Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

ग्रिटः अनुसन्धान क्षेत्रमा नयाँ आयाम

ग्रिटः अनुसन्धान क्षेत्रमा नयाँ आयाम

आइतबार, पुस २० २०८२
आइतबार, पुस २० २०८२
  • काठमाडौं। शिक्षा र अनुसन्धान मानव सभ्यताको आधार हुन्। तर आज पनि संसारका धेरै ठाउँमा अनुसन्धान गर्ने सपना पैसा, पहुँच र अवसरको अभावमा अधुरो रहन्छ। यही चुनौतीका बीच नेपालबाट एउटा नयाँ आशा जन्मिएको छ ! ग्लोबल रिसर्च इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर, जसलाई छोटकरीमा ग्रिट (GRIT) भनिएको छ!

    images

    झट्ट हेर्दा ग्रिट एउटा संस्था मात्र जस्तो देखिन्छ, तर यसको उद्देश्य, काम र फैलावट हेर्दा यो वास्तवमा विश्वव्यापी ज्ञानको अभियान हो। यसका संस्थापकको नै दाबी छ कि ग्रिटको सञ्जाल विश्वका ५० भन्दा बढी देशमा छ। उनको अर्को दाबी पनि छ- अनुसन्धान क्षेत्रमा यो नयाँ आयाम हो।

    ग्रिटका संस्थापक हुन् डा. आशिष खनाल। नेपालको तराई क्षेत्रमा जन्मिएका डा. खनाल सीमित स्रोत र कठिन परिस्थितिकाबीच हुर्किए। जीवनमा असफलता नै सफलताको सूत्रधार बन्न सक्छ भन्ने उदाहरण उनी आफैँ हुन्। बीएस्सी परीक्षा दुई पटक असफल हुँदा उनका धेरै सपना टुटे ! तर यही असफलताले उनको सोचलाई अझ मजबुत बनायो।

    उच्च शिक्षाको लागि काठमाडौं आएपछि पनि उनको संघर्ष चलि नै रह्यो। उनी काम गर्दै पढ्न थाले। यसैबीच उनले विवाह गरे, अध्ययन अघि बढाए र जीवनका जिम्मेवारीसँग सन्तुलन मिलाउँदै अगाडि बढे। समयसँगै उनलाई आफ्नो सपना फुल्दै गएको महसुस हुन्थ्यो।

    अझै निखारिने चाहनाले उनले पिएचडीको तयारी थाले। सन् २०१९ को सुरुवाततिर पिएचडी गर्नकै लागि उनले चलिरहेको जागिर छोडे। तर वर्षको अन्त्यतिर परिस्थिति अचानक बदलियो। संसारभर फैलिएको कोभिड–१९ को महामारीले उनको जीवनलाई पनि गम्भीर रूपमा असर गर्‍यो। नवजात शिशु, सुत्केरी श्रीमती र आम्दानीको अभाव, त्यसमाथि उनी स्वयं कोविड संक्रमित भए-यी सबैले उनलाई गहिरो संकटमा पुर्‍यायो। डा. खनालका लागि त्यो समय जीवनकै सबैभन्दा कठिन चरण थियो। र यहि समय थियो ग्रिटको बिज! उनी कोविडको समयलाई जीवनकै टर्निङ् पोइन्ट र फ्रस्ट्रेसनको आउटपुट भन्छन्।

    झन्डै तीन वर्षको संघर्ष र अभावले उनीभित्र केही नयाँ, केही फरक” गर्ने चाहना अझ बलियो बन्दै गयो। अन्ततः सन् २०२३ मा यही सोचबाट ग्रिटको जन्म भयो।

    सानो प्रयासबाट सुरु भएको सोही अभियान आज विश्वव्यापी बनेको छ। ग्रिटले निःशुल्क रूपमा अनुसन्धान परामर्श, तालिम र एकेडेमिक बहसहरू संसारभर सञ्चालन गरिरहेको छ। ग्रिटका सेमिनार, सम्मेलन र जर्नलहरूले अनुसन्धानकर्तालाई विश्वमञ्चसँग जोडिरहेका छन्। आज ग्रिट ५० भन्दा बढी देशमा फैलिएको छ, र २०० भन्दा बढी अनुसन्धान विशेषज्ञहरू यस अभियानसँग आबद्ध छन्।

    पैसा, भूगोल वा पृष्ठभूमिका कारण कसैको अनुसन्धान गर्ने अधिकार खोसिनु हुँदैन। यसैलाई ग्रिटले मूल मन्त्र बनाएको छ। ग्रिटको सबैभन्दा ठूलो शक्ति यसको समावेशी संजाल हो। यहाँ विद्यार्थी र अनुसन्धानकर्ता बीच कुनै पदीय सीमा छैन । सबै बराबर छन्, सबै सिक्ने र सिकाउने यात्रामा सहभागी छन्।

    शासकीय सीमाहरू तोड्दै, अनुसन्धानलाई सबैका लागि सम्भव बनाउँदै ग्रिटले आफ्नो सञ्जाल निरन्तर विस्तार गरिरहेको छ। नेपालबाट सुरु भएको यो यात्रा आज विश्वभर फैलिँदै गर्दा डा आशिसले नै विश्वामै नयाँ आयाम भएको दाबी गर्छन् ! उनको दाबी शतप्रतिसत सत्य हो कि होइन, त्यो त अर्को अनुसन्धानको विषय होला। तर नेपालबाट जन्मिएको सानो सोचले ५० भन्दा बढी देशमा संजाल फैलिनु नेपालको लागि गर्वको विषय भने पक्कै हो !

    आशिष खनालको नवीन सोचले आज संसारभरीका अनुसन्धानकर्ता र विद्यार्थीलाई जोड्ने काम गरेको छ। आशिषको यो उदाहरणीय कामबाट तपाईले पनि केहि सिक्ने कि !

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij