Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सफाईवालाको कथा

सफाईवालाको कथा

आइतबार, पुस २० २०८२
आइतबार, पुस २० २०८२
  • काठमाडौं। हरेक बिहान ६ बजेबाट उनको काम सुरु हुन्छ। उनका साथी सिटी फुक्दै टोल छिर्छन्, उनी र अर्का एक साथी गाडीमा फोहोर लोड गर्न व्यस्त हुन्छन्। काठमाडौँका साँघुरा गल्लीहरूमा गाडी छिर्न नसक्ने ठाउँबाट उनले फोहोरका भारीहरू आफैँले बोकेर गाडीसम्म पुर्‍याउनुपर्छ। पछिल्ला दश वर्ष जितबहादुर तामाङको दैनिकी यसैगरी बितिरहेको छ।

    images

    शारीरिक रूपमा यो काम निकै चुनौतीपूर्ण छ, तापनि दिउँसो १ देखि ३ बजेभित्र काम सकिने हुनाले उनी सन्तुष्ट छन्। बाँकी समयमा अन्य काम गरेर थप आम्दानी गर्ने अवसर उनलाई मिल्छ।

    काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउरालीका ३९ वर्षीय जितबहादुर आफ्नै गाउँका नाता पर्ने दाइको सङ्गत र प्रेरणाले यस पेसामा जोडिएका थिए। हाल काठमाडौँमा श्रीमतीसँग बस्दै आएका उनका वृद्ध आमाबुबा गाउँमा छन् भने दुई बहिनीहरू वैदेशिक रोजगारीमा छन्।

    कामका दौरान उनले थुप्रै जोखिमहरू झेल्नुपर्छ। फोहोरका पोकाभित्र लुकेका सिसाका टुक्रा वा प्रयोग गरिएका सुईहरूले गर्दा कतिपय अवस्थामा उनको हात काटिने र चोट लाग्ने डर हुन्छ। यति मात्र होइन, सिसडोल ल्यान्डफिल साइट बन्द हुँदा वा प्राविधिक कारणले फोहोर उठाउन ढिलो भएमा स्थानीय बासिन्दाहरूको गाली र खप्की समेत उनले सहनुपर्छ। तर, उनी प्रतिवाद गर्नुको साटो धैर्य धारण गर्छन् र ‘नमस्कार’ गर्दै नम्रताका साथ समस्या बुझाउने प्रयास गर्छन्।

    सुरुका एक–दुई वर्षसम्म उनले गाउँमा भएका आमाबुबालाई आफूले फोहोर उठाउने काम गर्छु भनेर खुलेर भन्न सकेनन्। नगरपालिकामा काम गर्छु मात्र भन्थे। तर, पछि वास्तविकता थाहा पाएपछि पनि परिवारले उनलाई तिरस्कार गरेन। बरु, ‘आफ्नै प्रगतिका लागि हो, मेहेनत गरेर काम गर’ भन्दै पूर्ण समर्थन दियो। यही परिवारको साथले नै उनलाई काममा थप हौसला मिलेको छ।

    आफ्नो लामो अनुभवका आधारमा जितबहादुर भन्छन्-‘यदि नागरिकहरूले घरमै कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राखिदिने र सुई वा सिसा जस्ता खतरनाक वस्तुहरूलाई छुट्टै राख्ने गरेमा हाम्रो काम निकै सहज र सुरक्षित हुने थियो।’ सरकारले फोहोर व्यवस्थापनका लागि उचित जग्गाको व्यवस्था गरिदिए सार्वजनिक ठाउँमा फोहोर थुप्रिने समस्या कम हुने उनको विश्वास छ।

    जितबहादुरको भूमिका सहरको 'रोग प्रतिरोधात्मक प्रणाली' जस्तै हो। मानिसहरूले उनको कामलाई सानो नजरले हेरे पनि, सहरलाई स्वस्थ र सफा राख्न उनको योगदान अपरिहार्य र अतुलनीय छ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij