काठमाडौं। 'यो देशमा किन जन्मिएछु जस्तो लाग्छ!'
विष्णु घिमिरेले कुन भावले यो बोले, उनैलाई थाहा होला। तर हामी अनुमान लगाउन सक्छौँ- व्यस्त सहरको साँघुरो कोठामा असहाय जीवन, श्रीमती पनि अशक्त, टेबल वर्क पनि नपाउनु, र छोराछोरीको अनिश्चित भविष्य। त्यसमाथि देशको अस्थिर राजनीति! उनी सामाजिक सञ्जाल हेर्दा हुन्। सोच त आउँदो हो, धेरै कुरा गर्न। तर ज्यानले केहि गर्न नदिएपछि...। उनलाई अबुझ समाजको पनि डर लाग्दो हो। अपाङ्गता भएका व्यक्तिलाई सम्मान दिने समाज छैन हाम्रो!
मूल घर खोटाङ भएका विष्णुको समस्या ६ वर्षको उमेरमा एउटा सानो पिलोबाट सुरु भएको थियो। त्यसैलाई उनकी हजुरआमाले फुटाइदिएपछि भोलिपल्टैदेखि उनका दुवै खुट्टा 'क्लब फुट' (बाङ्गो) भए र बिस्तारै उनी हिँड्न नसक्ने भए।
अहिले ३० वर्ष पुगेका विष्णु मस्कुलर डिस्ट्रोफीबाट ग्रसित छन् र हिँडडुल गर्नका लागि इलेक्ट्रिक ह्विलचेयरको सहारा लिन्छन्। करिब डेढ देखि दुई लाख पर्ने यो ह्विलचेयर उनले आफैँ किन्न सक्दैनन्। अहिले भएको ह्विलचेयर एक विदेशी नागरिकले उनलाई दान दिएका हुन् ।
विष्णुको परिवारमा उनीसँगै उनकी श्रीमती, ११ वर्षकी छोरी र ३ महिनाको छोरा छन्। उनकी श्रीमती पनि अशक्त छिन्, उनको एउटा खुट्टा जलेका कारण काट्नु परेको थियो। उनलाई पनि हिड्न कृत्रिम खुट्टाको सहयोग चाहिन्छ।
काठमाडौँको लाजिम्पाट स्थित एउटा सानो भाडाको कोठामा विष्णु घिमिरेको परिवार बस्छ। काठमाडौँमा उपचारका लागि आएका उनले १२ कक्षासम्म त पढे, तर शारीरिक अवस्थाका कारण उनको पढाइ र रोजगारीको बाटो सहज हुन सकेन।
विष्णु अरूको भर पर्नुभन्दा आफ्नै मेहनतले बाँच्न चाहन्थे। यसकै लागि काठमाडौँका धेरै ठाउँमा 'टेबल वर्क' (बसेर गरिने काम) खोजे, तर कतै अपाङ्गता-मैत्री वातावरण छैन त कतै पारिश्रमिकले जीवन धान्न नपुग्ने। 'जति ठाउँ गएँ, कहिँ पनि चित्तबुझ्दो नभएपछि अहिले त्यसै बस्न बाध्य छु,' उनी भन्छन्,'अहिले त सरकारकै भरमा छौँ हामी।'
उनका अनुसार उनी जस्ता बिरामीलाई सरकारले ३ महिनाको ४ हजार रूपैँया मात्र मिल्छ। तर यसले के सम्म गर्लान् उनले! कतिसम्म टार्लान्! उनी भन्छन्,'सरकारले दिएको पैसाले केहि पुग्दैन। आधारभूत आवश्यकता पूरा हुनेगरी त दिनुपर्ने नि हामीलाई!'
सरकारले दिने भत्ताले काठमाडौँको महँगीमा कोठा भाडा तिर्न, छोराछोरीको स्कूल शुल्क बुझाउन र दैनिक गुजारा चलाउन उनलाई अत्यन्तै कठिन भइरहेको छ। यसैले काम खोज्दाखोज्दै थाकेका उनी फेरी कामको खोजीमा छन्। 'सरकारले नै काम दिए हुने। तर खै, कसरी पाइन्छ?'
अहिले घरघरमा सरकार छ। घरको सरकारको काम नै स्थानीय क्षेत्रको रेखदेखको काम गर्ने हो। अनि त्यहाँ नागरिकका समस्याको सुनुवाई गर्ने हो। त्यसै अन्तर्गतको काम हो विष्णु जस्ता नागरिकको जीवनयापनमा सहयोग गर्ने। तर उनको अनुभवमा स्थानीय सरकारले केहि गरेको छैन। यतिसम्म कि आफ्नो ठाउँमा बस्ने अपाङ्गता भएका व्यक्तिको पहिचान पनि राम्रोसँग गर्न सक्दैन। यहि कारण उनी जस्ता कयौँ मानिस गाउँमा भविष्य नदेखेर सहर आउँछन् तर सहरमा पनि उनीहरूको विचल्ली हुन्छ, जस्तो अहिले विष्णुलाई छ।
यहाँ उनीजस्ता व्यक्तिहरूका लागि न त उचित रोजगारी छ, न त सरकारी सुविधाहरू सजिलै उपलब्ध छन्। स्वास्थ्य बीमा जस्ता सामान्य सुविधा लिन पनि काठमाडौं बस्ने उनीहरूलाई गाउँ जानुपर्ने झन्झट छ।
अहिलेको अवस्था विष्णुको परिवार पूर्णत सरकारमै निर्भर छ। सरकारले दिने भत्ताले नै जीवन चलेको छ। तर विष्णुले चाहेजस्तो 'टेबल वर्क' को राम्रो व्यवस्था सरकारले गर्न सके अझैं राहत हुन्थ्यो।
विष्णुको चाहना पनि यत्ति हो- सरकारले उनीजस्ता व्यक्तिहरूका लागि आत्मनिर्भर हुने बाटो बनाइदिओस्।


