Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

योगले बदलेको आदित्यको जीवन

योगले बदलेको आदित्यको जीवन

बुधबार, पुस २३ २०८२
बुधबार, पुस २३ २०८२
  • काठमाडौं। कोभिडको त्यो कठोर समय, जसले आदित्य श्रेष्ठ बस्नेतको सिन्दूर मात्र पुछेन, उनको जिउने इच्छा नै सुकाइदियो। श्रीमानको वियोगपछि घरभित्रै थुनिएकी आदित्यलाई एक दिन योगले स्पर्श गर्‍यो। सुरुमा ‘यो उमेरमा के उफ्रिनु’ सोच्ने उनलाई त्यही योगले मानसिक रूपमा पुनर्जन्म दियो। आज उनी बिहानै ५ बजे स्कुटर डोहोर्‍याउँदै समाजको सेवामा निस्कन्छिन्। अर्थात् आज उनी अरूलाई योग सिकाउने काममा व्यस्त हुन्छिन्। छोरा विदेशमा र छोरीको घरजम भइसकेको एक्लो घरमा उनी हार्मोनियम बजाउँछिन्, भजन गाउँछिन् र गीताको ज्ञानमा हराउँछिन्। ५९ वर्षको उमेरमा पनि युवाको जस्तो स्फूर्ति बोकेर हिँड्ने आदित्य भन्छिन्, ‘उमेर त केवल एउटा सङ्ख्या मात्र हो, असली शक्ति त मानिसको इच्छाशक्तिमा लुकेको हुन्छ।’

    images

    कोभिड-१९ को त्यो त्रासदीपूर्ण समयले आदित्यको जीवनमा एउटा यस्तो रिक्तता ल्यायो, जसलाई भर्न अब असम्भव छ। आफ्ना जीवनसाथीलाई गुमाएपछि उनी एक्लोपन र मानसिक पीडाको अँध्यारो कोठामा थुनिइन्। घरका चार पर्खालहरू उनलाई खान आउला झैँ गर्थे। ठिक त्यही बेला, एक साथीको सल्लाह उनको जीवनको नयाँ मोड बन्यो। सुरुमा त उनलाई लागेको थियो— यो उमेरमा के नाच्नु र उफ्रिनु? तर जब उनले योग साधना केन्द्रमा पाइला राखिन्, अनि उनलाई लाग्यो - योग केवल शरीर चलाउने कुरा मात्र होइन रहेछ, यो त आत्माको शुद्धिकरण रहेछ।

    आदित्यको लगन देखेर गुरुहरूले उनलाई प्रशिक्षक बन्न सुझाव दिए। त्यसपछि सुरु भयो— ३६ दिने कठोर साधना। चिसो बिहान, सुनसान सडक र आफ्नो स्कुटर— आदित्य हरेक बिहान ५ बजे तालिमका लागि निस्कन्थिन्। आज उनी आफैँ एक सफल योग प्रशिक्षक हुन्।

    धापाखेल ज्येष्ठ नागरिक समाजको हलमा उनी पौने पाँच बजे पुग्छिन्, त्यहाँका आमाबालाई उनी योग सिकाउँछिन्। साढे दुई घण्टासम्म चल्ने त्यो सत्रमा उनी केवल योग सिकाउँदिनन्, जीवनलाई नयाँ नजरले हेर्न सिकाउँछिन्। उनले सिकाएको योगले धेरै आमाबुबाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको उनको भनाई छ। ‘कोही चाहिँ आफ्नो शरीरमा नराम्रो प्रभाव पर्ने सोचेर गर्न मान्दैनन्’ आदित्य अनुभव सुनाउँछिन्।

    आदित्यका अनुसार योग कुनै बिरामी भएपछि खाने 'ओखती' मात्र नभएर सधैँ स्वस्थ रहने 'जीवनशैली' हो। उनी योगलाई जीवनशैलीसँग जोड्न सके राम्रो हुने बताउँछिन्। ‘ज्येष्ठ नागरिकलाई त यो अझ महत्वपूर्ण छ। यसले बुढेसकाल पनि तन्नेरीको जस्तो बनाउँछ’ उनी आफ्नै उदाहरण दिँदै यसो भन्छिन्।

    योग गर्न थालेपछि उनले चस्माको पावर घटाएकी छिन् भने उनले सिकाएका धेरैको रोगहरू निको भएको देख्दा छ।

    छोरा विदेशमा र छोरीको घरजम भइसकेको अवस्थामा धेरैले आफूलाई असहाय महसुस गर्छन्, तर आदित्य अलग छिन्। ‘जबसम्म हातगोडा चलेसम्म म कसैको बैसाखी बन्दिनँ,’ यही उनको जीवनको मूल मन्त्र हो। उनको सिक्ने भोकले उमेरलाई जहिले पनि गिज्याइरहेको छ। उनले ४१ वर्षको उमेरमा पानीसँग पौठेजोरी खेल्न सिकिन् भने ५४ वर्षको उमेरमा मात्र स्कुटरको लाइसेन्स हात पारिन्। अहिले उनी अनलाइनमार्फत भगवत् गीता वाचन गर्न सिक्दैछिन् र हार्मोनियमको धुनमा भजन गाउँछिन्।

    सधैँ सिकिरहन मनपराउने आदित्यलको जीवनका २७ वर्ष बालबालिकासँग बिते अर्थात् उनीहरूलाई पढाएर बिताइन्। त्यो समयले सायद उनी बुढ्यौलीमा पनि त्यस्तो देखिन्नन्। यो कुरा उनी आफैँ बताउँछिन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij