काठमाडौं। नुवाकोटमा जन्मिएका धनबहादुर लामा करिब ५२ वर्षअघि, वि.सं. २०३० सालतिर काठमाडौँ आए। त्यतिखेर उनी जम्मा २४ वर्षका थिए। विवाह गरिसकेका थिए। नुवाकोटबाट काठमाडौँ आउने एउटै कारण थियो- जीवन सहज बनाउने।
आज कङ्क्रिटले भरिएको सहरका रूपमा चिनिने काठमाडौँ त्यतिबेला जंगल, खेत र खुला जमिनले ढाकिएको ठाउँ थियो। सडक सञ्जालको विकास भइसकेको थिएन र अहिले घना बस्ती बनेका स्थानहरूमा राति स्याल र बाघ कराउने गर्थे। उनी पूरानो काठमाडौं सम्झिन्छन्, ‘काठमाडौँको त्यो रूप अहिलेको पुस्ताले कल्पनासमेत गर्न गाह्रो मान्ने खालको थियो। हामीलाई राति बाहिर हिड्नै डर लाग्थ्यो।’
काठमाडौँ आएपछि उनले जीवन गुजाराका लागि विभिन्न श्रमका काम गरे। भारी बोक्ने कामदेखि खेतीपातीसम्म उनले जे काम पाए पनि गरे र कहिल्यै श्रमबाट भागेनन्। कठिन परिस्थितिमा पनि उनले इमान्दारितालाई आफ्नो जीवनको मूल आधार बनाए। नचोर्ने, नढाँट्ने र आफ्नै पसिनाबाट जीविकोपार्जन गर्ने उनको अडान जीवनभर रह्यो। यही मूल्य–मान्यताले उनलाई आत्मसम्मानसहित बाँच्न सिकायो।
त्यस समयमा काठमाडौँको खेतीपाती अहिलेभन्दा पूर्णतः फरक थियो। लामाले यहाँ मकै, धान, गहुँ र कोदो जस्ता अन्नबाली उत्पादन गरे। काठमाडौँ उपत्यकामा हलो जोत्न नपाइने सामाजिक नियम भएकाले खेतीपाती कोदालो प्रयोग गरेरै गरिन्थ्यो। यस्तो प्रणाली श्रमसाध्य भए पनि मानिसहरू त्यसैमा अभ्यस्त थिए।
धनबहादुरको सुरूवातदेखीको बसाई विष्णुमती नदी आसपास भयो। विष्णुमती स्वच्छ र प्राकृतिक रूपमा बगेको समय पनि देखे उनले, जुन पछि अनियन्त्रित बालुवा उत्खनन र अतिक्रमणका कारण आफ्नो पुरानो स्वरूप गुमाउँदै गयो।
राजनीतिक परिवर्तनका धेरै चरणहरू उनले आफ्नै आँखाले देखे। शासन प्रणाली फेरिए, सरकार बदलिए, तर गरिब र श्रमिक वर्गको अवस्था उस्तै रह्यो भन्ने उनको अनुभव छ। नेताहरूले जनताको नाममा राजनीति गरे पनि व्यवहारमा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको उनको बुझाइ छ। ‘त्यसैले अब पुराना र दोहोरिएका नेतृत्वभन्दा नयाँ सोच, इमानदारी र काम गर्ने इच्छाशक्ति भएका युवाहरूलाई अवसर दिनुपर्छ’ उनी बताउँछन्।
आर्थिक कमजोरीका कारण औपचारिक शिक्षा लिन पाएनन् उनले। ‘त्यसबेला विद्यालयमा नाम लेखाउनसमेत एक रुपैयाँ र एक माना चामल बुझाउनुपर्ने व्यवस्था थियो, जुन मैले सकिनँ’ उनी भन्छन्। विद्यालयहरू पनि निकै टाढा–टाढा रहेका कारण पढ्न चाहने विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने अवस्था थियो। यही कारण उनी पढाइभन्दा श्रमतर्फ मोडिए।
उनका एक छोरा र तीन जना नाति छन्। उनकी श्रीमतीको मृत्यु भएको करिब २२ वर्ष बितिसक्यो। ‘जीवनसाथी नभएपछि बुढ्यौली झन् एक्लो र कठिन हुँदो रहेछ’ उनी बताउँछन्। युवावस्थामा अथक रूपमा काम गर्न सक्ने उनी अहिले शारीरिक कमजोरीका कारण सीमित गतिविधिमा मात्र सन्तोष गर्न बाध्य रहेको बताउँछन्।
उनको विचारमा मान्छेको जीवन क्षणिक हुन्छ, माटो र खरानीजस्तै, जसको अस्तित्व कुनै पनि बेला समाप्त हुन सक्छ। त्यसैले छोटो जीवनमा गलत बाटो रोज्नुको सट्टा इमान्दार भएर परिश्रम गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। उनी नयाँ पुस्तालाई श्रमको सम्मान गर्न, आफ्नो कामप्रति निष्ठावान् रहन र असल कर्मलाई जीवनको आधार बनाउन सुझाउँछन्।


