काठमाडौं । 'काँडाले भरिएको बाटोमै पनि फूल फुल्न सक्छ, यदि हिँड्ने आँट र विश्वास आफैँभित्र बलियो छ भने...'
यो भनाइ शान्तलक्ष्मी श्रेष्ठको हो।
कुनै समय थियो, जब छोरी हुनु नै सीमाको नाम थियो। घरको आँगन नाघ्नु चुनौती, विद्यालय सपना, र बोल्नु अपराधजस्तै लाग्थ्यो। त्यही समय, त्यही समाज र त्यही परिवेशभित्र हुर्किएकी हुन् शान्तलक्ष्मी श्रेष्ठ। आज उनको नाम महिला अधिकार र जेष्ठ नागरिक अधिकारको क्षेत्रमा एउटा प्रेरणादायी इतिहास बनेर उभिएको छ। तर यो इतिहास कुनै सहज यात्राबाट बनेको होइन। यो निरन्तर संघर्ष, आत्मबल र नथाक्ने यात्राको परिणाम हो।
बाल्यकालमै उनले नजिकबाट देखिन् । आमाको मौन पीडा, दिदीबहिनीहरूको दबिएको दुःख र समाजले महिलालाई हेर्ने विभेदपूर्ण दृष्टि। ती पीडालाई उनी केवल टुलुटुलु हेरेर बस्न सकिनन्। त्यही अनुभूतिले उनको मनमा एउटा गहिरो प्रश्न जन्मायो, 'के महिलाको जीवन यत्तिमै सीमित हुनुपर्छ र?' यही प्रश्न पछि गएर संकल्प बन्यो, र संकल्प क्रमशः कर्ममा रूपान्तरण भयो।
उनको जीवनमा प्रेरणाको सबैभन्दा बलियो स्रोतमध्ये एक थिइन्, उनकी दिदी विद्यालक्ष्मी जोशी। छोरीलाई पढाउनु हुँदैन भन्ने सोच हावी भएको समाजमा, विद्यालय गएर निरन्तर प्रथम हुँदै बाबुसामु आत्मविश्वासका साथ उभिनु एउटा साहसिक कदम थियो। दिदीको यही आँटले शान्तलक्ष्मी श्रेष्ठको सोचलाई नयाँ दिशा दियो। एक जनाको साहसले अरूका लागि पनि बाटो खोलिदिन्छ भन्ने विश्वास बलियो बनायो।
महिला विकास अधिकृत बनेर गाउँ–गाउँ पुग्दा उनले केवल दुर्गम भूगोलको कठिनाइ होइन, समाजभित्र गहिरो गरी जरा गाडेको मानसिक विभेदको सामना पनि गर्नुपर्यो। महिला अधिकृतलाई ‘परिवार नियोजनको कार्यकर्ता’, ‘घरबाट निकालिएकी’, ‘खान नपाएर आएकी’ जस्ता आरोप लगाइन्थ्यो। तर उनले प्रतिवाद शब्दले होइन, धैर्य, संवाद र कर्ममार्फत गरिन्। श्रीमान्, परिवार र समाजलाई विश्वासमा लिएर फिल्डमा निस्किनु आफैँमा त्यो समयको सन्दर्भमा एउटा क्रान्तिकारी कदम थियो।
काभ्रेदेखि अछाम, बाजुरा र दडेलधुरासम्म पुग्दा उनले देखेको महिला जीवन अत्यन्तै पीडादायी थियो। नामै नहुने महिलाहरू, बैंकमा ऋण लिन नाम राखिदिनुपर्ने अवस्था, महिनावारी र सुत्केरी हुँदा गोठमा बस्न बाध्य पारिने छाउपडी प्रथा यी दृश्यहरूले उनलाई केवल विचलित मात्रै गरेनन्, अझ दृढ बनायो।
शान्तलक्ष्मी श्रेष्ठले जीवनभर अधिकारकै वकालत गरिन् । कहिले महिलाका लागि, कहिले बालबालिकाका लागि। दशकौँसम्म महिला अधिकारको क्षेत्रमा सक्रिय रहेपछि उनको यात्रा जेष्ठ नागरिक अधिकारतर्फ मोडियो। उनका लागि यो कुनै नयाँ क्षेत्र थिएन, बरु जीवनको स्वाभाविक निरन्तरता थियो।
आज, जब सन्तान विदेशिँदै छन् र बुढाबुढीहरू एक्लिँदै गएका छन्, उनी जेष्ठ नागरिकलाई पनि विशेष अधिकार, सम्मान र संरक्षण आवश्यक छ भन्ने आवाज निरन्तर उठाइरहेकी छिन्।


