Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

'कृषि क्रान्ति सम्भव छ'

'कृषि क्रान्ति सम्भव छ'

आइतबार, मंसिर २८ २०८२
आइतबार, मंसिर २८ २०८२
  • काठमाडौं। नेपालको कृषि क्षेत्रमा अझै पनि ‘बजारमुखी सोच’ मजबुत रूपमा स्थापित भइसकेको छैन भन्ने बहस लामो समयदेखी चलिराखेको विषय हो । यसलाई कतिपयले अवसरको कमीको रुपमा हेर्छन् तर परियोजना व्यवस्थापन विज्ञ कृष्ण थापाले भने यही कुरालाई सम्भावनाको रूपमा लिन्छन्।

    images

    सन् १९९९ बाट, विगत २५ वर्षदेखि  कृषि क्षेत्रका विभिन्न आयोजना र युएन कन्सल्टेन्सी हुँदै क्याम्बोडियासम्म काम गरिसकेका उनले कोभिडपछिको अवस्थामा स्पष्ट रूपमा महसुस गरेका कुरा कुराकानीमा  सुनाए। उनी भन्छन्,’अब हाम्रो गन्तव्य चाहिँ कृषि नै हो  । कृषि बिना हामी अगाडी बढ्न सक्दैनौ।’

    यही सोचले उनले कृषि पेसालाई नै व्यावसायिक बनाउन लागी परे । उनले जागिरकै सिलसिलामा आफ्नै एउटा कृषि कम्पनी दर्ता गरे - ‘किर्सोनी एग्री कम्पनी’।

    कम्पनीले अहिले विभिन्न क्षेत्रका पोल्ट्री फार्मदेखि भैँसी पालन कार्यक्रम अगाडि बढाइरहेको छ। करिब १२ बिगा क्षेत्रफलमा २०० भैँसी पालन गर्ने लक्ष्य राख्दै कृषि व्यवसायलाई ‘संरचित मोडेल’मा लैजाने उनको योजना छ। 

    ‘अब अन्तर्राष्ट्रिय बजार खुलेको छ, यो अवसर छोड्नु हुन्न’ थापा भन्छन्। नेपालबाट राँगोको मासु निर्यात हुन थालेको छ। सन् २०२४ डिसेम्बरमा चाइनिज कम्पनी ‘हिमालयन फुड इन्टरनेसनल’ सँग भएको सम्झौताले नेपालका कृषकका लागि नयाँ बजार मार्ग खुलेको उनी बताउँछन्।

    दूध र मासु दुवै मूल्य शृङ्खलामा काम गर्ने उद्देश्यले उनले स्थानीय किसानलाई जोड्ने अभियान थाले। बुढीगण्डकी कोरिडोरलाई लक्षित गर्दै धादिङ - गोर्खाका गाउँपालिकामा उनले प्रत्यक्ष भेटघाट गरी ४०० भन्दा बढी किसानलाई सम्भावनाहरूबारे जानकारी गराए। गाउँपालिकासँगको छलफलमा पनि सकारात्मक प्रतिक्रिया पाए। 

    थापाको अनुभवमा मुख्य चुनौती भनेको उत्पादनको भोल्युम (परिमाण) हो। नजिकैको गाउँले ५०० लिटर र अर्को गाउँले १००० लिटर उत्पादन गरे पनि जबसम्म ती ठाउँहरू र त्यहाँका किसानहरू एकापसमा सहकार्य गरेनन् भने निजी क्षेत्र दूध उठाउन सक्दैन। ‘एक ‘क्लस्टरमा पर्याप्त भोल्युम पुगेन भने गाडी पुग्दैन।’ उनी स्पष्ट पार्छन्।

    परम्परागत चलनचल्तीमा धादिङ / गोर्खाका किसानहरू घरकै लागि मात्र दूध उत्पादन गर्छन्, घिउ चाहिँ बचेको खण्डमा बेच्छन् । तर दूधको बजार छ, बेचेर आम्दानी हुन्छ भन्ने सोच उनीहरूलाई सिकाउन नसकिएको कुरा स्वीकार्छन। तर व्यापक जनचेतनाले यो कुरा किसानसम्म पुर्याउन सकिने उनी बताउँछन्। उनी भन्छन्,’धेरै कठिन छैन। किसान उत्साहित छन्। समस्या चाहिँ भोल्युम पूरै नपुग्नु र पुग्दा पनि कहिलेकाहिँ पेमेन्ट समयमै नआउनु हो।’

    सहकारीको ब्याज महँगो भएको आलोचनामा पनि उनी आफ्नो धारणा राख्छन् ‘यदि आम्दानी प्रशस्त हुन्छ भने ब्याज शुल्क नै हो, तिर्न सकिन्छ।’ उदाहरण दिँदै उनी साना किसान संस्थाले ७% ब्याजमा कृषकलाई ऋण दिइरहेको तथ्य उल्लेख गर्छन्।

    कृषि क्षेत्र बलियो बनाउनका लागि प्राविधिक जनशक्ति - विशेष गरी पशु चिकित्सक स्थानीय तहमा उपलब्ध हुनुले ‘कृषि क्रान्ति’ अभियान सजिलै अघि बढ्ने उनको विश्वास छ। ‘टेक्नोलोजी र ज्ञान दुवै समुदायमा पुर्‍याउन सके यो काम सहज हुन्छ’ उनी भन्छन्।

    कृष्ण थापाको लागि कृषि केवल पेसा नभई परिवर्तनको मोडेल हो। स्थानीय किसान, मूल्य शृङ्खला, सरकारी संरचना र निजी क्षेत्रलाई जोड्न सके कृषि क्रान्ति सम्भव छ भन्ने उनको आत्मविश्वास उनको बोलीमै झल्किन्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij