Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अनिलको बैसाखी, कम्प्युटर

अनिलको बैसाखी, कम्प्युटर

शुक्रबार, माघ ९ २०८२
शुक्रबार, माघ ९ २०८२
  • ललितपुर। ललितपुरका ४९ वर्षीय अनिलकुमार महर्जन जन्मजातै अस्टियोपोरोसिसका बिरामी हुन्। यो यस्तो रोग हो, जसले हड्डीहरू असाध्यै कमजोर बनाउँछ। सामान्य ठक्कर वा लडाइँले पनि हड्डी भाँचिन सक्छ।

    images

    अनिलको कठोर नियति भन्नुपर्छ—यो रोग उनलाई मात्र नभएर उनका भाइ र आमासमेतलाई भयो। तर अरूभन्दा जटिल र संवेदनशील उनको स्वास्थ्य छ। ‘आमाले त खाना पकाउन सक्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘सामान्य हिँडडुल पनि गर्न सक्नुहुन्थ्यो। भाइको पनि अवस्था त्यस्तै हो।’

    बाल्यकालमा उनी साथी–भाइसँग खेल्न जान्थे। तर बारम्बार लड्ने र ठक्कर लाग्दा हड्डी टुट्थ्यो। उनले यस्तै विभिन्न घटनाक्रमले टारे १६ वर्ष, जसमा आधा समय त अस्पतालमै बिताए।

    त्यतिखेर अहिलेजस्तो सहज र सुलभ उपचार प्रणाली थिएन। महिनौँ अस्पतालमा बस्नुपर्थ्यो। भन्छन्, ‘१६ वर्षमा करिब ८ वर्ष त अस्पताल धाएरै बिते। मेरा लागि ती वर्ष निकै उराठलाग्दा भए।’

    सानोमा कम्प्युटरप्रति खुब लगाव थियो उनको। कम्प्युटरका पार्टपुर्जा र प्रविधि हेरेर उनी घण्टौँ घोरिन्थे। यही स्वभावले अनिल पछि कम्प्युटर सिकाउने इन्स्टिच्युटमा पढाउने भए र यसैलाई जीवनको बैसाखी बनाए।

    फरक शारीरिक क्षमता भएकैले अनिल स्कुल जान पाएनन्। औपचारिक शिक्षा नभए पनि घरमै पढे। एसएलसी दिने समयमा मात्र विद्यालय गएको उनी सम्झन्छन्। यत्तिकैमा उनका बुबाले संसार छोडेर गए। परिवारको जिम्मेवारी उनको काँधमा आयो। शारीरिक रूपमा कमजोर, घरको जेठो छोरा, आमाको बुढ्यौली उमेर र भाइको स्वास्थ्य अवस्था—यी सबैले उनलाई धेरै पिरोल्थ्यो।

    उनी ती दिन सम्झन्छन्, ‘बुबाको निधनपछि परिवारको सबै जिम्मेवारी मैले सम्हाल्नुपर्‍यो। त्यसपछि पढाइलाई राम्रोसँग निरन्तरता दिनै सकिन। एसएलसी सकेको ७ वर्षपछि मात्र ११ र १२ पढेँ, त्यो पनि घरमै।’

    कोभिडमा आमाको समेत निधन भएपछि उनी एक्ला भएका छन्। तर एक उनको सहारा छ—त्यही कम्प्युटर! बुबाप्रति उनी कृतज्ञ छन्। परिवार र समाजसँग घुलमिल त परको कुरा, बोल्दा पनि रोग सर्छ भन्थ्यो समाज। अपाङ्गता भए पनि परिवारको सहयोगले कहिल्यै आफूलाई कमजोर महसुस गर्न नपरेको उनी बताउँछन्, जसको सबै श्रेय उनी बुबालाई दिन्छन्।

    बुबाको मृत्युपछि उनको परिवारको अवस्था नाजुक बन्यो। यो अवस्था नजिकबाट निहालेका एक जना आफन्तको सल्लाहमा उनले इलेक्ट्रिकल पसल खोले। पसलले घरखर्च चलाउन सहज बनायो।

    पसलसँगै उनले विवाह, ब्रतबन्धजस्ता कार्यक्रमको भिडियो खिच्ने काम पनि गर्थे। तर भिडियो अपेक्षाअनुसार नभएको गुनासो आउन थाल्यो। सीप नसिकी गरेको कामले ग्राहक सन्तुष्ट नभएपछि उनले भिडियो एडिट गर्न सिके। एडिटिङ सुरु गरेपछि पसलको जिम्मेवारी भाइलाई सुम्पिए।

    आज नेपालका कलाकारहरूले उनलाई काम दिन्छन्, म्युजिक भिडियो सम्पादन गर्छन् उनले। साथै, एक–दुई फिल्म पनि सम्पादन गरेका छन्। अरू मानिसजस्तो हिँडडुल गर्न नसके पनि काम दिन ग्राहकहरू घरमै पुग्छन्।

    लामो समय भिडियो सम्पादन गरेपछि अनिललाई अब फिल्म निर्देशन गर्न मन छ। उनले एउटा फिल्मको स्क्रिप्ट पनि लेख्दैछन्।

    अनिल शारीरिक रूपमा फरक क्षमताका भए पनि मानसिक रूपमा भने सबल छन्। ‘म त मेरो कामप्रति असाध्यै सन्तुष्ट छु,’ उनी खुसी व्यक्त गर्छन्, ‘मेरो परिवार पनि खुसी छ।’

    खुसी हुनका लागि अनिलको एउटै सुझाव छ। भन्छन्—जहिल्यै पनि आफूभन्दा तलकोलाई हेर्नुहोस् र आफू र आफ्नो परिस्थितिलाई स्वीकार्नुस्।

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij