काठमाडौं। ‘आरामै हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो— ‘देशको अवस्था यस्तो छ, के आराम हुनु!’
एक समयकी चर्चित अनुहार हुन् तारा बराल। आजको युथ भोइसमा उनैसँग कुराकानी गरेका छौँ।
चुनावको माहोल तातिँदै जाँदा तारा बराल भन्छिन्, ‘चुनावमा कुनै पार्टीले जित्नु ठूलो कुरा होइन, देशले जित्नुपर्छ।’ चुनाव आउनु कुनै दललाई विजेता बनाउनु मात्र होइन, देशलाई जिताउने अवसर हुनुपर्ने उनी बताउँछिन्। देशको चाबी सीमित व्यक्तिहरूको हातमा दिँदा देशको अवस्थामा कुनै परिवर्तन नआउने भन्दै उनी इमानदार नेतृत्वको आवश्यकता औँल्याउँछिन्।
उनका अनुसार जबसम्म बहुदलीय व्यवस्था रहन्छ, तबसम्म नेपाल र नेपाली ठीक रहँदैनन्। विगतलाई हेर्ने हो भने निर्वाचन नहुँदा देशले निकास पाएको उनको दाबी छ। तारा अहिलेसम्म देशमा वास्तविक परिवर्तन नआएको बताउँछिन्। अहिलेको राजनीतिक माहोल नेपालीहरूले होइन, विदेशी शक्तिले तातेको उनको भनाइ छ। ‘जसको धेरै चर्चा छ, उसैलाई भोट नहालौँ,’ भन्दै उनी सचेत रहन सल्लाह दिन्छिन्।
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि नेपाललाई मध्यावधि निर्वाचनतर्फ धकेल्दै नयाँ शक्तिलाई भित्र्याउने प्रयास र नेपालमा एमसिसी ल्याउन ‘जेन–जी आन्दोलन’ प्रयोग गरिएको उनी दाबी गर्छिन्।
उनले प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गर्दै भनिन्— अरू काम गर्दा कानुनले नदिने तर एमसिसीका लागि भने २७ हजार ५ सय रोपनी जग्गा किन छुट्याइयो?
एमसिसी प्रयोजनका लागि छुट्याइएको जमिनमा कुनै पनि नेपालीले केही बनाउन नपाउने गरी कानुनी रूपमा कार्यान्वयन गरिएको उनी बताउँछिन्।
भदौ २३ र २४ को आन्दोलनमा धेरै कैदीहरूलाई गोली हानियो, तर रवि लामिछानेलाई किन खुला छोडियो? धेरै कैदी झुटा मुद्दामा परेका छन्, तर रविलाई मात्रै किन हाइलाइट गरियो? किन रवि र बालेन आफ्नो क्षेत्रबाट चुनावमा उठेनन्? किन उनीहरू नयाँ क्षेत्रमा पुगे? यस्ता थुप्रै प्रश्नको उत्तर खोजिरहेकी छन् तारा।
उनको तर्क छ— आफ्नै क्षेत्रमा सबैले राम्ररी चिनेका कारण हार्ने डरले उनीहरू नयाँ क्षेत्रमा गएका हुन्। पुराना दललाई देखाउन र उनीहरूको खिल्ली उडाउनका लागि नयाँ ठाउँ रोजिएको उनको भनाइ छ। उनी भन्छिन्, ‘पहिले राजतन्त्र ल्याएर मात्र चुनावको सुरुवात गर्नुपर्छ, अहिलेको चुनाव हुनु हुँदैन।’
तारा भन्छिन्, ‘नेपाली जनता जीउँदा लास भइसकेका छन्, किनकि आफ्नै देशको अर्थतन्त्र बुझ्दैनन्, हितका लागि बोल्दैनन्, दमनमा परेर पनि आवाज उठाउँदैनन्।’ यही कारण देशको अवस्था यस्तो भएको भन्दै अन्यायविरुद्ध आवाज उठाउन उनी सबैलाई आग्रह गर्छिन्।


