काठमाडौँ। हामी रिपोर्टिङको क्रममा नक्सालस्थित नारायण चौर पुग्दा त्यहाँको वातावरण शान्त थियो । पारिलो घाम तापेर बसिरहेका दुई वृद्धसँग हामीले कुराकानी सुरु ग¥यौँ । अघिल्लो पुस्ताका प्रतिनिधिका रूपमा उनीहरूसँग कुरा गर्दा थाहा भयो— एकजना रामेछापका लीला बहादुर कार्की र अर्का चितवनका हरि थापा रहेछन् ।
जीवनका अनेकौँ उकाली–ओराली र अनुभवका तरेलीहरू पार गरिसकेका उनीहरू आफूलाई ’डाँडामाथिको घाम’ का रूपमा चित्रण गर्छन् । उनीहरूले राणाकालको अन्त्यतिरको झल्को पाए भने राजाको शासनकाल पूर्ण रूपमा भोगे । आफ्नो बाल्यकाल सम्झिँदा उनीहरु अहिलेको समयभन्दा निकै फरक महसुस गर्छन्।
‘त्यस बेला अहिलेको जस्तो बोल्न पाइँदैनथ्यो,’ उनीहरु विगत कोट्याउछन्, ‘गाउँमा प्रधानपञ्च र ठालुहरूकै हालीमुहाली हुन्थ्यो । समस्या ठुला हुन्थे, समाधानका बाटाहरू प्रायः बन्द। राजाको एकलौटी कानूनका कारण गाउँका प्रधानपञ्च विरुद्ध बोल्ने जोकोहीले थुनामा जानुपर्ने बाध्यता थियो। कसैले केही लेखिहाले हात काटिने डर हुन्थ्यो, गरिब जनता शोषित थिए।’
त्यो समय यस्तो थियो कि कसैको गोठमा टन्न खसी–बोका भए पनि ‘यो मेरो हो’ भनेर ढुक्क हुने अवस्था थिएन । शासकले चाहेको खण्डमा तत्कालै सुम्पिनुपथ्र्यो । भन्छन् ‘अहिले सुनाउँदा त दन्त्यकथा जस्तो लाग्छ।’
हिजो ठुलाठालुका गल्तीलाई गल्ती नमानिने समाज थियो । आज कानूनको कठघरा त बनेको छ, तर त्यहाँ पनि ’कानुन किनबेच’ भएको देख्दा उनीहरु निकै दुखी हुन्छन् । विगतमा उत्पादन कम हुँदा पेट भर्नै धौ–धौ हुने दिनहरू सम्झँदै उनीहरु भन्छन् — ‘जे भए पनि अहिले खुलेर बोल्न पाइएकोमा भने सन्तोष लाग्छ।’ तर, भ्रष्टाचारको जालो हिजो पनि थियो, आज पनि कायमै रहेको उनीहरुको बुझाइ छ ।
भारतीय सेनाबाट अवकाश पाएको ३५ वर्ष भइसकेका हरि थापा प्रत्येक निर्वाचनमा देश बदलिने आशाले मतदान गर्छन् । तर, पुराना त के नयाँ भनिएका दलका नेताहरू पनि भ्रष्टाचारका मुद्दामा मुछिएको देख्दा उनलाई दिक्क लाग्छ ।
देशले कसरी निकास पाउला ? हाम्रो यो प्रश्नमा उनीहरु अब देशको बागडोर युवाको हातमा आउनुपर्ने बताउँछन् । नयाँ पुस्ताप्रति आशावादी हुँदै उनीहरु भन्छन्, ‘पुराना नेताले नगरेको काम अब आउने पुस्ताले गर्नेछ भन्ने विश्वास छ ।’
राजनीतिक बेथिति र दलहरूको प्रवृत्ति देख्दा कहिलेकाहीँ उनीहरुलाई ‘राजा नै आइदिए हुन्थ्यो’ भन्ने पनि लाग्छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैँ, व्यवस्थाहरू फेरिए पनि नेपाल सधैँ एउटा ’प्रयोगशाला’ मात्र बनिरहेको उनीहरूको ठम्याइ छ । उनीहरू कहिलेकाहीँ सैनिक शासनकै बारेमा पनि सोच्छन् । किनकी उनीहरूलाई जनताको मर्म बुझ्ने नेतृत्व चाहिएको छ ।
नेपाली माटोप्रति यी दुई वृद्धको अगाध प्रेम छ । उमेरले डाँडा काटिसके पनि आफ्नै आँखा अगाडि देशले सही दिशा र निकास पाएको हेर्ने तीव्र इच्छा उनीहरूको आँखामा छर्लङ्ग देखिन्छ।
आसन्न निर्वाचन र नयाँ पुस्ताले देशलाई संकटबाट मुक्त गर्नेछ भन्ने झिनो आशामा उनीहरू छन् ।


