काठमाडौं। बाल अपाङ्ग टेवा संस्थाले स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव कार्यक्रम गरेको छ। बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित संस्थाको आफ्नै प्रांगणमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथि थिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधि दीपक रिजाल, बुढानिलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारी तथा वरिष्ठ गायक लाक्पा शेर्पा सहभागी थिए। साथै गायिका टिसी शेर्पा र फ्रुटी शेर्पाको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई टासी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो भने संस्थाको आधिकारिक टिकटक आईडीबाट पनि लाइभ गरिएको थियो।
संस्थाको आश्रयमा रहेका बालबालिकाले सारंगी र मादल वादनको प्रस्तुति दिँदै कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममार्फत संस्थाका पूर्व अध्यक्ष ध्रुबराज न्यौपानेलाई बिदाई गरियो। योसँगै नयाँ कार्यसमितिको नामावली पनि सार्वजनिक गरिएको छ। जसमा डेन्डी शेर्पा अध्यक्ष, आनन्द ढकाल उपाध्यक्ष, शुसिला भण्डारी सचिव तथा गोविन्द न्यौपाने कोषाध्यक्षका रुपमा रहेका छन्। साथै, सदस्यमा छेपाल शेर्पा, देवकी श्रेष्ठ, सरोज धिताल, रोमा तामाङ र किमाङ शेर्पा रहेका छन्।
नवनियुक्त अध्यक्ष डेन्डी शेर्पाले संस्थाको २० वर्षे यात्राको स्मरण गर्दै अपाङ्गता भएका धेरै बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। प्रमुख संस्थापक समेत रहेका उनले नेपालमै पहिलो पटक ह्वीलचियर निर्माण गर्ने काम आफ्नो संस्थाले सुरु गरेको बताउँदै सरकारी तथा गैरसरकारी सहयोगका कारण सम्भव भएको उल्लेख गरे। अबको एक वर्षभित्र ह्वीलचियर बनाउने जनशक्ति सातै प्रदेशमा विस्तार गर्ने योजना पनि रहेको उनले जानकारी दिए। साथै, अपाङ्गता भएका नागरिकलाई राज्यले अझ गम्भीर रूपमा हेर्नुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले संस्थाको कामको प्रशंसा गर्दै बुढानिलकण्ठ नगर अस्पतालबाट संस्थामा आश्रित सबै बालबालिकालाई निशुल्क उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी वडाध्यक्ष राजु अधिकारीले आफूले गर्न नसकेको काम संस्थाले गरेको भन्दै गर्व व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
संस्थाका शुभेच्छुक धर्म अधिकारीले टिकटक लाइभमार्फत शुभकामना व्यक्त गरे। कार्यक्रमको अन्त्यमा बोल्दै संस्थाका पूर्व अध्यक्ष न्यौपानेले डेन्डी शेर्पाको अगुवाइमा पर्यटन व्यवसायमा संलग्न रहँदै संस्था स्थापना गरिएको स्मरण गर्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको बताए।
कार्यक्रममा वरिष्ठ गायक तथा गायिकाबाट सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। साथै, संस्थाको वार्षिकोत्सवकै अवसरमा विभिन्न व्यक्तित्व तथा साझेदार संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो।
....


