। यहि संघर्षले उनलाई दुखमा नै खुशी हुने बाणी परेको छ । 'खुश नलागे त यहाँ बस्दै बसिदैन,' उनी भन्छन्, 'मन्दिरप्रतिको आस्था र धेरैको अनुरोधले म यहाँ बसेको हुँ।'
मकवानपुरगढीलाई उनी केवल ऐतिहासिक स्थल मात्र होइन, नेपाली राजनीतिक इतिहासको जीवित साक्षी ठान्छन्, घिमिरे । उनका अनुसार यो गढी १३ औँ शताब्दीभन्दा अगाडि बनेको मानिन्छ । स्थानीय किंवदन्तीअनुसार यसलाई सेन वंशका राजा मणिमुकुन्द सेनसँग जोडिन्छ। गढीभित्र मुख्य द्वार, आपतकालीन द्वार, दुई दरबार, दुई मन्दिर, कारागार, पानी संकलन गर्ने खाल्टो, शिव मन्दिर, बालगोपाल कृष्णको मन्दिर-सबैको कथा उनलाई कन्ठै छ । माथिल्लो थुम्कोमा राजाले मान्ने कुलदेवीको मन्दिर छ भने उत्तरपट्टि भूमिगत इँटाको दरबार रहेको जनविश्वास छ, जसको पूर्ण अध्ययन अझै हुन बाँकी छ। 'कसैले नसोधे पनि म आफैं बताउँछु,' उनी हाँस्दै भन्छन्, 'यो ठाउँको इतिहास ठूलो छ, बुझ्न चाहनेले बुझ्नुपर्छ।'
चन्द्र प्रसाद घिमिरे कुनै तलबी पुजारी होइनन्। उनी आजीवन सदस्यका रूपमा गढीसँग आबद्ध छन्। 'संस्थाको सदस्य मरेपछि पनि नाम रहन्छ,' उनी गर्वका साथ भन्छन्। पहिले कहिलेकाहीँ गढी आउँदा सरसफाइको अभाव देखेर उनलाई मन दुख्थ्यो। 'कोही मान्छे भए राम्रो हुन्थ्यो' भन्ने सोच मनमा पलाइरहन्थ्यो। पछि पुजारी खोजिएको खबर आयो। खोज्दै जाँदा उनी आफैं बसे। हरेक दिन बिहान ६ बजे गेट खोल्नु र बेलुका ६ बजे बन्द गर्नु उनको नियमित काम हो। घरबाट हिँडेर आउँदा एक घण्टा लाग्छ, सवारीमा पाँच–सात मिनेट। छोरोले बिहान ल्याइदिने र बेलुका लिन आउने गर्छ।
'कोही भगवानको आस्थाले आउँछन्, कोही रमाइलो हेर्न आउँछन्, कोही फोहोर गर्छन्,' उनी भन्छन्, 'भित्र फोहोर नगर्नु भनेर अनुरोध गर्नुपर्छ।' जीवनका धेरै राजनीतिक कालखण्ड देखेका घिमिरे १३ वर्षकै उमेरदेखि मतदान गर्न गएको सम्झिन्छन्। निर्दलीय र बहुदलीय दुवै व्यवस्था भोगेका उनी अहिलेको विकासप्रति भने सन्तुष्ट छैनन्। 'धेरै विकास भन्छन्, तर केही पनि भएको छैन,' उनी स्पष्ट भन्छन्, 'पहिले बनाएको बलियो हुन्थ्यो, नबनाए पनि डाँडा-काँडा भत्किएका थिएनन्।'
उनको भनाइमा गाउँमा घरघर बाटो बनाइएको छ, तर त्यसको औचित्य छैन। 'नाम्लो बोकेर कमाउनेको रोजगारी खोस्यो। युवा सबै विदेश गए। गाउँमा कोही मरे पनि बुढाबुढीले घिसारेर लैजानुपर्छ,' उनी दुखेसो पोख्छन्। चुनावको कुरा गर्दा उनी दिक्क मान्छन्। 'अब नसोध्नु,' भन्छन्, 'हामी धेरै पटक भोट हाल्यौं, अवस्था उस्तै छ।'
घिमिरेको बाँकी जीवन पनि यहीँ बिताउने सोच छ। 'सकुन्जेल भगवानको सेवा गर्छु,' उनी भन्छन्। उनका लागि मकवानपुरगढी केवल ढुंगामाटोको संरचना होइन; यो उनको जीवनको उत्तरार्धको आश्रय हो, आस्थाको केन्द्र हो, र इतिहाससँग जोडिएको जिम्मेवारी हो।
चिसो हावामा गढीको प्राचीन पर्खाल चुपचाप उभिएको थियो। त्यसै पर्खालझैं चन्द्र प्रसाद घिमिरे पनि अडिग देखिन्थे, समयका उतारचढाव, राजनीतिक परिवर्तन र विकासका नाराबीच आफ्नै विश्वासमा दृढ । सायद यहीँ, इतिहासको काखमा बसेर, उनी आफ्नो बाँकी समय बिताउनेछन् ।


